युनाइटेड रियल लेदरले छालाका जुत्ता र चप्पलको उत्पादन बजारमा ल्याएको छ। युनाइटेडले पुरुष र महिलाका लागि छालाका जुत्ता र चप्पलको उत्पादन बजारमा ल्याएको हो।
युनाइटेडले विराटनगर स्थित सेन्ट्रल मलमा पहिलो शोरुम स्थापना गरी शुक्रबारदेखि उत्पादनको बिक्री थालेको छ। बिक्री कक्षको उद्घाटन युनाइटेड रियल लेदरका सञ्चालक परवेज अख्तरले गरे। स्वदेशी कच्चा पदार्थबाट नेपालमा उत्पादन गरीएका जुत्ता चप्पलहरू टिकाउ, बलियो र गुणस्तरीय रहेको अख्तरले बताए। उनले आफ्ना उत्पादनहरू पूर्णतया छालाको भएको र कुनै मिसावट नभएको दाबी गरे। उनले भने‘स्वदेशी छालाबाट स्वदेशमै उत्पादन गरिएको जुत्ताचप्पल गुणस्तरीय र टिकाउ छन्।’
युनाइटेड रियल लेदरले सन् १९८४ देखि कच्चा छाला प्रशोधन गरी विदेश निर्यात गर्दै आएको थियो। युनाइटेडले चिन, युरोप, इटाली, फ्रान्सलगायतका देशमा प्रशोधित छाला निर्यात गर्दथ्यो। विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण छाला निर्यात हुने देशहरूले धमाधम अर्डर रद्ध गर्न थालेपछि छाला प्रयोगको विकल्पका रुपमा स्वदेशमै तयारी बस्तु उत्पादन गर्ने सोच बनेको युनाइटेड रियाल लेदरका सञ्चालन अख्तरले बताए। युनाइटेड रियल लेदरले सुनसरीको दुहवीमा छाला जुत्ता उद्योग स्थापना गरेको छ।
१० करोड रुपैयाँ लागतमा स्थापना भएको उद्योगले बार्षिक १ लाख जोर जुत्ता उत्पादन गर्ने लक्ष्य राखेको छ। उद्योगले पर्स, व्याग, ज्याकेटलगायतका उत्पादनहरू पनि चाँडै बजारमा ल्याउने जनाएको छ। युनाइटेड रियल लेदरले चाँडै काठमाडौंको पुतली सडकमा दोस्रो शोरुम सञ्चालनमा ल्याउने जनाएको छ।
प्रकाशित: २३ आश्विन २०७७ १२:५२ शुक्रबार