अर्थ

हाइब्रिडकैका कारण स्थानीय जातका धान संकटमा

हाइब्रिड धान छिटो र बढी फल्छ। हाइब्रिड बीउसँगै रोगहरु भित्रिएका छन्। बजारमा रसायनिक मलको अभाव छ। मलकै अभावमा किसान प्रताडित छन्। किसानले छिटो र बढी फल्ने आशामा हाईब्रिड तर्फ आकर्षित भएका छन्। पोखरामा २०–२५ प्रतिशत क्षेत्र हाईब्रिड धानले ओगटेको छ। तर मलकै अभावले धान उत्पादन घट्ने चिन्ता छ। हाईब्रिड धानको प्रयोग बढ्दै जादाँ रैथाने जातका धान भने लोप भईसकेका छन्। केही लोपकै संघारमा छन्। केहीलाई भने स्थानीय किसानलाई अझै जोगाईराखेका छन्।  

हाइब्रिडलाई अनिवार्य रुपमा रसायनिक मल (युरिया) छर्नुपर्छ। किसानको ध्यान हाईब्रिड तर्फ केन्द्रीत हुदाँ कृषि विज्ञ भने स्थानीय जातकै धानलाई संरक्षण र प्रवद्र्धन गर्ने तर्फ उन्मुख छन्। कृषि विज्ञ मनोहर कडरियाले हाइब्रिड धानको प्रयोग भन्दा पनि स्थानीय जातको धानलाई संरक्षण गर्नुपर्नेमा जोड दिदैं आएका छन्। ‘गतवर्ष भन्दा यो वर्ष लकडाउनकै कारण हाइब्रिड धान बाहिरबाट आएन। त्यसैले धेरै किसानले पुरानै स्थानीय जातकै धान लगाएका छन्।’ पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख कडरियाले भने–‘पुराना जातका धानको बीउविजन सूचीकृत गरेर प्रवद्र्धनको अभियानमा छौं।’ उनका अनुसार हाईब्रिड धानले परनिर्भरता बढाएको गुनासो समेत गरे। हाईब्रिडमा युएसजी १२ लगायत अन्य जातका धान भित्रिएको छ। रैथाने जातका धानलाई प्राङ्गारिक मल नै सुहाउने कृषि विज्ञ बताउँछन्। गतवर्ष ९ अर्ब रसायनिक मलको लागि अनुदान थियो। यो वर्ष ११ अर्ब छ। रसायनिक मलमा बढाइएको अनुदानले किसानपनि हाइब्रिड मै केन्द्रीत भएको उनको भनाई थियो।  

‘हाईब्रिड प्रतिहेक्टर ५ टनसम्म फल्छ’ उनले भने–‘स्थानीय जातको धान भने ३ टन प्रतिहेक्टर उत्पादन हुन्छ।’ स्थानीय जातका धान केही सुख्खा ठाँउमा समेत उत्पादन हुने कृषि विज्ञ बताउँछन्। नेपालमा विक्रम सम्वत २०१६ सालमा रसायनिक मल भित्रिन शुरु भएको हो। त्यसयता लगातार वर्षेनी ठूलो मात्रामा मल भित्रिदैं आएको छ। पोखरामा ११ हजार २०० सय हेक्टर क्षेत्रफलमा धान उत्पादन हुदै आएको छ। ३३ हजार टन धान उत्पादन हुने तथ्यांक महानगरपालिकासँग छ। हाइब्रिडकै कारण स्थानीय तौली, गुर्दी, अन्तरा लगायतका धान हराईसकेका छन्। पोखराको फाँटहरुमा पहेंले, अनदी, जेठबुढो, खोल्टोखोला, रमनी जस्ता धान उत्पादन हुदै आएको छ। ‘स्थानीय जातको धानको प्रवद्र्धन र संरक्षण गर्न गतवर्षदेखि किसानलाई अनुदान दिन थालिएको छ’ उनले भने–‘गतवर्ष अनुदान स्वरुप साढे ५ लाख रुपैयाँ किसानलाई अनुदान दियौं।’ उनका अनुसार विभिन्न समूह तथा सहकारी मार्फत स्थानीय जात विशेष गरी जेठोबुढो धान उत्पादन गर्ने किसानलाई प्रोत्साहन रुवरुप अनुदान दिइएको हो।  

उनले स्थानीय जातको धान प्रवद्र्धन गर्न ८–१० टन बीउ अनुदान उपलब्ध गराइएको छ। महानगरले नै पहेंले, अनदी लगायतका धान संरक्षण र सम्वद्र्धन गर्न लबिङ समेत गरेको छ। किसानलाई पछिल्लो समय स्थानीय जातमै केन्द्रीत गराउने ध्येय कृषि विज्ञको छ। स्थानीय जातको धानको मूल्य समेत बढ्दै गएको छ। गुणस्तरीय छ। खोजी खोजी लगाउन थालेका छन्। ‘पोखरामा ४० प्रतिशत जेठोबृढो धान लगाइएको छ ’ उनले भने–‘उन्नत, हाईब्रिड र लोकलले भने ६० प्रतिशत ओगेटेका छन्।’ रैथाने जात अन्र्तगत जेठोबुढो विशेष गरी पामे, भण्डारढीक, विरुवाफाँटमा लगाइने गरिएको छ।

 

प्रकाशित: २३ भाद्र २०७७ ०८:०१ मंगलबार

धान