अर्थ

नेपालमै बन्यो अर्को मोटरसाइकल


विष्णु पोखरेल, काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ।

मोडल : एभरेस्ट स्टार
क्षमता : १५० सिसी
मूल्य : १ लाख ५५ हजार रुपैयाँ
विशेषता : होन्डा युनिकर्न बाइकको सिबिएफ-१५० इन्जिन प्रयोग

 नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए।

पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।'

कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु गरेको छ।

होन्डाको युनिकर्न बाइकमा प्रयोग भएको सिबिएफ-१५० मोडलको इन्जिन यसमा प्रयोग भएको छ। यो वान सिलिन्डर, फोस्ट्रोक एयर कुल्ड इन्जिन हो।

कम्पनीले सेल्फ स्टार्टर एवं किक स्टार्टर दुवै भएका गरी दुईखाले मोडल बजारमा ल्याएको छ। यो बाइकले सहरी क्षेत्रमा ५५ किलोमिटर र राजमार्गमा ६२ किलोमिटर माइलेज दिने तुलाधरले बताए। यसको ग्राउन्ड क्लियरेन्स १ सय ४० मिलिमिटर छ। यो बाइक अधिकतम ९० किलोमिटर प्रति घन्टाको गतिमा कुदाउन सकिन्छ।

नेपाली बजारमा उपलब्ध आयातित मोटरसाइकलभन्दा सस्तो भएकाले यसले बजार लिने कम्पनीको दाबी छ। सेल्फ स्टार्टरमात्र भएको यो बाइकको भाउ १ लाख ४५ हजार तथा सेल्फ र किक दुवै भएको बाइकको १ लाख ५५ हजार तोकिएको छ।

कम्पनीले अहिले दमक, मधुमल्ला, विराटनगर, चितवन, परासी, गैंडाकोट, बुटवललगायत ठाउँमा डिलर नियुक्त गरेर बाइक बिक्री सुरु गरेको छ। दसैंपछि राजधानीको ज्ञानेश्वरमा आफ्नै सोरुम सुरु गर्दैछ। राजधानीभित्र कम्पनीले आफ्नै दुईवटा सोरुम चलाउने उनले बताए।

करिब ३० करोड लगानी गरेर एसेम्बल सुरु गरेको कम्पनीले मोटरसाइकलसँगै तिनपांग्रे सवारी पनि उत्पादन गरिरहेको छ। यस्ता ९५ वटा सवारी उत्पादन गरिसकेको तुलाधरले जानकारी दिए। 'हामीले तीनपांग्रेका यात्रुबाहक र मालबाहक गरी दुई मोडल बजारमा ल्याएका छौँ,' उनले भने, 'यी बहुउपयोगी खालका छन्।'

२ सय सिसी इन्जिन क्षमताको मोटरसाइकल जोडेर बनाइएको यात्रुबाहक तीनपांग्रे सवारीमा ड्राइभरसहित ९ जना बस्न मिल्छ। राजधानी बाहिरका सहरी क्षेत्रमा यी सवारी सार्वजनिक यातायातकोरुपमा सञ्चालनमा आइसकेका छन्। कम्पनीले यी सवारीको ब्रान्डनेम भने 'इभरस्टार बुल' राखेको छ। मालबाहक तीनपांग्रेको भाउ ३ लाख २५ हजार र यात्रुबाहकको भाउ ३ लाख ८१ हजार रुपैयाँ तोकिएको छ।

साढे १२ लिटर इन्धन अट्ने यी सवारीले २५ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ। सेल्फ र किक दुवै स्टार्टरयुक्त यी सवारीलाई सरकारले राजधानीमा भने दर्ता गर्न नदिएको सञ्चालकको गुनासो छ।

कम्पनीले मोटरसाइकल र तीनपांग्रे दुवै सवारी खरिद गर्न चाहनेलाई १५ प्रतिशत ब्याजदरमा किस्ताबन्दीको सुविधा मिलाएको छ। यसका लागि ग्राहकले ५० प्रतिशत अग्रिम भुक्तानी गर्नुपर्छ। कम्पनी अहिले उत्पादन भइरहेको मोटरसाइकलको मोडल युवा पुस्ताले नरुचाएकाले चाँडै ट्रेल र स्पोर्टस् बाइक बजारमा ल्याउने तरखरमा छ।

'युवापुस्तालाई लक्ष्य गरेर हामीले दुईवटा मोटरसाइकल र एउटा स्कुटरको मोडेल बजारमा ल्याउँदैछौँ,' तुलाधरले भने, 'तीन महिनाभित्र यी बाइक बजारमा आउनेछन्।' कम्पनीले ट्रेल बाइकको क्षमता २ सय सिसी र स्पोर्टस्को १ सय ५० सिसी हुने जनाएको छ। स्कुटरको भने १ सय १० सिसी क्षमता हुनेछ।

कम आय हुनेले आफ्ना उत्पादन मन पराएको तुलाधरले जानकारी दिए। 'थोरै लगानीमा धेरै प्रतिफल दिने उत्पादन भएकाले ग्राहकले विश्वास गर्नेछन्,' उनले भने, 'यत्तिका तीनपांग्रेलाई आयात गर्दा पनि ५ लाखभन्दा कममा बेच्न सकिँदैन।' उनले मोटरसाइकलका नयाँ मोडल आएपछि सहरी युवापुस्ताको रोजाइमा पर्ने दाबी गरे।

प्रकाशित: २२ आश्विन २०६९ २३:३७ सोमबार