अर्थ

पाँच किलोमिटर ट्रयाक खोल्न तीन करोड २५ लाख

बडिगाडको फोर्सामा पहिलो पटक पुग्यो मोटर

जिल्लाको बडिगाड गाउँपालिका-८ रनसिंह किटेनीको फोर्सामा पहिलो पटक सडक पुगेको छ। चट्टानी भूगोल छिचोलेर फोर्सा सडक पुर्‍याउन झन्डै चार वर्ष लागेको हो। रनसिंह किटेनीको पुरानो गाउँसम्म पहिले नै सडक सञ्जाल पुगे पनि त्यहाँबाट पाँच किलोमिटर अगाडिको फोर्सामा सडक पुग्न सकेको थिएन। गण्डकी प्रदेश सरकारको एक करोड ५० लाख र बडिगाड गाउँपालिकाको एक करोड ७५ लाखमा उक्त सडकको ट्र्याक खोल्ने काम सकिएको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताइन्।

‘निकै जटिल भूगोल भएका कारण हामीलाई यति सडक जोड्नका लागि झन्डै चार वर्ष लाग्यो, करिब पाँच किलोमिटर सडक जोड्नका लागि सवा तीन करोड बजेट खर्च भएको छ’, अध्यक्ष थापाले भनिन्। यस पटक जसरी पनि सडक फोर्सामा जोड्नुपर्छ भनेर कार्यपालिकाले निर्णय गरेर गाउँपालिको निरन्तर आफ्नै डोजर प्रयोग गरेर सडक खनेको उनले बताइन्।

‘बडिगाडको धेरै ठाउँका मुख्य बस्तीहरूमा सडकको ट्र्याक पुगेको छ, फोर्सामा अहिलेसम्म पनि पुग्ने सकेको थिएन’, उनी भन्छिन्, ‘यस पटक जसरी पनि पुर्‍याउनुपर्छ भनेर कार्यपालिका बैठकबाट निर्णय गरेर गाउँपालिकाले आफ्नै डोजर निरन्तर प्रयोग गरेर सडक खनेको छ। चट्टान नै चट्टान भएकाले पूरै ब्रेकर हानेर खनिएको हो।’ आगामी आर्थिक वर्षमा यो सडकमा करिब एक करोडका काम हुने समेत थापाले बताइन्।

पाँच किलोमिटर सडकमा कतै पनि बकेट प्रयोग गरेर खन्न मिल्ने नभएका कारण ठुलो लगानी लागेको गाउँपालिका उपाध्यक्ष भीमसेन वन बताउँछन्। ‘सडक जम्मा पाँच किलोमिटर हो तर डोजरको बकेट कतै प्रयोग भएको छैन सबैतिर ब्रेकरले चट्टान फुटाउँदा समय र लगानी दुबै धेरै भएको छ’, उपाध्यक्ष वनले बताए। गाउँपालिकाले डोजरको अपरेटर भत्ता, डोजरमा प्रयोग भएको तेल र मर्मतका लागि लागेको खर्च मात्रै हिसाब गरेको उनले बताए।

‘हामीले बजेट विनियोजन गरेर काम गरेको भन्दा पनि जति खर्च लाग्छ व्यहोर्ने भनेर काम गरेका थियौं’, उनी भन्छन्, ‘डोजर अपरेटर खर्च, तेल खर्च र बिग्रँदा गरेको मर्मतको खर्च मात्रै हिसाब गरेका छौं। डोजर प्रयोग नै गरेको खर्च जोड्ने हो भने थप एक करोड लागत थपिन्छ। हाम्रो डोजर झन्डै ६ महिना चलेको छ।’ पुरानोगाउँ–फोर्सा–भेडिखोर–खोलाखर्क हुँदै गलकोट पाण्डवखानीको रमुवासम्म सडक जोडिएपछि अब यो सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक मागसमेत हुनेछ।

उक्त सडक गलकोट मल्म–पाण्डवाखनी हुँदै रमुवा–खोलाखर्क–भेडिखोर–फोर्सा–पुरानोगाउँ–टुनीबोट हुँदै भिमगिठ जोडिन्छ। लामो संघर्षपछि ट्र्याक मात्रै खुल्न सफल भएको फोर्साका स्थानीय समाजसेवी मेखबहादुर पाइजा बताउँछन्। ‘भौगोलिक रूपमा कठिन भएका कारण यहाँसम्म बाटो ल्याउन निकै समस्या भयो’, उनले भने, ‘प्रदेशबाट बजेट छुट्टियो, गाउँपालिकाले पनि बजेट राख्यो तर जति प्रयास गर्दा पनि बाटो जोड्न सकिएको थिएन। यसपालि गाउँपालिकाले आफ्नै डोजर प्रयोग गरेर ट्र्याक पूरा नगरेसम्म काम गर्ने निर्णय गरेकाले सम्पन्न भएका हो। ठेक्का प्रक्रियातिर लागेको भए अझ कति समय लाग्थ्यो थाहा छैन।’

यो सञ्जाल जोडिएपछि झन्डै तीन सय घरधुरी लाभान्वित हुने उनको भनाइ छ। ‘पुरानो गाउँदेखि फोर्सा भेडिखर्कसम्म झन्डै तीन सय घरपरिवार सडकमार्गको पहुँचमा पुगेका छन्’, उनले भने, ‘अहिले ट्र्याक मात्रै खुलेको छ। यसको निरन्तर मर्मत र स्तरोन्नति गर्नुपर्छ। ठाउँ ठाउँमा पुलको आवश्यकता छ। स्थानीय र प्रदेश सरकारले अब त्यसतर्फ ध्यान दिनुपर्छ।’ बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बुधबार सडकको उद्घाटन गरेकी थिइन्।

सडक पुगेपछि खुसी भएका स्थानीयले डोजरका अपरेटरलाई पैसाको माला लगाइ दिएका थिए। ‘निकै ठूलो संघर्षपछि सडक बन्यो, यो बिचमा कति जना अपरेटरहरू आउने जाने भयो। कति जना त काम गर्न नसकेर फर्किनुभयो। अपरेटरहरूको कामबाट खुसी भएर यहाँका नागरिकले पैसाको माला लगाइदिएका हुन्’, पाइजाले भने।  

प्रकाशित: २९ असार २०८३ १०:२८ सोमबार