अर्थ

सीआईपी सम्मानबाट ३० उद्योगी, व्यवसायी सम्मानित

मुलुकको अर्थतन्त्रमा योगदान पुर्‍याउने ३० जना उद्योगी, व्यवसायीलाई सरकारले सम्मान गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक कार्यक्रमको आयोजना गरी महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) बाट सम्मान गरेको हो।

निजी क्षेत्रका तीन छाता संस्था सहितका व्यवसायी सीआईपी सम्मानबाट सम्मानित भएका हुन्। निजी क्षेत्रमा सीआईपी सम्मानलाई महत्वपूर्ण रुपमा लिइन्छ।

सीआईपी सम्मानबाट सम्मानति हुनेमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई समूहका अध्यक्ष चन्द्र ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल र नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डले रहेका छन्।

उद्योग मन्त्री दामोदर भण्डारीले व्यवसायीलाई सीआईपी अवार्ड प्रदान गरेका थिए। सिआईपी सम्मान प्राप्त गर्ने उद्योगी व्यवसायीलाई त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा रहेको भीआईपी लाउञ्च र नेपालका अन्य विमानस्थलमा रहेको विशिष्ट व्यक्तिहरुका लागि व्यवस्था गरिएको भीइआपी लाउञ्ज प्रयोगको सुविधा सरकारले दिने भएको छ।

सरकारी तथा निजी क्षेत्रले आयोजना गर्ने उद्योग तथा वाणिज्य क्षेत्रका समारोह तथा कार्यक्रमहरुमा प्राथमिकताका साथ आमन्त्रण तथा आसनको विशेष व्यवस्था मिलाउने, विदेशमा आयोजना हुने व्यापारिक तथा औद्योगिक मेला तथा प्रदर्शनीको सहभागीतामा प्रतिनिधित्व गर्न प्राथमिकता दिने, सार्क क्षेत्रको भ्रमणका लागि सार्क भिसा उपलब्ध गराउन सिफारिस गर्ने सुविधा सरकारले दिने भएको छ।

त्यसैगरी, नेपाल हस्तकला महासंघ अध्यक्ष रविन्द्र शाक्य, निर्यात व्यवसायी महासंघ अध्यक्ष गोविन्द प्रसाद घिमिरे, नेपाल छुर्पी व्यवसायी संघ झापाका अध्यक्ष रेशम बहादुर पोखरेल सम्मानित भएका छन्।

त्यसैगरी, नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघका अध्यक्ष बलराम गुरुङ, नेपाल तयारी पोशाक उद्योग संघका पशुपती देव पाण्डे, नेपाल उनी फेल्ट उत्पादक तथा निर्यात संघका अध्यक्ष नरेशलाल श्रेष्ठ सम्मानित भए।

भारततर्फ सबैभन्दा बढी निर्यात गर्ने व्यवसायीको तर्फबाट रिलायन्स स्पिनिङ मिल्स, डाबर नेपाल र आरती स्ट्रीप्स, चीनतर्फ सबैभन्दा धेरै निर्यात गर्नेको आधारमा छोमेन ट्रेडर्स, फिन्जो सोनाम इन्टरप्राइजेज र अष्ठमंगल कम्पनी सम्मानित भएका छन्।

त्यसैगरी, तेस्रो मुलुकतर्फ सबैभन्दा बढी वस्तु निर्यात गर्नेमा गलैँचातर्फ श्री थर्ड आई इन्टरनेसनल, तयारी पोशाकतर्फ श्री नेपाल फेसन प्रालि, ऊनी फेल्टका सामानहरूतर्फ नेसनल एक्सपोर्टस् प्रालि, छुर्पीतर्फः मनराम हिमालयन ह्याण्डीक्राफ्ट प्रालि र पश्मिना वस्तुतर्फ श्री ट्राइकोट इन्डष्ट्रिज प्रालि सम्मानित भएका छन्।

सिआईपी सम्मानबाट हस्तकलाका वस्तुहरूको निर्यातबाट सबैभन्दा धेरै रकम ल्याउने गिफ्टल्याण्ड इन्टरप्राइजेज प्रालि, पर्यटन क्षेत्रमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने होटल उद्योगी र व्यवसायीतर्फबाट एभरेष्ट हस्पिटालिटी होटल लिमिटेड सम्मानित भएका छन्।

आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा तेस्रो मुलुकतर्फ एक अर्ब वा सोभन्दा बढी निकासी गर्ने उद्योग, संस्था, फर्म वा कम्पनीहरू तर्फबाट द सांग्रिला कार्पेट एण्ड ह्याण्डीक्राफ्ट इण्डस्ट्रिज प्रालि, एभरेष्ट फेसन ललितपुर, त्रिवेणी स्पिनिङ मिल्स, काठमाडौं सम्मानित भए।

त्यसैगरी, निर्यात सम्भाव्य वस्तुमध्ये कृषिजन्य वस्तु र जडीबुटी क्षेत्रका वस्तुहरूको सबैभन्दा बढी रकमको निर्यात गर्ने निर्यातकर्ताहरूमध्ये नेपाल एभरेष्ट कार्डामम प्रडक्सन र एबी हर्बल ट्रेडर्स एण्ड सप्लायर्सलाई सम्मान प्रदान गरिएको छ।

त्यसैगरी, बैंकिङ प्रणालीमार्फत विप्रेषणको कारोबार गरी सबैभन्दा बढी वैदेशिक मुद्रा ल्याउने विप्रेषण कम्पनी तथा व्यवसायीको तर्फबाट आईएमई लिमिटेड सम्मानित भएको छ।

त्यसैगरी, दुई करोड वा सोभन्दा बढी निर्यात गर्ने स्टार्टअपको तर्फबाट माइन्डफुल क्राफ्ट प्रालिलाई सम्मान प्रदान गरिएको छ।

प्रकाशित: ३२ असार २०८२ २२:०१ बुधबार