नेपाल टेलिकमले हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी मोबाइल सेवा विस्तार गरेको छ। कम्पनीले ती क्षेत्रमा व्यावसायिक रूपमा सेवा सञ्चालनमा ल्याएको जनाएको छ।
टेलिकमका अनुसार हुम्लाको नाम्खा गाउँपालिका–स्थित केर्मी, नुवाकोटका जिम्नाङ र बाहुनबेसी, रसुवाको टिमुरे तथा बाराका भगवानपुर र मधुरीजाब्दी क्षेत्रमा उच्च गतिको इन्टरनेट र दूरसञ्चार सेवा उपलब्ध गराइएको हो।
हुम्लाको केर्मी टावर सञ्चालनमा आएपछि नाम्खा गाउँपालिका–२ र ४ का केर्मी, च्यादुक र चालागाउँका बासिन्दासहित सिमकोट–हिल्सा सडक खण्ड, तातोपानी खोला पर्यटकीय क्षेत्र, स्थानीय स्वास्थ्य संस्था, सरकारी कार्यालय, विद्यालय र गुम्बाले प्रत्यक्ष लाभ पाउने नेपाल टेलिकमले जनाएको छ।
बाराको मधुरीजाब्दी टावरबाट इटहर, औलिया, बेलाही, सिर्सिया र कलैयामाई आसपासका बस्ती तथा चार विद्यालय क्षेत्र लाभान्वित भएका छन्। भगवानपुर टावरबाट भने पटेर्वा, हरिहरपुर, हर्नैयाचोक, सिम्रौनगढ क्षेत्रका बस्ती र पाँच विद्यालय क्षेत्रलाई सेवा पुगेको छ।
यसैगरी रसुवाको टिमुरे टावरले उत्तरी सीमानाका आसपासका बस्तीलाई सेवा प्रदान गर्नेछ भने नुवाकोटको जिम्नाङ टावरबाट दुप्चेश्वर गाउँपालिका–३ र ४ तथा बाहुनबेसी टावरबाट तादी, लिखु र चौघडा क्षेत्रका बासिन्दाले टुजी र फोरजी सेवा उपयोग गर्न सक्नेछन्।
नेपाल टेलिकमका अनुसार सेवा विस्तारसँगै स्थानीय बासिन्दाले उच्च गतिको डेटा र गुणस्तरीय भ्वाइस सेवाको सुविधा पाउनेछन्। यसले शिक्षा, स्वास्थ्य, व्यापार, प्रशासनिक सेवा, डिजिटल बैंकिङ, पर्यटन प्रवर्द्धन तथा सीमावर्ती क्षेत्रको आर्थिक गतिविधिमा सकारात्मक योगदान पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।
प्रकाशित: ५ श्रावण २०८३ १७:४८ मंगलबार