अर्थ

उपल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटकबाट २९ करोड बढी राजस्व संकलन

फाइल तस्बिर

आर्थिक वर्ष २०८१/८२ मा उपल्लो मुस्ताङ भ्रमण गरेका विदेशी पर्यटकबाट नेपाल सरकारले २९ करोड ११ लाख ११ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

त्यहाँ चार हजार दुई सय १९ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेर नेपाल सरकारको अध्यागमन विभागले उक्त राजस्व संकलन गर्न सफल भएको हो।

सरकारले उपल्लो मुस्ताङलाई निषेधित तथा नियन्त्रित क्षेत्रको सूचीमा राखेकाले उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकले उच्चस्तरको पर्यटकका रूपमा प्रवेश अनुमति लिनुपर्ने प्रावधान छ। त्यहाँ जाने विदेशी पर्यटकलाई अध्यागमन विभागले १० दिनको प्रवेश अनुमतिपत्रका लागि पाँच सय डलर शुल्क लिने गरेको छ। त्यहाँ अनुमति बिना जाने विदेशी पर्यटकलाई अवैध रूपमा प्रवेश गरेको मानिन्छ।

सरकारलाई तोकिएको शुल्क बुझाएर अनुमति लिएर जाने विदेशी पर्यटकले १० दिन कटेपछि थप दैनिक ५० डलर अतिरिक्त शुल्क तिर्नुपर्छ। सरकारले गत वर्ष त्यहाँ पुगेका विदेशी पर्यटकबाट २१ लाख नौ हजार पाँच सय अमेरिकी डलर राजस्व संकलन गरेको हो।

यहाँको वारागुङ मुक्तिक्षेत्र-४ कागबेनीदेखि माथिको क्षेत्रलाई सरकारले निषेधित तथा नियन्त्रित क्षेत्र घोषणा गरेकोले उपल्लो मुस्ताङमा निकै कम विदेशी पर्यटक पुग्ने गरेको पाइएको छ। आर्थिक वर्ष २०८१/८२ को बाह्र महिनामा ७३ राष्ट्रका कुल चार हजार दुई सय १९ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेको एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले जानकारी दिए। उपल्लो मुस्ताङमा उक्त संख्यामा विदेशी पर्यटक भित्रिँदा चार सय ३६ जना फ्रान्सेली पर्यटकले भ्रमण गरेका थिए। यो संख्या कुल विदेशी पर्यटकको १०.३३ प्रतिशत हो। यस्तै, सोही वर्ष सबैभन्दा कम १२ राष्ट्रका एक-एक जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेको एक्याप लोमान्थाङ प्रमुख पौडेलले बताए।

एक्याप लोमान्थाङको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/०८१ मा ७१ राष्ट्रका तीन हजार ४४३ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका थिए। त्यसबेला उपल्लो मुस्ताङ भित्रिने कुल विदेशी पर्यटक संख्यामध्ये ३९९ जना फ्रान्सेली पर्यटक थिए। यो संख्या कुल पर्यटकको ११.५८ प्रतिशत हो। यस्तै, सोही वर्ष सबैभन्दा कम ७ राष्ट्रका एक-एक जना विदेशीले उपल्लो मुस्ताङको भ्रमण गरेको एक्याप लोमान्थाङको तथ्यांकमा उल्लेख छ।

चालु आर्थिक वर्षको साउनदेखि ११ गतेसम्म १५ राष्ट्रका ६६ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका छन्। जसमा सबैभन्दा धेरै बेल्जियमका १३ जना र सबैभन्दा कम लक्जेम्बरका एक जना विदेशी पर्यटक छन्। आर्थिक वर्ष २०८१/८२ को साउनदेखि असारसम्म कुल एक लाख ५० हजार चार सय ५६ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए। यहाँ भित्रिएका विदेशी पर्यटक संख्याको तुलनामा २.८० प्रतिशत मात्र विदेशी पर्यटक उपल्लो मुस्ताङ भित्रिएको तथ्यांकले देखाउँछ।

आर्थिक वर्ष २०८०/८१ को तुलनामा आर्थिक वर्ष २०८१/८२ मा १८.३९ प्रतिशत विदेशी पर्यटक वृद्धि भएको कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए। त्यहाँ निषेधित क्षेत्र कायम रहँदा उपल्लो मुस्ताङको पर्यटन व्यवसाय धरासायी भएको भन्दै उपल्लो मुस्ताङका जनप्रतिनिधि र पर्यटन व्यवसायीहरू असन्तुष्ट छन्। त्यहाँ कायम गरिएको निषेधित क्षेत्र खुला गर्न माग राख्दै पटक-पटक सरकारको ध्यानाकर्षण गरिएको छ। रासस

प्रकाशित: १२ श्रावण २०८२ १६:४५ सोमबार