अर्थ

असोज ३ गतेदेखि काठमाडौंमा २८ वटा रात्रिकालीन बस चल्ने

संविधान दिवस २०८३ को अवसर पारेर आगामी असोज ३ गतेदेखि काठमाडौं उपत्यकामा २८ वटा रात्रिकालीन बस सञ्चालन हुने भएका छन्।

काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा उपत्यकाका विभिन्न नगरपालिकाका प्रमुख, उपप्रमुख, साझा यातायात र सरोकारवाला अधिकारीहरूबीच बुधबार भएको बैठकले सेवालाई ६ वटा विस्तारित रुटमा सञ्चालन गर्ने निर्णय गरेको हो।

विस्तारित योजनाअनुसार उपत्यकाको उत्तर-दक्षिण र पूर्व-पश्चिम भागलाई जोड्ने गरी गोदावरीदेखि बुढानीलकण्ठसम्म ६ वटा तथा भक्तपुरको जगातीदेखि रत्नपार्क हुँदै ठमेलसम्म ६ वटा बस सञ्चालन गरिनेछ।

यसैगरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि चन्द्रागिरीको नागढुङ्गासम्म ४ वटा, कीर्तिपुरदेखि नयाँ सडकस्थित नेपाल वायुसेवा निगमको कार्यालयसम्म ४ वटा र चक्रपथमा दुईतर्फी फन्को लगाउन ८ वटा बस परिचालन हुनेछन्।

चक्रपथमा नियमित यातायात सेवा उपलब्ध भएपछि यात्रुले एक ठाउँमा बस परिवर्तन गरी सेवा सञ्चालन भएका उपत्यकाका जुनसुकै गन्तव्यमा सहजै पुग्न सक्ने प्रबन्ध मिलाइएको छ। यसरी रात्रिकालीन यात्रा गर्दा यात्रुले तिर्नुपर्ने अधिकतम भाडादर ८० रुपैयाँ तोकिएको छ।

काठमाडौं र ललितपुर महानगरपालिका तथा चन्द्रागिरी र बुढानीलकण्ठ नगरपालिकाले साझा यातायातसँगको सहकार्यमा गत वैशाख १ गतेदेखि नै परीक्षणका रूपमा रात्रिकालीन बस चलाउँदै आएका थिए।

तीन महिनाको परीक्षणपछि विज्ञ कार्यदलले दिएको वित्तीय र व्यवस्थापकीय सुझावका आधारमा स्थानीय तहहरूको संयुक्त वित्तीय साझेदारीमा यो सेवालाई दिगो र सुरक्षित बनाएर निरन्तरता दिने निर्णय गरिएको हो।

बैठकमा कार्यवाहक प्रमुख डंगोलले नागरिकलाई सुलभ सेवा दिन तत्काल भाडा बढाउन नहुने अडान राखेकी थिइन्। उनले सेवा सञ्चालनका क्रममा आउने वित्तीय घाटा वा नपुग रकम सम्बन्धित नगरपालिकाहरूले आफ्नो जनघनत्व, भूगोलको आकार र वित्तीय क्षमताका आधारमा साझेदारी गरेर बेहोर्नुपर्ने प्रस्ताव गर्नुभएको थियो। जसलाई बैठकले सर्वसम्मत रूपमा पारित गरेको छ।

छलफलका क्रममा चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगरपालिकाहरूको सहभागिता बढ्दा लागतको भार कम हुने र यात्रुलाई भरपर्दो सुविधा पुग्ने बताए।

यस्तै, बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले सेवाको दिगोपनाका लागि मासिक रूपमा लाभ-लागतको समीक्षा गर्दै जानुपर्ने धारणा राखे भने गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले ललितपुरको चापागाउँ, लामाटार र लुभुसम्म पनि सेवा विस्तारको सम्भावना खोजिनुपर्ने बताए।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले बेलुका ८ बजेपछि भक्तपुर जाने सार्वजनिक सवारी नपाएर नागरिक महँगो भाडा तिर्न बाध्य भइरहेको अवस्थामा यो निर्णयले ठूलो राहत दिने विश्वास व्यक्त गरे। यसले काठमाडौं र ललितपुरसँग भक्तपुरको अन्तरसम्बन्धलाई थप मजबुत बनाउने उनको भनाइ थियो।

बैठकमा कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोल, चन्द्रागिरीका उपप्रमुख बसन्ती श्रेष्ठ, काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठ, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिलजंग शाह र साझा यातायातका अध्यक्ष सुशीलराज प्याकुरेललगायत सहभागी थिए।

बैठकले रात्रिकालीन बस सेवाको रुट परमिट प्रक्रिया सहज बनाउन विद्यमान यातायातसम्बन्धी कानुनमा समयसापेक्ष संशोधन गर्न नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ।

यसका साथै, उपत्यकामा रात्रिकालीन सहरी जीवनशैलीलाई सक्रिय बनाउन सार्वजनिक स्थलहरूमा जात्रा, पर्व र मेला आयोजना गर्ने तथा गन्तव्य स्थलहरूमा चार्जिङ स्टेसन र रात्रि बसपार्क निर्माणमा स्थानीय तहहरूले सहजीकरण गर्ने सहमति भएको छ।

प्रकाशित: २४ भाद्र २०८३ २२:०९ बुधबार