मानव स्वास्थ्य र वातावरणलाई प्रतिकुल असर पुग्ने ठूलो परिमाणमा मागुर माछा ‘क्याट फिस’ सुनसरी प्रहरीले बरामद गरि सोमबार नष्ट गरेको छ। भारतमा उत्पादित र नेपालमा प्रतिबन्धित ‘क्याट फिस’ विराटनगरको नाका हुँदै सुनसरी इनरुवा वडा नं. ४ बसपार्कबाट प्रहरीले नियन्त्रणमा लिई नष्ट गरेको हो।
भारत पश्चिम वंगाल राज्य उत्तर चौविस परागाना जिल्लाको स्वरुप नगरका २४ वर्षे इमामुल गोल्दारले चलाई ल्याएको डब्लु बी २५ जे ६१४१ नम्बरको ट्रकमा ल्याएको सात हजार पाँच सय १० केजी माछा बरामद गरि नष्ट गरेको हो। बरामद गरिएको माछाको मूल्य १५ लाखभन्दा बढी नै पर्ने सोमबार माछा नष्ट गर्नुअघि जिल्ला प्रहरी कार्यालयद्दारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
पशु क्वारेन्टाइन कार्यालय विराटनगरले चेक गरेर प्रमाणपत्र समेत दिएर ल्याएको माछाको विलमा भने पाँच हजार ८२० केजी उल्लेख भएपनि प्रहरीले नियन्त्रणमा लिँदा १९० केजी माछा मरि सकेर तत्काल नष्ट गरिएको र अरु तौलिदा सात हजार ५१० केजी भएको एसपी कमल थापाले बताए। माछा तीन दिनअघि नै प्रहरीले बरामद गरेपनि त्यसलाई अनुसन्धान गर्न विज्ञ टोलीसमक्ष राय लिँदा पुष्टि गरेर सोमबार नष्ट गरेको हो। प्रहरीले बरामद गरेको माछा ‘क्याट फिस’ जिल्ला प्रहरी कार्यालय सुनसरी परिसर भित्र खाडल खनि नष्ट गरेर ट्रक तथा चालकलाई आवश्यक कारवाहीको लागि सेतु वन्धु भन्सार कार्यालय पठाएको छ।
माछा ल्याउने समूहमा ठूलै शक्ति समूह रहेकाले गर्दा तिनीहरुको अनुसन्धान पनि थालिने प्रहरीले जनायो। बरामद गरिएको माछाको सम्बन्धमा अनुसन्धान गर्ने क्रममा सम्पूर्ण प्रक्रिया पूरा गरेर ल्याएकाले गर्दा छाड्न प्रहरीलाईं चौतर्फी दबाब आएको पनि जानकारी दिइयो। ‘पहिलो माछा बरामद गर्ने सफल भएका छौ, अब दोस्रो चरणमा माछा ल्याउने व्यापारीको खोजी गर्नेछौं,’ एसपी थापाले भने। प्रहरीले यसरी माछा नेपालमा ल्याएर विक्री गर्ने ठूलै शक्ति समूहको संलग्नता भएको सुईको पाएर त्यतातर्फ अनुसन्धान केन्द्रित गरेको छ।
प्रहरीले माछा बरामद गरेपछि पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय प्रदेश नं. १ बाट खटिएर आएको टोलीले नेपालमा ‘क्याट फिस’ जातको प्रतिवन्धित भएको प्रतिवेदनमा उल्लेख छ। पत्रकार सम्मेलनमा सुनसरीका प्रमुख जिल्ला अधिकारी चण्डेश्वर पोखरेलले प्रतिबन्धित माछा नेपालमा विक्री–वितरण हुँदै आएकाले गर्दा अब प्रशासन कार्यालय त्यसलाई रोक्न लागि पर्ने बताए। ‘वातावरणमा डरलाग्दो असर पुग्ने र खादा मानव स्वास्थ्यमा प्रतिकुल असर पुग्ने माछा भारतबाट नेपाल ल्याएर विक्री–वितरण गर्ने गरेको पाइएकाले गर्दा अब यसलाई पूर्ण रुपमा नियन्त्रणमा गरिनेछ,’ उनले भने, ‘आम नागरिकको सरोकार राख्ने विषयमा प्रशासन गम्भीर भएर लागेको छ।
प्रकाशित: ५ श्रावण २०७७ १३:१४ सोमबार