अर्थ

खोटाङमा बाँझो जग्गालाई लिचीको पकेट क्षेत्र बनाइँदैं

लिचीको बिरुवा अनुगमन गर्न धितुङ पुगेका पुर्वसभाषद पिके राई, जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ लगायत । तस्बिर : नागरिक

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका किसानले १५ वर्षदेखि बाँझिएको जग्गामा सामुहिकरुपमा लिची खेती लगाएका छन्। लिचीको पकेट क्षेत्रकारुपमा विकास गर्नका लागि स्थानीय बरबोटे बिज बृद्धि कृषक समुहमा आवद्ध किसानले लकडाउनको अवधिमा बयाखुखोला नजिकैको दुई सय रोपनी जग्गामा दुई हजार बोटभन्दा बढि लिचीको बिरुवा रोपेका हुन् । ‘गाउँमै केही गर्नुपर्छ’ भन्ने सोचका साथ धितुङका स्थानीयले बाँझिएको जग्गामा पलाएको झाडी फँडानी गरेर खाल्डो खनेर लिचीको बिरुवा रोपेका हुन् । शहर बजारमा बसिरहेका युवा लकडाउनकाबेला गाउँमा आएपछि सामुहिकरुपमा बाँझो जग्गामा लिची लगाउने निर्णयमा पुगिएको बरबोटे बिज बृद्धि कृषक समुहका अध्यक्ष राजेश राईले बताए। कतिपय १५ वर्षभन्दा बढि समयदेखि बाँझिएको व्यक्तीको जग्गा भाडामा लिएर लिची लगाइएको छ। दिनेश राईको अध्यक्षतामा ९ सदस्यीय लिची पकेट सञ्चालन समिति बनाएर गाउँलाई लिचीको पकेट क्षेत्रकारुपमा बिकास गर्ने प्रयास थालिएको हो।  

कृषक समुहमा आवद्ध २५ परिवार किसानमध्ये नौ घरका किसान सामुहिकरुपमा लिची खेतीमा लागेका हुन्। लिचीले उत्पादन दिन थालेपछि तीन भाग लगाएर एक भाग जग्गाधनीलाई दिने शर्तमा जग्गा भाडामा लिइएको कृषक समुहले जनाएको छ। उत्पादनको तीन भागमध्ये एक भाग लगानीकर्तालाई र एक भाग मलजल गर्ने हेरालुलाई दिइने सहमती गरिएको कृषक समुहका अध्यक्ष राईले बताए।  

कृषि ज्ञान केन्द्र खोटाङले उपलव्ध गराएको आठ लाख अनुदानमा किसानको आठ लाख रकम थप गरेर धितुङमा लिची खेती विस्तार गर्न लागिएको हो। ‘लकडाउनमा घर आएका युवा साथीभाईले चासो दिए। शहरमा बसेर मात्र नहुने रहेछ, गाउँमा केही गर्नु पर्ने रहेछ भन्ने उहाँहरुको कुरा आयो,’ अध्यक्ष राईले भने, ‘सोही अनुशार हामीले बाँझो जग्गा फाँडेर लिची रोपेका हौँ। १५/२० वर्षदेखि बाँझिएको जग्गालाई लकडाउनका कारण जगाउने कोसिस गरिएको छ। यस मानेमा लकडाउनले हामीलाई फाईदै पु¥याएको छ।’  

धितुङमा लिचीको बिरुवा रोपेको केही समयपछि कृषि ज्ञान केन्द्रको अगुवाईमा केही समयअघि पुर्वसभाषद पिके राई, जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ लगायतको टोलीले अनुगमन गरेको छ। लकडाउनकाक्रममा गाउँ आएका जिल्लाका विभिन्न ठाउँका स्थानीयले बाँझिएको जग्गा फँडानी गरेर खेती बढाउने, लिची, आँप, केरा, कागती लगायतका फलफुलका बोटबिरुवा रोप्ने काम गरिरहेका छन्। लकडाउनले विपत्ती र महामारीका समयमा गाउँलाई नै सुरक्षित थलोकारुपमा देखाएकाले गाउँ फर्केका अधिकांश स्थानीय गाउँमै केही गर्नुपर्नेमा अग्रसर देखिएका छन्।  

प्रकाशित: ३ श्रावण २०७७ ०७:११ शनिबार

लिचीको पकेट बाँझो जग्गा