रविभानु क्षेत्रीको कथा बेग्लै छ, उनी रुवान्डामा नेपाली प्रविधि सिकाउन गएका छन्। क्षेत्रीले रुवान्डाका गाउँगाउँ गएर पाँच वर्षदेखि लगातार नेपाली गोबर ग्यास बनाउने प्रविधि सिकाइरहेका छन्। नेपालमा सफल मानिएको जिजिसी-२०४७ मोडल प्रविधि क्षेत्रीले त्यहाँ सिकाउँछन्।
हुटु र टुट्सी जातिको लडाइँले १० लाखभन्दा बढीको ज्यान गएको रुवान्डामा अहिले आर्थिक विकासलाई प्राथमिकता दिइएको छ। यो मुलुकले विकासका लागि नयाँनयाँ अवधारणा र प्रविधिको खोजी गर्दैछ। नयाँ प्रविधि खोज्ने क्रममा वैकल्पिक ऊर्जामा गोबर ग्यास प्रविधिलाई रोजेको रुवान्डाले यसको सफल प्रयोग गरेको नेपालबाट विज्ञसमेत झिकाएको हो।
नेपालमा गोबर ग्यास प्रविधिमा काम गरेका क्षेत्रीलाई त्यहाँको टुम्बा कलेज अफ टेक्नोलोजीले अध्यापकका रुपमा झिकाएको हो। सन् २००७ देखि कलेजमा नेपाली गोबर ग्यास प्रविधि पढाइरहेका क्षेत्रीले रुवान्डाका गाउँगाउँ पुगेर प्रयोगात्मकरुपमा गोबर ग्यास प्लान्टसमेत बनाएका छन्।
वैकल्पिक ऊर्जा पढाउने उनको टुम्बा कलेजमा गोबर ग्यास प्रविधिको जिम्मा उनैलाई छ। उनी कजेलमा प्रमाणपत्र तह अध्ययन गर्ने विद्यार्थीलाई सैद्धान्तिक ज्ञान दिन्छन्। त्यसपछि बायोग्यास मेकानिकल वर्कसपमा प्रायोगात्मक।
'म अझै केही वर्ष रुवान्डामै बसेर गोबर ग्यास प्रविधि सिकाउँछु,' हालै नेपाल आएका क्षेत्रीले नागरिकसँग भने, 'अब अगस्टमा फर्कंदैछु।' नेपालमा छँदा नेदरल्यान्ड सहयोग नियोग(एसएनभी)का जागिरे क्षेत्रीले त्यसैक्रममा सिकेको गोबर ग्यासको ज्ञान अफ्रिका पुगेर बाँडेका हुन्।
एसएनभीमै छँदा उनले म्यान्मार पुगेर गोबर ग्यासकै तालिम दिएका थिए। म्यान्मारको कचिङ प्रान्तमा २१ दिने तालिम दिएपछि उनलाई नेपाली प्रविधि लोकप्रिय हुने लागेको थियो। नभन्दै, म्यान्मारमा अहिले पनि यही प्रविधिबाट गोबर ग्यास प्लान्टहरु विस्तार भइरहेका छन्। उनीपछि अरु नेपाली गएर पनि प्रविधि प्रसार र विकास गरिरहेका छन्।
क्षेत्री त नेपाली गोबर ग्यास प्रविधि अफ्रिकी मुलुकमा प्रचार गर्ने एकजना पात्र मात्र हुन्। नेपालमा सफल भएको यो प्रविधि दक्षिण र दक्षिण पूर्वी एसिया एवं अफ्रिकाका अन्य मुलुकमा पुर्याउने यस्ता पात्र धेरै छन्। कतिले नेपाली प्रविधकै नाममा प्रचार गरेका छन्, त कतिले नेपाली प्रविधि नभनीकनै। 'नेपाली प्रविधि भन्न धेरैले रुचाउँदैनन्, मैले त नेपाली भनेर नै चिनाएको छु,' क्षेत्रीले भने, 'अन्यत्र पनि नेपाली भनेर नै चिनाउनुपर्ने हो।'
चीन र भातरमा प्रयोग भएका गोबर ग्यास प्रविधिलाई हेरेर त्यसका आधारमा नेपालमा विकास भएको जिजिसी-२०४७ मोडललाई राम्रो मानिन्छ। यो मोडल आउनु अघि जमिनमाथि ड्रममा गोबर हालेर त्यसबाट ग्यास निकाल्ने चलन थियो। यो मोडलमा भने जमिनमुनि ट्यांकी बनाएर ग्यास निकालिन्छ। पहिलेको भन्दा सफल भएकाले नेपाली मोडललाई धेरैले रुचाएका छन्।
अहिले दक्षिण एसियाका पाकिस्तान, बंगालादेश र भुटानमा यो प्रविधि प्रयोग भइरहेको छ। दक्षिण पूर्वी एसियाका इन्डोनेसिया, भियतनाम र कम्बोडियाले पनि यही प्रविधि पछ्याइरहका छन्।
अफ्रिकाका रुवान्डासहित इथियोपिया, युगान्डा, जाम्बियालगायत मुलुकमा पनि यो प्रविधि पुगेको छ। एसियादेखि अफ्रिकासम्म प्रविधि विस्तार गर्न भने नेपालीहरु नै पुगेका छन्। यसले नेपालबाट तयारी पोसाक, पस्मिना र गलंैचाजस्ता वस्तुमात्र हैन, विशेषज्ञ सेवा पनि निर्यात गर्न सकिन्छ भन्ने देखाएको छ।
'हामीले सुरु गरेको प्रविधि धेरैले अनुसरण गरेका छन्,' वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक गोविन्द पोखरेलले भने, 'यो प्रविधि सिकाउन पनि नेपालीहरु नै पुगेका छन्।' पोखरेलका अनुसार अहिले बंगालादेशमा नेपाली विशेषज्ञ राजीव मुनकर्मी, पाकिस्तानमा राजेशभक्त श्रेष्ठ, भूटानमा प्रकाश घिमिरे र इन्डोनेसियामा सुन्दर बजगार्इंले नेपाली गोबर ग्यास प्रविधि सिकाइरहेका छन्। पोखरेल आफैं पनि पटकपटक बंगालादेश पुगेर नेपाली प्रविधि सिकाइरहेका छन्। केन्द्रको कार्यकारी निर्देशक बन्नुअघि एनएनभीमार्फत उनले विदेशमै काम गरेका थिए।
यी मुलुकमा मात्र होइन, अन्य मुलुकमा नेपालमै आएर प्रविधि सिकेकाहरुले यसलाई प्रचार गरिरहेका छन्। कम्बोडियामा नेपालमा आई गोबरग्यास प्रविधिबारे प्रयोगात्मक तरिकाहरु सिकेका एन लामले अहिले कम्बोडियामा गोबर ग्यास प्रविधि सिकाइरहेका छन्।
केहो नेपाली गोबर ग्यास प्रविधि?
सुरुका वर्षमा जमिनमाथि ड्रममा गोबर हालेर त्यसलाई फर्मान्टेज गरी ग्यास निकाल्ने प्रविधि थियो। यो नेपालको आफ्नै प्रविधि नभई भारतबाट सिकिएको प्रविधि थियो। गोबर ग्यास कम्पनी स्थापना भएपछि भने यो मोडललाई परिमार्जन गरियो। जमिनमुनि ट्यांकी बनाएर गोबर राखी ग्यास निकाल्ने प्रविधि विकास भएपछि यो नै धेरै चल्तीमा आयो। जिजिसी-२०४७ कोरुपमा चिनिन्छ।
बायोग्यासको विकास त दोस्रो विश्वयुद्धताकै भएको हो। तर, यसले तीव्र गति भने लिन सकेको थिएन। नेपालमा सन् १९६० को दशकमा नर्वेली नागरिक बिआर सुवेलले गोबर ग्यास बनाउने प्रविधिको सुरुवात गरेका हुन्। हालको सेन्ट जेभियर्स स्कुलका संस्थापक उनले प्रयोगगात्मक प्रविधिबाट गोबर ग्यास प्लान्ट बनाउने प्रविधि सुरु गरेका हुन्।
गोबर र अन्य कुहिने वस्तु हालेर त्यसबाट मिथेन ग्यास निकाल्न सकिन्छ भन्ने कुरालाई उनैले नेपालमा प्रचारमा ल्याएको मानिन्छ। १५ वर्षको अध्ययन अनुसन्धानपछि तत्कालीन सरकारले नेपालमा गोबर ग्यास प्लान्ट बनाउने प्रविधिको प्रचार र निर्माण सुरु गरेको थियो।
ब्याजदर मिनाहा गरेर गोबर ग्यास बनाउने प्लान्ट निर्माणका लागि उत्प्रेरित गरिरहेको नेपालले पछि युएनडिपी र युनिसेफको सहयोगमा ५० प्रतिशतसम्म अनुदान दिने कार्यक्रम ल्यायो।
सरकार र दाताहरुले अनुदान दिएर समेत गोबर ग्यास प्लान्ट बनाइदिन थालेपछि नेपालमा यो अभियान सफल भयो। कृषिप्रधान मुलुकमा गोबरको कमी नभएकाले पनि यसलाई सफलता मिलेको हो। घरायसी गोबर ग्यास उत्पादन गर्नेमा नेपाल सफल मुलुक मानिन्छ। कुल गोबर ग्यास प्लान्टको हिसाब गर्दा नेपाल चीन र भारतपछि विश्वमै तेस्रो स्थानमा आउँछ। नेपालमा हालसम्म २ लाखभन्दा बढी घरायसी गोबर ग्यास प्लान्ट बनिसकेका छन्। जनघनत्वका हिसाबले भने नेपाल पहिलो नम्बरमा पर्ने यस क्षेत्रका विज्ञहरुको दाबी छ।
प्रकाशित: २४ जेष्ठ २०६९ २०:३८ बुधबार