अर्थ

जुम्लामा रोकिएन अवैध उत्खनन्

पछिल्लो समयमा जुम्लाका नदिमा अवैद्य रुपमा नदिजन्य बस्तुको उत्खनन भइरहेको भन्दै नदिजन्य वस्तु उत्खनन अनुगमन समिति कठोर बन्न थालेको छ। पहिलो चरणमा यहाँका नदीमा भैरहेको उत्खनन कार्यको अनुगमन गरेको समितिले नदीजन्य वस्तुको उत्खनन वैद्यानिक रुपमा गर्न निर्देशन दिएको हो।  जुम्लाको पातारासी, तिला र तातोपानी क्षेत्रमा नदिजन्य बस्तुको अवैद्य उत्खनन  कार्य तत्काल रोक्न निर्देशन गरेको हो ।  

जुम्लाको पातारासी गाउँपालिकामा नदी जन्यवस्तुको उत्खननका लागि वातावरण प्रभाव मुल्यांकन गरिसकेको छ। वैधानिक रुपमा टेण्डर आव्हान गरेर उत्खनन गर्न निर्देशन गरिएको जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा बताउँछन्।  तिला गाउँपालिका तिला नदी क्षेत्र अन्तर्गतको नदीहरूमा वातावरण प्रभावका मुल्यांकन नभइ उत्खनन गरिरहेको भेटिएको हो। वातावरण प्रभाव मुल्यांकन स्वीकृत नभए सम्मका लागि नदीबाट नदीजन्य वस्तुहरूको उत्खनन कार्यमा रोक लगाउन कडा निर्देशन गरिएको हो। तिला–३ वडाकार्यालयले आफु खुसी प्रक्रियामा नगइ टेण्डर आव्हान गरिएको भेटिएको हो। उपप्रमुख बुढाले भने,‘ नदी जन्य वस्तुको उत्खनन प्रक्रियालाई कानुन सम्मत रुपमा प्रभावकारी बनाउन अपनाउनु पर्ने सबै विधिको प्रयोग गर्न आग्रह गरिएको छ।’

तातोपानी गाउँपालिकाले नदिजन्य वस्तुको वातावरण प्रभाव मुल्यांकन भैसकेको छ। तर कानुन अनुसार टेण्डर आव्हान नभए सम्मको लागि उत्खनन कार्यमा रोक लगाउन निर्देशन गरिएको छ। यहाँको तिला नदी र भेरी खोला क्षेत्र अन्तर्गतको नदी क्षेत्रमा रहेको नदी जन्य वस्तुहरू कानुन अनुसार टेण्डर आह्वान नभए सम्मको लागि रोक लगाउन निर्देशन गरिएको छ।

अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्की, उपप्रमुख कार्मा बुढा, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, डिएसपी लालबहादुर धामी लगायतको सहभागिता रहेको थियो। समन्वय समितिका प्रमुख लालबहादुर सार्की जथाभावी नदिजन्य वस्तुको उत्खननले यहाँका वातावरणीय पक्ष निकै कमजोर हुने भन्दै प्रक्रियामा गएर मात्र उत्खनन प्रक्रिया थाल्न आग्रह गरेका छन ।

प्रकाशित: ३ असार २०७७ १०:५१ बुधबार