अर्थ

हावाहुरीले लाखौंको गोलभेडा नष्ट, क्षतिपूर्तिको माग

बुधबार दिउँंसो यहाँं परेको हावाहुरी र असिनापानीले सयौं व्यवसायीक गोलभेडा खेतीमा क्षति पुर्‍याई लाखौंका गोलभेडा नष्ट भएका छन् । ब्यवसायीक कृषि फर्महरु नष्ट भई सयौं व्यवसायीक फर्मका गोलभेडामा क्षति पुगेका हुन् । रोपाइका लागि पानी पर्दा धेरै किसानहरु खुसी देखिए पनि यसबेला गोलभेडा खेती गरेका किसानहरु दुःखी भएका छन् । पानीसँगै हावाहुरी र असिनाले गोलभेडासहितको नगदेबाली सबै नष्ट पारेको हो ।

भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ३ झौखलेमा व्यवसायिक गोलभेडा गरिरहेका तुल्सीराम धुख्वाले आफनो मात्रै नभई धेरै किसानका गोलभेडाका टनेलहरु उडाई थिचेका कारण लाखौंको गोलभेडाहरु नष्ट भएको जानकारी गराए । सधै परम्परागत रुपमा धान र गहुँंमै सिमित हामी नगदेबालीबाट उत्थान होला भनेर लागेको त्यसमा पनि खतमै भइयो, शुक्रबार नागरिकसँंग उनले भने, अव हामी कसरी अगाडि वढ्ने होला ?

हावाहुरीले कृषकहरुले लगाएको टनेल खेती सबै उठाएका छन् । बालीनाली बिगारेको छ । मकैंका बोटहरु सबै भाचिएका छन् । गोलभेडा, तरकारीबारीका अधिकांस टनेलहरु हावाले उदाएका हुन् ।

सुवाल कृषि फर्मका कृष्णभक्त सुवालले हावाहुरी तथा असिनापानीले आफनो मात्रै ११ लाख ४१ हजार पाँंच सय ७२ रुपैयाँं बराबरको गोलभेडा नष्ट भएको हिसाव निकाले । व्यवसायिक रुपमा गोलभेडा गर्नेहरु यो पटक सवै जीवनमरणको अवस्थामा पुगेको दुःख उनले विसाए ।  

बेमौसमी तरकारीबारीमासमेत नोक्सानी गरेको भन्दै प्रगतिशल कृषक समूह भक्तपुरका गणेशराम सुवालले जिल्लाका अधिकास क्षेत्रका प्लास्टिका टनेल, जस्ताले छाएका टहराहरुसमेत हावाले उठाएको बताए । हजारौं व्यवसायिक कृषकहरुको कृषी उद्योगहरु बुधबारको असिनापानी र हावाले ध्वस्त बनाएको उनको भनाई छ । उनले भने, कृषकहरुका करोडौ नक्सानी भएको छ । कृषि विकास कार्यालयबाट अनुदान प्राप्त गरेका कृषकहरुले मात्रै हावाहुरीले गरेको नोक्सानीको केही क्षतिपूर्ति पाउने भए पनि अन्य सर्वसाधारण कृषकले ब्यहोरेको क्षतिप्रति कुनै पनि निकायले चासो दिएको छैन ।  

भक्तपुरको झौखेल, दुवाकोट, ताथली, सुडाल, बागेश्वरी क्षेत्रका अधिकास कृषि फार्महरु हावाहुरीले बिगारेका छन् । कृषि विमा प्रभावकारी नहुँदा पनि कृषकहरु यतिबेला नोक्सानी ब्यहोर्न बाध्य देखिएका छन् ।

क्षतिपूर्तिको माग

पीडित किसानहरुले कृषि ज्ञान केन्द्र ललितपुरमा लिखित निवेदन दिई क्षतिपूर्तिको माग गरेका छन् । जेठ २८ गते दई बजेदेखि ४५ मिनेटसम्मको निरन्तरको हावाहुरी तथा असिनपानीले गोलभेडा खेतीका प्लाष्टिकका घर (टनेल) मा क्षति पुर्‍याई लाखौंका गोलभेडा नष्ट भएको भन्दै उनीहरुले शुक्रबार मागपत्रसहितको क्षतिपूर्तिको माग राखेका छन् । हावाहुरी तथा असिनापानीले व्यवसायिक रुपमा कषि पेशामा लागेका कृषकहरुको व्यवसाय चौपट भएको निवेदनमा उल्लेख छ ।

प्रकाशित: ३० जेष्ठ २०७७ १४:४० शुक्रबार

हावाहुरी गोलभेडा नष्ट क्षतिपूर्ति