अर्थ

विद्युत् प्राधिकरणको खर्च एक वर्षमै १० अर्ब बढ्यो

नेपाल विद्युत प्राधिकरणको गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा १० अर्बभन्दा धेरै खर्च बढ्ने प्रक्षेपण गरिएको छ।  प्राधिकरणले गत आर्थिक वर्षमा ६५ अर्ब खर्च भएकोमा चालु आर्थिक वर्षमा ७५ अर्ब ८० करोड भन्दा  धेरै खर्च हुने  भएको छ।  

प्राधिकरणले चालु आर्थिक वर्षमा कर्मचारी खर्च, सञ्चालन तथा सम्भार खर्च, प्रशासनिक खर्च, विदेशी विनियम सटही दरमा अत्याधिक बढेसँगै अचाक्कली खर्च बढेको हो।  प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा १० अर्बभन्दा धेरै खर्च बढ्ने प्रक्षेपण गरिएको बताए।  ‘प्राधिकरणको ५५ अर्ब खर्च जति चाहेर पनि घटाउन सक्दैनौं।  किनकी त्यो खर्च फिस्ड खर्च जस्तै हो ,’ उनले भने, ‘हामीले कर्मचारी खर्च, सञ्चालन तथा सम्भार खर्च र प्रशासनिक खर्च बाहेक अन्य खर्च घटाउन सक्ने अवस्थामा छैनौं।  त्यसैले यो खर्च घटाउन पनि धेरै मुस्किल भइरहेको छ। ’ प्रबन्ध निर्देशक निर्देशक घिसिङले रोयल्टी, ह्रासकट्टी,ब्याज तथा बैंक खर्च, नियमन आयोग खर्च, विद्युत खरिद खर्च फिस्ड खर्च जस्तै भएकाले चाहेर पनि घटाउन नसकिने दावी गरे।  अन्य २० अर्बको खर्चमा भने केही सुधार गर्न सकिने उनको भनाई छ।  हाल प्राधिकरणमा ९ हजार स्थायी कर्मचारी रहेका छन्।  तिबाहेक करिव चार हजार करार,ज्यालादारी मजदूर रहेका छन्।  

प्राधिकरणको चालु आर्थिक वर्षमा कर्मचारी खर्च पोहोरको तुलनामा तीन अर्बभन्दा धेरै खर्च हुने भएको छ।  गत आर्थिक वर्षमा प्राधिकरणको कर्मचारी खर्च वापत आठ अर्ब २४ करोड रुपैयाँ खर्च भएको थियो।  तर, चालु आर्थिक वर्षमा ११ अर्ब ४३ करोड रुपैयाँ खर्च हुने प्रक्षेपण गरिएको छ।  

प्रवन्ध निर्देशक घिसिङ चालु आर्थिक वर्षमा विगतको वर्षको तुलनामा तीन अर्ब १९ करोड रुपैयाँ बढी खर्च हुने प्रक्षेपण गरेको बताउँछन्।  ‘गत आर्थिक वर्षमा भन्दा चालु आर्थिक वर्षमा कर्मचारीको खर्च वृद्धि हुने देखिएको छ,’ उनले भने ‘चालु आर्थिक वर्षमा कर्मचारीको २० प्रतिशत तलव वृद्धि र कर्मचारी संख्या थप भएकाले पनि तलव वृद्धि भएको हो।’ प्रवन्ध निर्देशक घिसिङले तलव बढेसँगै  सेवानिवृत्त कर्मचारीको पनि तलव बढ्ने भएकाले खर्च बढेको बताए।  प्राधिकरणको कर्मचारी खर्च मात्रै होइन्।  अन्य खर्च पनि ह्वातै बढेको छ।  

प्राधिकरणको सञ्चालन तथा सम्भार खर्च पनि पोहोरको तुलनामा चालु आर्थिक वर्षमा बढेको देखिन्छ।  गत आवमा सञ्चालन तथा सम्भार खर्च वापत चार अर्ब  ३६ करोड भएकोमा चालु आर्थिक वर्षमा सात अर्ब ७७ करोड खर्च हुने प्रक्षेपण गरिएको छ।  सञ्चालन तथा सम्भार खर्चमा वितरण, प्रसारणलगायतका हुने खर्च पर्दछ। प्राधिकरणलाई चालु आर्थिक वर्षमा विदेशी विनियम सटहीमा हुने  नोक्सान अत्याधिक बढ्ने भएको छ।  गत आर्थिक वर्षमा २७ करोड रुपैयाँ नोक्सान भएकोमा चालु आर्थिक वर्षमा एक अर्ब रुपैयाँभन्दा धेरै नोक्सान हुने प्रबन्ध निर्देशक घिसिङले बताए।  उनका अनुसार अहिले अमेरिकी डलरमा आएको उत्तरचढावको कारणले धेरै नोक्सान भएको हो।  गत आर्थिक वर्षमा ८५ करोड रुपैयाँ प्रशासनिक खर्च भएकोमा चालु आर्थिक वर्षमा एक अर्ब ४२ करोड रुपैयाँ हुने प्रक्षेपण गरिएको छ।  प्राधिकरणले गत आर्थिक वर्षमा ७५ अर्ब आम्दानी गरेकोमा चालु आर्थिक वर्षमा ८४ अर्ब रुपैयाँ आम्दानी हुने लक्ष्य  राखेको छ।  प्राधिकरणको करिव चार खर्ब  ऋण रहेको छ।  

 

प्रकाशित: १८ जेष्ठ २०७७ ०७:०३ आइतबार

विद्युत