अर्थ

अर्थमन्त्री खतिवडा अमेरिका प्रस्थान

अर्थमन्त्री युवराज खतिवडा। फाइल तस्बिर:नागिरक

काठमाडौं – संयुक्त राज्य अमेरिकामा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री युवराज खतिवडा अमेरिका प्रस्थान गरेका छन्।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषअन्तर्गत नेपाल दक्षिणपूर्व एसियाली मतदान समूहको सदस्य भएकाले बैठकमा अर्थमन्त्री खतिवडा सहभागी हुने कार्यक्रम रहेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। सो अवसरमा विश्व बैंक समूह तथा अन्तर्राष्ट्रिय मुद्रा कोषका वरिष्ठ अधिकारीसँग द्विपक्षीय छलफल हुने जनाइएको छ।

त्यसैगरी, सोही अवधिमा अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुँदै आएको सहायतालाई थप प्रभावकारी बनाउने उपायलगायत सहायताका थप क्षेत्र र सम्भावनाबारे छलफल हुनेछ।

अर्थमन्त्री खतिवडासँगै अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सह–सचिव श्रीकृष्ण नेपाल पनि सहभागी हुने जनाइएको छ। अर्थमन्त्री खतिवडा कात्तिक ६ गते स्वदेश फर्किनेछन्।

प्रकाशित: २९ आश्विन २०७६ ०२:२३ बुधबार

युवराज_खतिवडा मेरिका_प्रस्थान