अर्थ

एक सय तीन मेघावाट बिजुली थपिँदै

साेलुखुम्बु जिल्लामा निर्माणाधीन तल्लाे साेलु जलविद्युत् आयोजना।

विराटनगर – सोलु करिडोरअन्तर्गतका दुईवटा आयोजनाले चालु आर्थिक वर्षभित्रै विद्युत् उत्पादन थाल्ने भएका छन्। सोलुखुम्बु जिल्लामा निर्माणाधीन २३.५ मेघावाटको सोलु जलविद्युत् आयोजना र ८२ मेघावाटको तल्लो सोलु जलविद्युत् आयोजनाले चालु आर्थिक वर्षभित्रै उत्पादन थाल्ने जनाएका हुन्।

सोलु जलविद्युत् आयोजनाले यहि दसैंसम्ममा विद्युत् उत्पादन गर्ने तयारी गरिरहेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत शसीसागर राजभण्डारीले बताए। उनका अनुसार आयोजनाको सम्पूर्ण काम सम्पन्न भइसकेकाले दसैंसम्ममा विद्युत् उत्पादन सुरू हुनेछ। जलविद्युत् आयोजना निर्माणका लागि हालसम्म चार अर्ब खर्च भइसकेको छ।

अझै ५० करोड हाराहारीमा थप खर्च हुने अनुमान आयोजनाले गरेको राजभण्डारीले बताए। ‘अन्तिम चरणको फिनिसिङ कामका लागि अझै ५० करोड रुपैया“ खर्च हुने अनुमान गरिएको छ,’ राजभण्डारीले भने। उनका अनुसार आयोजना निर्माणका लागि प्रवद्र्धकले ९० करोड रुपैयाँ चुक्ता गरिसकेको र  बैंकबाट दुई अर्ब ९१ करोड रुपैया“ ऋण लिइएको छ। हाल इलेक्ट्रोमेकानिकलको काम भइरहेको  छ। ‘केही दिनभित्रै काम सम्पन्न हुने भएकाले इलेक्ट्रोमेकानिकलको काम सम्पन्न भएलगत्तै विद्युत् उत्पादन सुरू हुन्छ,’ उनले भने। यस्तै ८२ मेघावाटको तल्लो सोलु जलविद्युत् आयोजनाले पनि चालु आवभित्रै विद्युत् उत्पादन थाल्ने जनाएको छ।

डिसेम्बर २०१९ सम्ममा काम सम्पन्न गर्ने लक्ष्यसहित तीव्र गतिमा काम भइरहेको आयोजनाका विजय कार्कीले जानकारी दिए। सोलु खुम्बुको तिङ्ला र दूधकुण्ड गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाले प्रदेश १ मा आवश्यक विद्युत्को माग धान्न मद्दत गर्ने छ। जलिविद्युत् आयोजना निर्माण गर्न १६ अर्ब रुपैया“ लगात लाग्ने अनुमान गरिएको आयोजनाले जनाएको छ। सन् २०१६ मा निर्माण थालिएको आयोजनाले सन् २०१९ को डिसेम्बरसम्ममा विद्युत् उत्पादन थालिसक्ने लक्ष्य लिएको छ। जलविद्युत् आयोजना निर्माणका लागि एकद्वार प्रणालीबाट सेवा उपलब्ध भए आयोजना समयमै सम्पन्न गर्न मद्दत पुग्ने कार्कीको धारणा छ।

यस्तै सोलुखुम्बुमा निर्माणाधीन १८ मेघावाटको अपर सोलुले भने आगामी आवमा मात्रै विद्युत् उत्पादन सुरु हुने जनाएको छ। आयोजनाका म्यानेजिङ डाइरेक्टर गणेश कार्कीका अनुसार आयोजनाको सिभिलतर्फ ५५ प्रतिशत काम सम्पन्न भइसकेको छ। आगामी असारसम्ममा निर्माणको काम सम्पन्न गरेर असोजदेखि विद्युत् उत्पादन सुरू गर्ने लक्ष्य लिएको कार्कीले बताए।

सोलुखुम्बु जिल्लामै निर्माणाधीन सोलु खोला दूधकोसी जलविद्युत् आयोजनाले २८ प्रतिशत काम सम्पन्न गरिसकेको जनाएको छ। साहस ऊर्जा कम्पनी लिमिटेडको प्रवद्र्धनमा स्वदेशी लगानीमा निर्माण सुरू गरिएको उक्त आयोजना सोलु खुम्बुको थुलुङ दूधकोसी गाउ“पालिकामा निर्माण भइरहेको छ। ११ अर्ब ८६ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजना निर्माणमा बाढी, पहिरो र खराब बाटो समस्याका रुपमा देखिएको आयोजनाले जनाएको छ।

सोलु क्षेत्रमा जलविद्युत् आयोजना धमाधम निर्माण सम्पन्न हुने चरणमा पुगे पनि  प्रसारणलाइन निर्माण नहुँदा समस्या निम्तिन सक्ने विद्युत् आयोजनाका प्रवद्र्धकले गुनासो गरेका छन्। सोलु करिडोर प्रसारणलाइन निर्माणमा ढिलाइ हुँदा विद्युत् खेर जाने अवस्था रहेको आयोजनाका म्यानेजिङ डाइरेक्टर कार्कीले बताए। उनका अनुसार जलविद्युत् आयोजनाले विद्युत् उत्पादन गरे पनि प्रसारणलाइनको अभावमा विद्युत् खेर जाने अवस्था रहेको छ। उत्पादित विद्युत् खेर गए जलविद्युत् आयोजनालाई नोक्सानी हुने र नेपाल विद्युत् प्राधिकरणले पनि क्षतिपूर्ति तिर्नुपर्ने भएकाले ठूलो नोक्सानी बेहोर्नुपर्ने देखिन्छ।

यता नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निजी क्षेत्रका प्रवद्र्धकले विद्युत् खेर जान्छ कि भन्ने चिन्ता गर्न नपर्ने बताउँछन्। घिसिङले जलविद्युत् आयोजनाको विद्युत् खेर नजाओस् भनेर हालका लागि वैकल्पिक प्रसारणलाइन निर्माण भइसकेको र सोलुखुम्बुमा पनि राष्ट्रिय प्रसारणलाइन पुगिसकेकाले उत्पादित विद्युत् खेर नजाने घिसिङले दाबी गरे। उनले भने, ‘दुई महिनामा सकिने भनिएको आयोजना चार महिना र एक वर्षमा सकिने दाबी गरिएका आयोजना सक्न कम्तीमा डेढ वर्ष लाग्ने भएकाले प्रसारणलाइनकै कारण उत्पादित विद्युत् खेर जाँदैन।’ उत्पादित विद्युत् खेर गए प्राधिकरणले सम्झौताअनुसार क्षतिपूर्ति दिने घिसिङले स्पष्ट पारे।

सोलु करिडोर प्रसारणलाइनको तीन सय तीन टावरमध्ये हालसम्म दुई सय सात टावरको फाउन्डेसन निर्माण भएको छ। ४३ वटाको इरेक्सन सम्पन्न भएको छ। यस्तै ६१ टावरमा अर्थिङ गरिसकिएको छ। तिङ्ला सबस्टेसनदेखि वेलिडा“डासम्म ३३ केभी डबल सर्किटलाइन निर्माण भइसकेको छ। यस्तै तिङ्लामा सबस्टेसन निर्माण सम्पन्न भई नोलोड चार्ज पनि गरिसकिएको छ। मिर्चैयादेखि तिङ्लासम्मको ९० किलोमिटर प्रसारणलाइन निर्माणमा भने विभिन्न ठाउँमा अवरोधका कारण समस्या देखिएको सोलु करिडोर प्रसारणलाइन निर्माण आयोजनाका प्रमुख जनार्धन गौतमले जानकारी दिए।

यता प्रदेश १ का मुख्य मन्त्री शेरधन राइले आयोजना निर्माणमा देखिएका समस्या समाधान गर्न पहल थाल्ने बताएका छन्। प्रदेश १ लाई समृद्ध प्रदेश बनाउने लक्ष्य रहेको भन्दै राईले जलविद्युत् उत्पादनमा चाँडै प्रदेशलाई आत्मनिर्भर बनाउन सोलु करिडोर प्रसारणलाइन निर्माण महत्वपूर्ण रहेको बताए।

प्रकाशित: १९ भाद्र २०७६ ०३:०२ बिहीबार

विद्युत् उत्पादन