चितवनका किसानलाई प्रगती एकीकृत शत्रुजिव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला सम्बन्धी तालिम प्रदान गरिएको छ।
श्री किसान महिला कृषि तथा पशुपन्छि पालन कृषक समुह र भरतपुर महानगरपालिका कृषि तथा पशुपन्छि व्यवसाय प्रवद्र्धन शाखा भरतपुरको आयोजनामा पश्चिम चितवनको पर्साढापका महिलालाई आइपिएम सम्बन्धी १६ हप्ते तालिम प्रदान गरिएको हो।
बढ्दो रासायनिक विषादीको प्रयोग न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा भरतपुर महानगरपालिका–२७ स्थित श्री किसान महिला कृषि तथा पशुपन्छी पालन कृषक समूहका २५ जना महिलाको सहभागिता रहेको थियो।
तालिमको समापन कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाका आर्थिक प्रशासन प्रमुख तेजेन्द्र प्रसाद पौडेलले विषादी मानव स्वास्थ्यका लागि हानिकारक भएकाले यसको सुरक्षित प्रयोग आवश्यक रहेको बताए।
‘विषादी प्रयोग नगर्नु भन्ने होइन। तर सही तरिकाले प्रयोग गर्नुपर्छ। अहिले धेरै किसानले सुरक्षित विधिबाट विषादी प्रयोग गरेको पाइँदैन।’ उनले भने।
उनले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न तथा छिमेकी किसानलाई समेत सिकाउन सहभागीलाई आग्रह गरे। आगामी दिनमा महानगरपालिकाले आइपिएम सम्बन्धी थप छ वटा तालिम सञ्चालन गर्ने योजना रहेको पनि उनले जानकारी दिए।
तालिम अवधिभर सहभागी किसानलाई घरेलु झोल मल, बोकासी मल, फोहोर डिकम्पोजर उत्पादन, जैविक विषादी निर्माण तथा रासायनिक विषादीबिनै बाली संरक्षण गर्ने विधिबारे प्रशिक्षण दिइएको थियो। सहभागीहरूले भिन्डी, बोडी, धान, मकैलगायत बाली आइपिएम पद्धतिबाट उत्पादन समेत गरेका थिए।
जैविक मल तथा घरेलु झोल मल बनाउन धतुरो, जामुना, कडीपत्ता, तितेपाती, अम्बा, अमिलो, घिउकुमारी, मेवाको पात, रुदिलो, चरीअमिलो, बकाइनो, आरुको पात, निमपत्ता, दत्तिवललगायत वनस्पतिको प्रयोग गरिने प्रशिक्षक रमा ढुंगानाले जानकारी दिइन्।
तालिमपछि किसानहरू आइपिएम पद्धतिबाट खेती गर्न दक्ष बनेको उनको भनाइ छ। किसानले उत्पादन गरेका वस्तुको बजारीकरणमा पनि संस्थाले सहयोग गर्ने व्यवस्था रहेको उनले बताइन्।
कृषक समूहकी अध्यक्ष हेमावती महत्तोले तालिमले किसानको सोचमा सकारात्मक परिवर्तन ल्याएको बताइन्। ‘पहिले अन्धाधुन्ध विषादी प्रयोग गथ्र्यौँ। यो तालिमले हाम्रो आँखा खोलिदिएको छ। अहिले बजारबाट ल्याइने तरकारी खानसमेत डर लाग्न थालेको छ,’ उनले भनिन्।
विषादीको अत्यधिक प्रयोगले वातावरण प्रदूषित भएको उल्लेख गर्दै उनले यस्ता सचेतनामूलक कार्यक्रम गाउँगाउँमा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याइन। विद्यालय तथा टोलस्तरमा पनि विषादीसम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो।
१६ हप्ते तालिममा रमा ढुंगाना, निशा सुवेदी, तेजेन्द्र पौडेल र प्रकाश जैसीलगायतले प्रशिक्षण दिएका थिए।
प्रकाशित: २५ जेष्ठ २०८३ १९:३२ सोमबार