अर्थ

बोनस बाँड्ने निगमको निणय फिर्ता

विज्ञान अधिकारी,  काठमाडौं, साउन ६- लामो समयदेखि घाटामा चलेको नेपाल आयल निगमले बोनस वितरण गर्ने निर्णय फिर्ता लिएको छ। निगमले २० करोड बोनस बाँड्न लागेको सार्वजनिक भएपछि फिर्ता गर्न ऊमाथि चौतर्फी दबाब परेको थियो।
निगमको बुधवार बसेको बोर्ड बैठकले कुल सञ्चित घाटा नसकिएसम्म बोनस बाँड्ने निर्णय रोक्का गरेको हो। निगमको वार्षिक साधारणसभाले बोनस बाँड्ने निणर्यलाई पारित गरेपछि वित्तीय विवरणमा रकम छुट्टाइएको हो। निगम सञ्चालक समितिले आर्थिक वर्ष २०६५र६६ को नाफाबाट १९ करोड ८८ लाख ४६ हजार १ सय ३२ रुपैयाँ बोनस दिने निर्णय गरेको थियो।

'निगमको कुल सञ्चिति घाटा पूर्ति नभएसम्म बोनस वितरण कार्य रोक्का गर्ने बोर्डले निर्णय गरेको छ,' निगमका कार्यकारी निर्देशक दिगम्बर झाले नागरिकसँग भने। आव २०६५ र ६६को वार्षिक प्रतिवदेनमा निगमको कुल सञ्चित घाटा ७ अर्ब ९२ करोड ९७ लाख छ भने त्यसै वर्ष निगमको कुल सम्पत्ति ७ अर्ब ६३ करोड ऋणात्मक छ।

'गत आर्थिक वर्षको वासलातमा आर्जन गरेको नाफाको ६ प्रतिशत बोनस व्यवस्था भए पनि सञ्चित नोक्सानी र ऋण रकम रहेकाले बानेस वितरण कार्य रोक्का गर्ने निर्णय भयो,' उनले भने, 'यो सञ्चित नोक्सानी पूरा नभई कुनै बोनस बाँडिने छैन।'

उनका अनुसार बोर्डले गरेको निर्णय कार्यान्वयनका लागि सरकारलाई आग्रह गरिने निर्णय भएको छ। बोनस ऐनअनुसार सञ्चित नोक्सानी भएको संस्थाले पनि कुनै वर्ष नाफा भए बोनस बाँड्न सकिने व्यवस्था छ।

यही ऐनअनुसार कर्मचारी युनियनले बोनस बाँड्न दबाब दिने आशंकाले सरकारलाई कार्यान्वनका लागि आग्रह गरिएको हो।

'बोर्डले बोनस बाँड्ने निर्णयलाई रोक्का गरे पनि कर्मचारी युनियनले दबाब दिए नैतिकरुपमा अप्ठ्यारोमा पर्ने भएकाले सरकारलाई कार्यान्वयनका लागि आग्रह गरेका हौं,' निगमका एक बोर्ड सदस्यले भने, 'यो निर्णयलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न यस्तो आग्रह गरिएको हो।'

अहिले पनि विभिन्न वित्तीय संस्थामा निगमको ११ अर्ब ४४ करोड ऋण बाँकी रहेकाले बोनस बाँड्ने निर्णय न्यायसंगत नभएको बोर्डले ठहर गरेको छ।

दुई वर्षअघि सञ्चित नोक्सानीमा गएको राष्ट्रिय वाणिज्य बैंकले नाफामा गएको समयमा बोनस ऐन अनुसार नाफा खाएका थिए। अर्थ मन्त्रालयले सञ्चित नोक्सानीमा गएको संस्थाले कुनै समयमा नाफा कमाएमा बोनस खाने निर्णय अव्यवहारिक भएको भन्दै श्रम तथा यातायात मन्त्रालयमा संशोधन प्रस्ताव पठाएको थियो।

यो संशोधन प्रस्तावको कुनै जवाफ नआएपछि सञ्चित नोक्सानीमा रहेको संस्थानले कुनै वर्ष नाफा गए बोनस खाने गरेका छन्। निगमको सञ्चालक समितिले बोनस बाँड्ने निर्णयसँगै अख्तियार दुरुपयोग आयोगले मंगलबार बोनस बाँड्ने निर्णय तत्काल रोकेर लेखापरीक्षण गरिएका सबै कागजपत्र २४ घन्टा भित्र पेस गर्न निर्देशन दिइसकेको छ। निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ४० अमेरिकी डलर प्रतिब्यारेलमा झरेकाबेला स्थानीय बजारमा भाउ नघटाएर त्यति नाफा कमाएको थियो।

निगमले ४० डलर भन्दा कम कच्चा तेलको मूल्य आउँदा उसले ७० डलर बराबरमा उपभोक्तालाई बिक्री गरेको थियो। करिब दस वर्षअघि निगमले यस्तै रवैया अपनाएको थियो। अन्तर्राष्ट्रिय बजार भाउ घटेको मौका छोपेर एकैचोटि प्रतिकर्मचारी ३० महिना बराबरको तलब बाँडिएको थियो। त्यही घटनाको उदाहरण दिँदै आजसम्म निगमको आलोचना भइरहन्छ।

प्रकाशित: ५ श्रावण २०६७ २२:२८ बुधबार