सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षमा दुई सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ। मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी आगामी आर्थिक वर्ष २०८२/८३ मा एक सय वटा झोलुङ्गे पुल मर्मत, ४० वटा नयाँ सडक पुल निर्माण र ३० वटा सडक पुल मर्मत गर्ने लक्ष्य लिइएको जनाएको हो।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद मैनालीले तीन तहका सरकारको समन्वय र सहकार्यबाट लक्षित झोलुङ्गे पुल निर्माण गरिने उल्लेख गरे। उनका अनुसार आगामी आव २४९ वटा सिँचाइ आयोजना सम्पन्न भएर तीन हजार ७०० हेक्टर जमिन सिञ्चित हुनेछ।
यस्तै, १०० किलोमिटर सडक निर्माण हुने र ३०० किलोमिटर सडक कालोपत्र गरिनुका साथै ६० वटा स्थानीय प्रशासकीय भवन निर्माण गर्ने लक्ष्य लिइएको छ।
मन्त्रालयले उपत्यकाका नदी, खोला करिडोरमा १० किलोमिटर सडक स्तरोन्नति गर्ने, उपत्यकाका विभिन्न २६ स्थानमा सार्वजनिक जग्गा संरक्षण तथा पार्क निर्माण गर्ने लक्ष्य लिएको छ।
उपत्यकाका चार स्थान (जितपुर फेदी, डुकुछाप, इशान नयाँ सहर, ताथवी चलावुमा) जग्गा एकीकरणको भौतिक विकास योजना स्वीकृति भई जग्गा विकास कार्य सुरु गर्ने, सार्वजनिक जग्गा अतिक्रमण रोक्ने र अवैध संरचना हटाउने कार्यलाई प्राथमिकता दिने लक्ष्य लिइएको छ। उपत्यकाको व्यवस्थित सहरीकरणका लागि हरियाली प्रवर्द्धन, सचेतना, आकासे पानी सङ्कलन, वन तथा पोखरी संरक्षण गर्ने योजना समेटिएको छ।
सरकारले कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्डको स्टेडियमको दोस्रो चरणको निर्माण कार्य पनि छिट्टै सुरु भएको छ।
अतिविशिष्ट पदाधिकारीको आवास निर्माण कार्यअन्तर्गत सभामुख आवास निर्माण र प्रधानन्यायाधीश आवास निर्माण कार्य सुरु गर्ने योजना बनाइएको छ। भृकुटीमण्डपमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी स्थल तथा मनोरञ्जन पार्क निर्माण कार्य अघि बढाउने सरकारको लक्ष्य छ।
त्यस्तै, बागमती नदीमा सौन्दर्यकरणलाई निरन्तरता दिने, बागमती करिडोरको बल्खुदेखि गोकर्ण क्षेत्रसम्म सिसी क्यामेरा र स्ट्रिटलाइट जडान गरिने कार्ययोजना रहेको छ।
यसैबीच, सहरी विकास मन्त्रालयले चोभारको गल्छी कटान गर्ने हल्ला निराधार भएको स्पष्ट पारेको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका उपनिर्देशक उद्धव नेपालले गल्छी कटानबारे अनर्गल प्रचार भएको बताए।
सरकारले सिंहदरबारमा निर्माणधीन सङ्घीय संसद् भवनको चाँडो निर्माण सक्नेगरी पूर्ण क्षमतामा काम अगाडि बढाएको छ। सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले आगामी हिउँदे अधिवेशन सिंहदरबारबाटै सञ्चालन गर्नेगरी द्रुत गतिमा निर्माणको काम भइरहेको जानकारी दिए।
उनले भने, 'निर्माणाधीन संसद् भवनको अहिले धमाधम भित्री साजसज्जाको काम भइरहेको छ। चालु आर्थिक वर्षमा भित्री फिनिसिङ, रङरोगन, मेकानिकल काम सम्पन्न गरिनेछ। आगामी हिउँदे अधिवेशनमा बैठक सञ्चालन गर्न मिल्ने गरी काम गरिरहेका छौँ।' रासस
प्रकाशित: १९ असार २०८२ ०७:१४ बिहीबार