सुनसरी– मोरङ औद्योगिक करिडोरका उद्योगका प्राविधिकहरूलाई कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धी तालिम दिइएको छ । उद्योग संगठन मोरङको आयोजना, इन्स्योर परियोजनाको प्राविधिक सहयोग तथा राष्ट्रिय उर्जा दक्षता केन्द्रको सहकार्यमा कार्बन फुटप्रिन्ट असेसमेन्टसम्बन्धी तालिम दिइएको हो ।
सुनसरी मोरङ औद्योगिक करिडोरका विभिन्न उद्योग प्रतिष्ठानका प्राविधिकहरुको सहभागितामा प्राविधिक जनशक्तिको क्षमता र दक्षता अभिवृद्धिका लागि व्यवहारिक कार्बन उत्सर्जनको पहिचान, मापन तथा विश्लेषण, न्यूनिकरण गर्न सक्षम बनाउने र दिगो तथा लो कार्बन इण्डष्ट्री अभ्यासलाई प्रवर्द्धजन गर्ने उद्धेश्यका साथ तालिम आयोजना गरिएको संगठनले जनाएको छ ।
संगठनका अध्यक्ष नन्दकिशोर राठीले तालिमको समापनमा कार्बन उत्सर्जनको पहिचान, नियन्त्रण, ऊर्जा र कच्चा पदार्थको खपतको प्रभावकारीताका साथै कार्बन उत्सर्जन न्यूनीकरणका उपायहरू अवलम्बन गर्न तालिम सहयोगी भएको विश्वास व्यक्त गरे ।
उनले प्रविधिको विकाससंगै नयाँ चूनौतिहरु पनि थपिदै जाने भएकाले उद्योगमा कार्यरत प्राविधिकहरुलाई नयाँ प्रविधिहरु आत्मसात गर्नसक्ने गरी क्षमता विकास गर्न संगठनले यस प्रकारका तालिमहरु आयोजना गर्दै आएको बताए । सैद्धान्तिक र व्यवहारिक पक्षका विषयमा ७ दिन सम्म सञ्चालन गरिएको तालिममा ऊर्जाको उपयोग, दिगो उत्पादन र वातावरणमैत्री छवि निर्माण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियम पालना, नयाँ बजार पहुँच र प्रतिस्पर्धात्मक लाभ, व्यवसायीक सामाजिक उत्तरदायित्व जस्ता विषयहरु समावेश गरिएको संगठनले जनाएको छ ।
प्रकाशित: १५ असार २०८२ २०:१५ आइतबार