विराटनगर महानगरपालिकाले आगामी आर्थिक बर्ष २०८२-०८३ का लागि ४ अर्ब ४० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमा महानगरको आन्तरिक राजस्वबाट १ अर्ब ४० करोड संकलन हुने अनुमान गरिएको छ ।
मंगलबार उपप्रमुख शिल्पा निराला कार्कीले नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी, सूचना प्रविधि, वातावरण संरक्षण, महिला तथा बालबालिकाको सशक्तीकरणमा विशेष जोड दिइएको बताइन् ।
‘स्मार्ट कक्षा स्मार्ट विद्यार्थी’ भन्ने नाराका साथ शिक्षामा स्मार्ट बोर्ड, एआई, रोबोटिक्स, कोडिङ लगायतका प्रविधिमैत्री कार्यक्रम, मेगा विद्यालयको अवधारणा, कमजोर विद्यार्थीका लागि बुस्टर कक्षा सञ्चालनलगायत कार्यक्रम समावेश गरिएको उपप्रमुख कार्कीले जानकारी दिइन् । स्वास्थ्यतर्फ नगर अस्पताल रानीमा २४ घण्टा आपतकालीन सेवा, बर्थिङ सेन्टर, रेडियोलोजी, आयुर्वेद सेवा, डिजिटल स्वास्थ्य प्रणाली, अपाङ्गता भएका व्यक्तिहरूको निःशुल्क स्वास्थ्य बीमा र अटिजम सेवा केन्द्र विस्तार गरिने उल्लेख छ ।
महिलाको आर्थिक सशक्तीकरणका लागि सीपमूलक तालिम, बिउ पुँजी सहायता र हिंसामुक्त समाज निर्माण अभियान सञ्चालन गरिने जनाइएको छ । बालमैत्री नगर घोषणा, बाल विवाह न्यूनीकरण, शिक्षा र स्वास्थ्यमा पहुँच वृद्धि लगायतका कार्यक्रमहरू पनि अघि बढाउने नीति कार्यक्रम महानगरको छ । पूर्वाधारतर्फ रिङरोड, विशेष आर्थिक क्षेत्र, सडक मर्मत, जल निकास, फोहोरपानी प्रशोधन केन्द्र, विद्युत विस्तार, स्मार्ट सडक निर्माण लगायतका आयोजना अघि बढाइने उल्लेख छ ।
कर प्रणालीलाई प्रविधिमैत्री बनाउँदै करदाताको पहुँच विस्तार र कर छुट नीति पनि अगाडि बढाइने जनाइएको छ । महानगरले ‘एक घर एक रोजगारी’को नाराका साथ लक्षित वर्गका युवाहरूलाई सीपमुलक तालिम सञ्चालन गर्ने जनाएको छ ।
प्रकाशित: १० असार २०८२ १८:३८ मंगलबार