चितवनको भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार बढी बजेट ल्याएको छ ।
आइतबार १७औँ नगर सभामा उपप्रमुख चित्रसेन अधिकारीले अघिल्लो आर्थिक वर्षभन्दा झन्डै १ अर्ब कमको बजेट सार्वजनिक गरेका हुन् । महानगरपालिकाले गत आर्थिक वर्ष २०८१/८२ का लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजारको बजेट ल्याएको थियो ।
अधिकारीले आन्तरिक आयतर्फ १ अर्ब ८० करोड, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट २ अर्ब १५ करोड ७६ लाख २५ हजार, संघ सरकारको राजस्व बाँडफाँटबाट ३१ करोड ९१ लाख, बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट १४ करोड ४ लाख ४१ हजार गरी ४५ करोड ९५ लाख, जनसहभागिता तथा श्रमदानबाट ५ करोड, बैंक मौज्दात ७० करोड, सडक बोर्ड नेपालबाट ३ करोड रहने प्रक्षेपण गरिएको बताए ।
महानगरले सामाजिक सुरक्षा लगायत अन्तर सरकारी अख्तियारी शीर्षकमा १ अर्ब ३५ करोड रहने प्रक्षेपण महानगरको छ । महानगरले चालु आवमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकी रहेका योजनालाई भुक्तानीका लागि ६० करोड, विगत आर्थिक वर्षमा भएका योजनाको दायित्व तथा आर्थिक वर्ष २०८१/८२ मा बहु वर्षीय ठेक्का प्रणालीबाट भएको योजनाहरूको भुक्तानीका लागि २४ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।
२९ वटा वडालाई न्यूनतम ३ करोड २१ लाख १८ हजार ७ सय ७ देखि अधिकतम ३ करोड ४० लाख ३३ लाख ४ सय ९२ बजेट विनियोजन गरिएको छ । वडालाई न्यूनतम र सूत्रमा आधारित भएर दुई प्रकारबाट वडा स्तरीय सिलिङ निर्धारण गरेर बजेट विनियोजन गरेको छ ।
महानगरपालिकाले सहरी पूर्वाधार तर्फ १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । ठुला तथा रणनीतिक महत्त्व तथा गौरवका पूर्वाधार निर्माण गर्न एव सङ्घीय र बागमती प्रदेश सरकारबाट प्रस्तावित समपूरक र विशेष अनुदान अन्तर्गतका योजनाहरू कार्यान्वयनका लागि सो रकम विनियोजन गरिएको उनले बताए । मेयर विपन्न आवास कार्यक्रम निरन्तरता, हरियालीसहितको नमुना सडक निर्माण, सिँचाई, कल्भर्ट, ग्राभेल, ह्युमपाइप खरिद, कल्भर्ट सुधार निर्माण तथा विस्तार लगायतका शहरी सौन्दर्य र भू उपयोग तथा बस्ती विकाससम्बन्धी कार्यक्रम कार्यान्वयन गर्नका लागि ४ करोड ६५ लाख रुपैयाँ विनियोजन भएको छ ।
महानगरले कृर्षि तर्फ ९ करोड, शिक्षा तर्फ १० करोड ५० लाख, रोजगार प्रवर्द्धन तथा उद्यमशीलता विकास तर्फ १ करोड, पर्यटन तथा उद्योग वाणिज्य तथा सहकारी तर्फ १ करोड रुपैयाँ विनियोजन गरेको छ । यसै गरी महानगरका विभिन्न स्थानमा सिसी क्यामेरा जडानका लागि ४ करोड, कृषि तथा पशु विकासका लागि ९ करोड, शिक्षा विकासतर्फ १० करोड ५० लाख, नियमित मर्मत सम्भारमा ४ करोड, स्वास्थ्य सेवामा ३ करोड २५ लाख, गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि ४ करोड, विपद् व्यवस्थापनमा १ करोड ५० लाख, महानगरपालिकाको प्रशासनिक भवन निर्माण तथा इन्टेरियर कामका लागि ४ करोड बजेट विनियोजन गरेको छ ।
नीति तथा कार्यक्रम: ‘हरियाली सहर’ कार्यक्रमदेखि ‘वर पिपल’ रोप्ने अभियानसम्म
भरतपुर महानगरपालिकाले समृद्ध, स्वच्छ, सफा, हरियालीयुक्त र सुरक्षित सहर निर्माणलाई प्राथमिकतामा राखेको छ । महानगर प्रमुख रेनु दाहालले आज १७ औँ नगर सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा महानगरपालिकाले पूर्वाधार निर्माणलाई निरन्तरता दिँदै हरियाली प्रवर्धन र सुरक्षित महानगरका रुपमा विकास गर्न एकीकृत सहरी विकास गुरुयोजना तयार गरी व्यवस्थित, सन्तुलित र दिगो सहरी पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ । उनले यस वर्ष ‘हरियाली सहर’ कार्यक्रमदेखि ‘वर पिपल’ रोप्ने अभियानसम्म प्राथमिकता दिएको बताइन् । संघीय सरकारसँगको सह लगानीमा महानगरभित्रका वडा नम्बर २९, रामनगर, नारायणगढ र भरतपुर बजार क्षेत्रलाई समेट्ने गरी एकीकृत सहरी खानेपानी तथा ढल व्यवस्थापन आयोजना आ।व। ०८२÷०८३ बाट कार्यान्वयन प्रारम्भ गरिने महानगर प्रमुख दाहालले बताइन् ।
“उज्यालो भरतपुर” अभियान अन्तर्गत नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा निर्माणाधीन पहिलो र दोस्रो चरणको स्मार्ट सडक बत्ती, हाई मास्ट एवम् मिनी मास्ट बत्ती जडान र विस्तारको साथै मुख्य बजार क्षेत्रमा बिजुलीका तारहरूलाई भूमिगत प्रणालीमा लैजाने काम सम्पन्न गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
महानगरभित्रका पार्क, सामुदायिक वन तथा अन्य पर्यटकीय क्षेत्रहरूको अवलोकन गर्ने व्यवस्था गरी राजस्वको दायरामा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ । महानगर प्रमुख दाहालले सम्बन्धित निकायहरूको सहयोग तथा समन्वयमा साझा पूर्वाधार अवधारणा अनुसार नगरभित्रका विद्युत्, टेलिफोन, केबुल लाइन र इन्टरनेटका तारलाई भूमिगत गर्ने कार्यलाई निरन्तरता दिइने बताइन्
महानगरपालिकाभित्रका खोला तथा नाला संरक्षण अभियानलाई तीव्रता दिई केरूङ्गा घोल, पुङ्गी खोला, पोखरी, ताल, सिमसार क्षेत्रहरूको संरक्षण गरी आकर्षक पर्यटकीय करिडोरका रूपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
दियालो बङ्गला सङ्ग्रहालयलाई थप व्यवस्थित बनाइने
भरतपुर महानगरपालिकाले दियालो बङ्गला सङ्ग्रहालयलाई थप व्यवस्थित बनाउने भएको छ । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा सर्वसाधारणका लागि खुला गरिएको संग्राहालयलाई हरियाली पार्क र अन्य पर्यटकीय पूर्वाधार निर्माण गरी थप व्यवस्थित बनाइने नीति तथा कार्यक्रममा जनाइएको छ । यो सँगै देवनगर वन्यजन्तु उद्धार केन्द्र, राईनो चिल्ड्रेन पार्क, लक्ष्मीनारायण मन्दिर, प्रज्ञा स्मृति पार्क, रानिपोखरी, जोरकुसुम पार्क, देविस्थान पार्क लगायतलाई आकर्षक पर्यटकीय गन्तव्यको रूपमा प्रवर्धन गरिने महानगर प्रमुख दाहालले बताइन् । पटिहानी ईको पार्कलाई गुरुयोजना बमोजिम प्रदेश सरकारको सहकार्यका निर्माण बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
फोहोर व्यवस्थापनलाई प्राथमिकता दिइने
भरतपुर महानगरपालिकाले फोहरलाई स्रोतमा नै वर्गीकरण गर्न प्रेरित गरिनेछ ।वर्गीकरण नगरी फोहर उत्सर्जन गर्ने उत्सर्जकहरुलाई कडाइका साथ दण्ड जरिवाना गर्ने नीति अवलम्बन गर्ने जनाएको छ । अन्तिम विसर्जनका लागि ल्याइएका फोहाेरहरुलाई वातावरणमैत्री विधिबाट व्यवस्थापन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । सूचकमा आधारित वातावरणमैत्री घर, टोल, वडा घोषणा गर्ने कार्यक्रमलाई निरन्तरता दिइने प्रमुख दाहालले बताउनुभयो । आवश्यक मापदण्ड पूरा गर्ने वडाहरूलाई वातावरणमैत्री वडा घोषणा गरिने नीति लिइएको छ ।
“भरतपुर महानगर: हरियाली तथा स्वच्छ सहर” अवधारणालाई सार्थक बनाउन हरियाली एवं सरसफाइ वर्ष कार्यक्रम सञ्चालन गरी हरियाली प्रवर्धनका कार्यक्रमलाई टोल विकास संस्थाहरू समेतलाई परिचालन गरी सरसफाइ र हरियालीलाई तीव्रता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । मापदण्ड पुगेका सडक दायाँबायाँ वृक्षारोपण र नगरवासीलाई बहु वर्षीय एवम् फलफूलका बिरुवा निःशुल्क वितरण गरिने जनाइएको छ । “एक घर, दुई रुखको नीति” लाई घर निर्माण सम्पन्न प्रक्रियामै समावेश गरी प्रभावकारी कार्यान्वयन र उचित संरक्षणको व्यवस्था गरिने पनि जनाइएको छ । टोल टोलमा वर, पिपल रोप्ने अभियान सञ्चालन गरिने बताइएको छ ।
प्रकाशित: ८ असार २०८२ १६:४४ आइतबार