म्याग्दीमा यो वर्ष भिरमह उत्पादन ७५ प्रतिशतले घटेको छ। मह सिकारीहरूले विगतको तुलनामा निकै कम मह सङ्कलन भएको बताएका छन्।
अन्नपूर्ण गाउँपालिका–५ स्वाँतका मह सिकारी लोकबहादुर पाइजाले गत वर्ष एक हजार लिटर मह निकालेकोमा यसपालि जम्मा २०० लिटर मात्र भएको बताए। उनको टोलीले स्वाँत नजिकको छहरीभिर र छिसको टाउकोमा दुई दिन मह सिकार गरेको थियो।
हिउँदको खडेरी र मह सिकारको समयमा भएको वर्षातले मौरी चरन क्षेत्रमा जान नसक्दा गोलाको मह खाएकाले उत्पादन घटेको पाइजाले बताए। म्याग्दीको अन्नपूर्ण, रघुगङ्गा र धौलागिरि गाउँपालिकाको लेकाली क्षेत्रमा जेठमा भिरपहरामा मह सिकार गर्ने चलन छ।
वसन्त र शरद् ऋतु मह सिकारका लागि उपयुक्त समय मानिन्छ। वसन्तमा बेँसी र शरद्मा लेकमा मह सिकार गरिन्छ। धौलागिरि गाउँपालिका–२ खोरीयाका मह सिकारी मोतीप्रसाद पाइजाको टोलीले गत वर्ष दुई हजार लिटर मह निकालेकोमा यस वर्ष ५०० लिटर मात्र निकाल्यो।
धौलागिरिको गुर्जा, मुदी, रघुगङ्गाको चिमखोला, कुइनेमङ्गले, अन्नपूर्णको हिस्तानका भिरमा मह सिकार गर्ने टोलीहरूले पनि उत्पादन घटेको बताए। खोल्सानजिकको ओसिलो अक्करे पहाडको बीचमा भिरमौरीको वास हुन्छ। वनजङ्गलमा फुल्ने फूल भिरमौरीको आहारा हो। हिउँदमा न्यानो खोज्दै बेँसी झर्ने भिरमौरी गर्मी बढेसँगै माथिल्लो क्षेत्रमा बसाइँ सर्छन्।
डोरीको सहायताले जोखिमपूर्ण भिरमा झुन्डिएर निकालिने भिरमह प्रतिलिटर तीन हजारदेखि तीन हजार ५०० रुपैयाँमा बिक्री हुन्छ। स्वादिलो, स्वास्थ्यवर्द्धक र शक्तिवर्द्धक मानिने भिरमह धार्मिक कार्यमा पनि प्रयोग हुन्छ।
विदेश र सहरमा बस्नेहरूले भिरमह कोसेलीका रूपमा लैजान्छन्। भिरमौरीको गोला काट्न मह सिकारी डोरी (पराङ) मा झुन्डिन्छन्। मह निकाल्न भिरको माथि र तल दुई समूहमा सिकारी बाँडिन्छन्। माथिबाट डोरी झुन्ड्याउने र तलबाट मह थाप्ने काम हुन्छ।
महको चाका वरिपरि मौरी घेरिएर बसेका हुन्छन्। धुवाँ लगाएपछि मौरी भाग्छन्। त्यतिबेला मह निकाल्न विशेष सावधानी चाहिन्छ। पराङमा गएका सिकारीले गोलामा धुवाँ झोस्दा मौरीले टोक्ने डरले अन्य सिकारी रूख र ओडारमा लुक्छन्।
मौरी भागेपछि मात्र सिकारीले मह निकाल्न सजिलो हुन्छ। मुख्य सिकारीले हतियारले मह निकालेर डोरीको सहायताले भुइँमा ल्याउँछन्। रासस
प्रकाशित: ३१ जेष्ठ २०८२ ०७:५६ शनिबार