नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त भएकी छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आज बसेको बैठकले मास्केलाई कम्पनीको निमित्त प्रबन्ध निर्देशक नियुक्त गरेको हो । मास्के यसअघि कम्पनीको नायब प्रबन्ध निर्देशक थिइन् । मास्केले बुधबारबाटै निमित्त प्रवन्ध निर्देशकको जिम्मेवारी सम्हालेको टेलिकमका प्रवक्ता रबिन्द्र मानन्धरले जानकारी दिए ।
टेलिकमको बिलिङमा भ्रष्टाचार गरेको अभियोगमा प्रबन्ध निर्देशक संगीता पहाडी र पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आइतबार भ्रष्टाचार मुद्दा दायर गरेपछि उक्त पद खाली थियो ।
यो पनि पढ्नुहोस्
नेपाल टेलिकमकी प्रबन्ध निर्देशकसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
पदभार ग्रहण गर्दै नवनियुक्त निमित्त प्रबन्ध निर्देशक मास्केले विषम परिस्थितिमा आफूप्रति नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रदान गरेको जिम्मेवारीलाई सबैको साथ र सहयोग लिएर पूरा गर्दै कम्पनीको प्रगतिका लागि अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरिन् ।
प्रकाशित: २८ जेष्ठ २०८२ १७:१९ बुधबार