अर्थ

दुई दशकदेखि अघि बढेन पेट्रोलमा इथानोल मिसाउने योजना

सरकारले दुई दशक अघिदेखि पेट्रोलियम पदार्थमा इथानोल मिश्रण गर्ने योजना बनाए पनि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन। पेट्रोलमा इथानोल मिसाउन सके वार्षिक करिब साढे १२ अर्ब रूपैयाँको पेट्रोल आयात घट्ने भए पनि इथानोल मिसाउने काम अलपत्र छ।

भारतले धेरै वर्ष पहिलेदेखि पेट्रोलमा इथानोल मिश्रण गरेर उपभोक्तालाई पेट्रोल बिक्री गर्दै आएको भए पनि नेपालले प्रयोगमा ल्याउन सकेको छैन। इथानोल बर्निङ पावरयुक्त प्रज्ज्वलनशील पदार्थ हो। इथानोलले इन्जिनबाट हुने उत्सर्जन कम गराएर प्रदूषण घटाउँछ। यो उखु, पराल, सुकेका घाँसलगायतका वस्तुबाट उत्पादन गर्न सकिन्छ। नेपालमा भारतबाट पेट्रोल आयात गर्नुपर्ने भएकाले विदेशी मुद्राको समेत बचत हुन्छ।

२०६० सालमै पेट्रोलमा इथानोल मिसाउने योजना सरकारले बनाएको थियो। उत्पादन र प्रयोगबारे कार्यविधि बनेर कार्यान्वयनमा नआउँदा पेट्रोलियम पदार्थमा इथानोल मिश्रण गर्ने नीति लिएर पनि सरकारले कार्यान्वयनमा ल्याउन सकेको छैन।

पेट्रोलमा इथानोल मिश्रण गर्नका लागि कार्यविधि तयार गरेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेस गरेको नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले बताए। पेट्रोलमा इथानोल मिश्रण गरेर बिक्री गर्न सके आयात कम हुने नेपाल भट्ट बताउँछन्। ‘कार्यविधि बनाएर मन्त्रालयमा पेस गरेका छौं,’ भट्टले भने, ‘सरकारले स्वीकृत गरेर इथानोल उत्पादन सुरु गरे मिश्रण गर्न सकिन्छ।’

पेट्रोलमा इथानोल मिश्रण गर्न सके विदेशबाट आयात हुने वार्षिक करिब साढे १२ अर्ब रूपैयाँ मूल्य बराबरको पेट्रोल आयात घटाउन सकिने अध्ययनले देखाएको छ। आयल निगमको अध्ययनमा पेट्रोलमा इथानोल मिश्रण गरेर बिक्री गरे मुलुकमा दैनिक चार लाख लिटर पेट्रोल खपत घट्छ।

नेपालमा दैनिक करिब ४० लाख लिटर पेट्रोल खपत हुन्छ। पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गर्न सकिन्छ। यसरी हेर्दा एक वर्षमा १४ करोड ४० लाख लिटर पेट्रोलको आयात कम गर्न सकिन्छ। आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोल आयात गरेर बिक्री गर्दै आएको छ।

निगमले प्रतिलिटर पेट्रोल खरिद गर्न आइओसीलाई करिब ८५ रूपैयाँ भुक्तानी गर्छ। पेट्रोलमा इथानोल मिश्रण गर्न सके वार्षिक १४ करोड ४० लाख लिटर पेट्रोल आयात घट्छ। पेट्रोलको खरिद मूल्यलाई आधार मान्दा यो करिब १२ अर्ब ४१ करोड रूपैयाँ हुन्छ।

सरकारले यो वर्ष पनि पेट्रोलको आयात घटाउनका लागि पेट्रोलमा वायोइथानोला मिश्रण गर्ने घोषणा त गरेको छ। अर्थमन्त्री विष्णु पौडेल प्रदूषण नियन्त्रण र पेट्रोलको आयात न्यूनीकरण गर्न वायोइथानोल मिश्रण गर्ने योजना आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा राखेका छन्।

इथानोल कृषिजन्य वस्तुबाट उत्पादन हुने भएकाले सरकारले प्रोत्साहन गर्नुपर्ने कार्यकारी निर्देशक भट्ट बताउँछन्। ‘किसानलाई आयआर्जनको माध्यम पनि हुन्छ,’ भट्टले भने, ‘वातावरण प्रदूषण न्यूनीकरण र किसानको आयआर्जनमा पनि टेवा पुग्छ।’

भारतले सन् २०३० सम्ममा इथानोलको प्रयोग कम्तीमा ३० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ। भारत सरकारले इथानोल उत्पादनलाई प्रोत्साहित गर्ने नीति लिएको छ। इथानोलको मिश्रणलाई वातावरण मैत्री पनि मानिन्छ। भारतमा बिक्री हुने पेट्रोलमा ठाउँ अनुसार १२ देखि २० प्रतिशतसम्म इथानोल मिसाउने गरिएको छ।

नेपालमा इथानोल उत्पादन भए प्रयोग गर्न कुनै जटिलता नभएको कार्यकारी निर्देशक भट्ट बताउँछन्। ‘किसानले उत्पादन गरेर सरकारले मूल्य निर्धारण गरे निगम प्रयोग गर्न तयार छ,’ उनले भने।

सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गरिरहेको अवस्थामा इथानोलको प्रयोगका विषयमा गहन छलफल गर्नुपर्ने पेट्रोलियम व्यवसायी बताउँछन्। पेट्रोलियम पदार्थमा इथानोलको मिश्रणबारे गम्भीर छलफल आवश्यक रहेको बताउँदै आएका छन्।

पेट्रोलियम पदार्थमा इथानोल मिश्रण गर्न सकिने भए पनि उपभोक्ता र वातावरणमैत्री हुनुपर्छ। इथानोल मिश्रण गर्दा वातावरण र उपभोक्तालाई ध्यान दिनुपर्छ।

प्रकाशित: २३ जेष्ठ २०८२ ०८:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App