पश्चिम क्षेत्रमा पर्यटकीय गतिविधि बढाउन नेपालगन्जमा वेष्टर्न ट्राभल मार्ट(डब्लुटिएम)को तेस्रो संस्करणको तयारी गरिएको छ । नेपाल एशोसिएशन अफ टूर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँकेको संयोजनमा यही जेठ २४ देखी २६ गतेसम्म सञ्चालन हुन लागेको हो ।
(नाट्टा) बाँकेका अध्यक्ष एवम् वेष्टर्न ट्राभल मार्ट आयोजक मूल समितिका संयोजक श्रीराम सिग्देलले मार्टले नेपालगन्जलाई कर्णाली प्रदेशको पर्यटन प्रवेशद्वारको रुपमा स्थापित गर्दै बाँकेलाई पर्यटकीय गन्तव्यको जिल्ला बनाउने लक्ष्य लिएको बताए ।
नेपालगन्जमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले मार्टको तेस्रो संस्करणमा भारतका महत्त्वपूर्ण पर्यटकीय सहरहरू बनारस, अयोध्या, लखनउ र गोरखपुरबाट ४० भन्दा बढी टुर अपरेटरहरूको सहभागिता रहने निश्चित भएको जानकारी दिए । भारतीय ट्राभल टुर अपरेटर, इन्फ्ल्युन्सर, पत्रकार, ब्लगर र सामाजिक सञ्जाल प्रयोगकर्ता तथा देशभरबाट पर्यटन व्यवसायीहरू पनि सहभागी हुने उनले बताए ।
उक्त मार्टमा टुर अपरेटर र पर्यटन व्यवसायीहरू बिच व्यवसायिक सम्बन्ध स्थापना र सहकार्यका लागि अनुभव आदान–प्रदान गरिनेछ । यस्तै सहभागीहरूलाई बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको परिचयात्मक भ्रमण गराइनेछ । यसले यस क्षेत्रको प्राकृतिक सौन्दर्य र वन्यजन्तुको विविधतालाई उजागर गर्नेछ ।
‘कर्णाली नदीमा र्याफ्टिङको अनुभव प्रदान गरिनेछ, जसले साहसिक पर्यटनलाई प्रवर्द्धन गर्नेछ,’ संयोजक सिग्देलले भने ‘परम्परागत स्थानीय रैथाने परिकारहरूको प्रदर्शनी गरिनेछ, जसले यस क्षेत्रको सांस्कृतिक विविधतालाई दर्साउनेछ, त्यसका लागि पहिलो पटक त्रिभुवन चोकमा नेपालगन्ज स्ट्रिट फुडलेन गरिँदै छ ।’
मार्टमा सहभागी हुन आएका पर्यटन व्यवसायीलाई नेपालगन्जमा रहेका क्यासिनो र प्रमुख होटलहरुको भ्रमण गराइने आयोजकले जनाएको छ । ट्राभल मार्टले नेपालगन्ज र समग्र लुम्बिनी प्रदेशको पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ । ‘मार्टको निरन्तरता र विशेषताले मुख्यतः भारतसँग नेपालको पर्यटकीय सम्बन्धलाई अझ सुदृढ पार्दै यस क्षेत्रको आर्थिक विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ,’ संयोजक सिग्देलले थपे।
नाट्टाका पुर्वकेन्द्रिय अध्यक्ष अच्युत गुरागाईँले वेष्टर्न ट्राभल मार्ट तेस्रो संस्करणसम्म आईपुग्नमा सबैको उत्तिकै योगदान रहेको बताए । ‘यस मार्टलाई नेपालकै उत्कृष्ट बनाउन सक्छौँ, यसका लागि नेपाल पर्यटन बोर्डले पनि आवश्यक सहयोग गर्नुपर्छ,’ उनले भने ‘तेस्रो संस्करण सम्पन्न भएपछि यो मार्टलाई स्थापित भएको मान्न सकिन्छ ।’ नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष नन्दलाल बैश्यले वेष्टर्न ट्राभल मार्टले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास गरे ।
प्रकाशित: २२ जेष्ठ २०८२ १८:२६ बिहीबार