सरकारले बजेटको आकार वृद्धि गर्दै गए पनि राजस्व अपेक्षित रूपमा नबढ्दा सार्वजनिक ऋण बढ्दै गएको छ। सार्वजनिक ऋण पौने २७ खर्ब रुपैयाँ पुगिसकेको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ मा करिब ६ खर्ब सार्वजनिक ऋण लिनेगरी बजेट बनाएका छन्।
अर्थमन्त्री पौडेलले आगामी आवमा वैदेशिक ऋण २ खर्ब ३३ अर्ब र आन्तरिक ऋण ३ खर्ब ६२ अर्ब रूपैयाँ लिने गरी बजेट प्रस्तुत गरेका छन्। यसरी हेर्दा आगामी आवमा कुल ५ खर्ब ९५ अर्ब ऋण लिने सरकारको योजना देखिन्छ। पछिल्ला ६ वर्षमा सार्वजनिक ऋण करिब १६ खर्ब रुपैयाँले बढेको छ। अहिले सरकारको सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब ४ करोड रुपैयाँ पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख छ।
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको सरकारले १३ खर्ब १५ अर्ब राजस्वबाट उठाए पनि बाँकी रकम वैदेशिक अनुदान, विदेशी ऋण र आन्तरिक ऋणबाट पूर्ति गर्ने लक्ष्य राखेको छ। राजस्व कम उठेपछि सरकारले आन्तरिक तथा बाह्य ऋण लिएर विकास निर्माणसहित अन्य खर्च गर्दै आएको छ। राजस्वबाट सरकारको खर्च भरथेग नभएपछि ऋणको भार बढ्दै गएको हो।
चालु आर्थिक वर्ष २०८१/८२ को सुरुमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको थियो। गत वैशाख मसान्तसम्म आउँदा यसमा १ खर्ब ८८ अर्ब ३० करोड रूपैयाँ थपिएको छ। चालु आवमा सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५१.६९ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४८.३१ प्रतिशत रहेको अर्थ मन्त्रालयले जनाएको छ।
कहाँबाट आम्दानी हुन्छ, कति आम्दानी हुन्छ, आम्दानीको खर्च कहाँ र कसरी हुन्छ भन्ने सबै स्पष्ट रहेको अर्थमन्त्री विष्णु पौडेलले बताए। ‘अन्तर्राष्ट्रियस्तरबाट प्राप्त हुन सक्ने सहयोग सीमाको पाटोलाई पनि हेक्का राखेका छौं,’ अर्थमन्त्री पौडेलले भने, ‘आन्तरिक ऋण पनि राष्ट्रिय वित्त आयोगले दिएको सुझावभित्र रहेर प्रक्षेपण गरिएको छ।’
पछिल्ला वर्षमा सार्वजनिक ऋणको भार निकै बढेको छ। आर्थिक वर्ष २०७५/७६ सम्म आन्तरिक तथा बाह्य ऋण १० खर्ब ४८ अर्ब मात्रै रहेकोमा आव २०८०/८१ को अन्त्यसम्म आइपुग्दा कुल ऋण २४ खर्ब ३४ रुपैयाँ पुगेको थियो। पछिल्ला वर्षमा आन्तरिक तथा बाह्य ऋण लिने प्रवृत्ति ह्वात्तै बढेको छ। मुलुकमा सार्वजनिक ऋणको दायित्व दिनानुदिन बढ्दै गएको छ।
आव २०७६/७७ मा १४ खर्ब ३३ अर्ब ४० करोड रूपैयाँ सार्वजनिक ऋण थियो। त्यो बेला एकै वर्षमा तीन खर्बभन्दा धेरै सार्वजनिक ऋण बढेको थियो। सार्वजनिक ऋण आव २०७७/७८ मा १७ खर्ब ३७ अर्ब आठ करोड रूपैयाँ पुगेको थियो। आव २०७८/७९ मा झन्डै साढे दुई खर्बभन्दा धेरै सार्वजनिक ऋण बढ्यो। आव २०७९/८० मा आइपुग्दा सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड रूपैयाँ पुग्यो।
आर्थिक क्रियाकलाप विस्तार भएकाले राजस्वमा केही सुधार भए पनि अपेक्षित छैन। सार्वजनिक खर्चको तुलनामा राजस्व परिचालन पर्याप्त नभएकाले स्रोत परिचालनको दबाब पर्न गई सार्वजनिक ऋणको आकार बढ्दै गएको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार स्रोत व्यवस्थापनलाई प्रभावकारी बनाई ऋणमाथिको निर्भरता कम गर्दै वित्तीय स्थायित्व कायम गर्न आवश्यक छ। प्रदेश र स्थानीय तहको आन्तरिक स्रोत परिचालन न्यून रहँदा संघीय सरकारमाथिको निर्भरता बढ्न जाँदा स्रोतको चाप परी ऋण बढेको हो।
सार्वजनिक ऋण बढेको विषयमा संसद्मा पनि सरकारको आलोचना हुँदै आएको छ। सरकारले लिएको ऋण प्रतिफल आउने आयोजनामा लगानी गर्नुपर्ने सरोकारवाला बताउँछन्। पोखरा, भैरहवा विमानस्थललगायत ठुला आयोजनामा ऋण लिएर गरेको लगानीबाट ‘रिटर्न’ नआउँदा पनि समस्या भएको छ।
ऋण लिएर लगानी गरेका परियोजनाबाट रिटर्न आएन भने जोखिम हुन्छ। सचेततापूवर्क ऋण लिन विज्ञले सुझाव दिँदै आएका छन्। चालु खर्च धान्न कठिन हुँदा सरकारले विकास खर्चका लागि आन्तरिक र बाह्य ऋण लिने गरेको छ। सरकारले राजस्व संकलन वृद्धि गर्न नसक्दा वैदेशिक र आन्तरिक ऋण लिनेगरी बजेट बनाउने गरेको छ। सरकारले बजेट बनाउँदा नै राजस्व, वैदेशिक सहायता, आन्तरिक र बाह्य ऋण कति लिने भने लक्ष्य निर्धारण गरेको हुन्छ।
चालु आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रूपैयाँको बजेट विनियोजन गरेको थियो। जुन बजेटका लागि राजस्वबाट १२ खर्ब ६० अर्ब ३० करोड, वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड रूपैयाँ बेहोर्ने लक्ष्य राखिएको छ। राजस्व र वैदेशिक अुनदानबाट अपुग ५ खर्ब ४७ अर्ब ६७ करोड रूपैयाँ आन्तरिक तथा वैदेशिक ऋणबाट परिपूर्ति गर्ने बजेटमा उल्लेख छ। चालु आर्थिक वर्षमा २ खर्ब १७ अर्ब ६७ करोड रूपैयाँ वैदेशिक ऋण र ३ खर्ब ३० अर्ब रूपैयाँ आन्तरिक ऋणबाट बेहोर्नेगरी बजेट ल्याइएको। अहिले मध्यावधी समीक्षामार्फत त्यसमा संशोधन गरिएको छ।
सामान्यतया सरकारले देशभित्र तथा बाहिरबाट लिने ऋणलाई सार्वजनिक ऋण भनिन्छ। स्वदेशभित्रैबाट लिइने ऋणलाई आन्तरिक र देशभन्दा बाहिरबाट लिइने ऋणलाई बाह्य ऋण भनिन्छ। खासगरी सार्वजनिक ऋण सरकारी घाटा बजेट परिपूर्ति गर्न लिने गरिन्छ।
प्रकाशित: १८ जेष्ठ २०८२ ०६:१७ आइतबार