लुम्बिनी प्रदेशका सांसदहरूले पर्यटन पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न सरकारसँग आग्रह गरेका छन्।
लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले आगामी वर्षका लागि विनियोजन हुने बजेट र तर्जुमा हुने योजनाका विषयमा सुझाव लिन आयोजना गरेको कार्यक्रममा सांसदहरूले प्रदेशको आर्थिक समृद्धिका लागि पर्यटन विकास अपरिहार्य रहेको र यसका लागि पर्यटन पूर्वाधार विकास अपरिहार्य रहेको बताए।
ससाना योजनामा लगानी नगरेर ठूला पर्यटकीय स्थलहरूमा मात्रै लगानी गरिनुपर्ने उनीहरूको सुझाव थियो। पर्यटन क्षेत्रमा हुने लगानीले प्रतिफल समेत दिलाउनुपर्ने भन्दै उनीहरूले प्रतिफल दिने खालका पर्यटकीय क्षेत्रहरूमा मात्रै लगानी गरिनुपर्ने सुझाव दिए।
‘प्रमुख पर्यटकीय स्थलहरू छनोट गरौँ र यस्ता प्रमुख थलोहरूमा मात्रै लगानी गरौँ,’ एमाले लुम्बिनी प्रमुख सचेतक तुलसी चौधरीले भने, ‘सरकारले गर्ने लगानीबाट प्रतिफल आउने हिसाबले योजना तर्जुमा गर्न जरूरी छ।’ यसैगरी कांग्रेसका सांसद भुवनेश्वर चौधरीले लुम्बिनीका प्रतिक्षित पर्यटकीय स्थलमा लगानी गर्नुका साथै अधूरा योजनाको पूर्णतामा ध्यान दिइनुपर्ने बताए। ‘नयाँ ठूला योजनामा लगानी गरेर पर्यटन प्रवर्द्धन गर्ने कुरा त भइहाल्यो,’ चौधरीले भने, ‘यसका साथै अधूरा पुराना योजनालाई पनि पूर्णता दिइनुपर्छ, अधूरा योजना रहनुले प्रदेश सरकारमाथि नै प्रश्न उठ्छ।’
यसैगरी कांग्रेसका अर्का सांसद तथा पूर्वमन्त्री बीरबहादुर रानाले बजेटको उचित व्यवस्थापन हुने गरी योजनामा लगानी गरिनुपर्ने बताए। ‘बजेट धेरै थोरै जे भए पनि प्राथमिकता निर्धारण गरेर योजनामा लगानी गरौँ,’ उनले भने, ‘प्रमुख पर्यटकीय गन्तव्य पहिचान गरेर लगानी गर्ने वातावरण बन्यो भने पर्यटकीय पूर्वाधारमा टेवा पुग्छ।’
यसैगरी नागरिक उन्मुक्तिका सांसद राजकुमार चौधरीले पर्यटकहरूको आगमन बढाउनका लागि प्रचारप्रसार आवश्यक रहेको बताए। यसका लागि पर्यटकीय स्थलहरूको चिनारी विमानस्थलहरूमा राखिनुपर्ने सुझाव दिए।
यसैगरी उद्योग क्षेत्रका बारेमा सुझाव दिँदै सांसदहरूले नयाँ उद्यमीहरूलाई प्रोत्साहन गर्ने गरी एक वर्षसम्मको कर छूटको व्यवस्था गरिनुपर्ने सुझाव दिए। साथै उनीहरूले हाल रुग्ण अवस्थामा रहेका उद्योगहरूलाई चलायमान बनाउनका लागि सहुलियतको व्यवस्थापन गरिनुपर्ने सुझाव दिए। ‘नयाँ उद्यमीहरूलाई प्रोत्साहन गर्नका लागि एक वर्षसम्मको कर छूटको व्यवस्था सरकारले गर्नुपर्छ,’ कांग्रेस सांसद भुवनेश्वर चौधरीले भने, ‘रुग्ण अवस्थाका उद्योगहरूलाई समेत चलायमान बनाउनका लागि उनीहरूलाई सहुलियतको व्यवस्था गरिनुपर्छ।’
कार्यक्रममा बोल्दै उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले उद्योग, पर्यटन र यातायात व्यवस्था क्षेत्रको उचित व्यवस्थापन हुने गरी बजेट विनियोजन गरिने बताए। ‘उद्योग, पर्यटन र यातायात व्यवस्था क्षेत्रको समुचित विकासका लागि मन्त्रालय गम्भीर छ, सोहीअनुसार बजेट निर्धारण हुनेछ,’ मन्त्री न्यौपानेले भने, ‘पर्यटन विकासका लागि ठूला योजनाहरूमा लगानी गरेर प्रतिफल आउने वातावरण निर्माण गरिनेछ।’
बाह्य पर्यटकहरूको आगमन बढाउनु चुनौती रहेको भन्दै मन्त्री न्यौपानेले आगामी वर्ष धेरै पर्यटकहरूलाई भित्र्याउने योजनामुताबिक बजेट सुनिश्चितता गरिने बताए। लुम्बिनीको पर्यटन विकासका लागि लुम्बिनी विकास प्राधिकरण निर्माण गरिने मन्त्री न्यौपानेको भनाइ छ।
प्रकाशित: १५ जेष्ठ २०८२ २१:१३ बिहीबार