अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२÷८३ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको लागि १३ अर्ब २८ करोड बजेट विनियोजन गरेका छन्। बिहीबार प्रस्तुत बजेट भाषणमा उक्त कुरा उल्लेख छ।
बजेट भाषणमा ‘पूर्वाधारको विकास, गुणस्तरीय सेवा विस्तार र बजारीकरणका माध्यमबाट नेपाललाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यको रूपमा ब्रान्डिङ गर्ने’ कुरा उल्लेख छ। यस्तै छिमेकी मुलुकका पर्यटकलाई लक्षित गरी प्रवर्द्धनका विशेष प्याकेज सञ्चालन गरिने भनिएको छ।
यस्तै पर्या–पर्यटन, पर्वतीय तथा साहसिक पर्यटन, धार्मिक र सांस्कृतिक पर्यटनका प्रमुख गन्तव्य स्थलहरूमा पर्यटक लक्षित सेवा बिस्तार गर्ने भनिएको छ। ‘प्राकृतिक, सांस्कृतिक, साहसिक चलचित्र, आरोग्य र खेलमा आधारित पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिनेछ,’ बजेट भाषणमा भनिएको छ,‘स्थल मार्गबाट आउने पर्यटकहरूलाई लक्षित गरी स्वागत तथा सेवा केन्द्र स्थापना गरिनेछ ।’
यस्तै पर्यटकीय गन्तव्यको विकासमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने, राष्ट्रिय निकुञ्ज, आरक्ष तथा संरक्षित क्षेत्रमा जङ्गल सफारी, पदयात्रा र पर्या–पर्यटकीय पूर्वाधार विकासमा जोड दिइने, । प्रमुख पर्यटकीय क्षेत्रमा हिल स्टेसन, होटेल, लज, रिसोर्ट लगायतका पर्यटन पूर्वाधार निर्माणका लागि वन क्षेत्र लगायत सरकारी स्वामित्वको जमिन लिजमा दिने व्यवस्था गरिने कुरा भाषणमा उल्लेख छ।
यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न सुरक्षित पर्या पर्यटन पदमार्गहरूको विकास गरिने विषय बजेट भाषणमा समेटिएको छ।
शुक्लाफाँटा–खप्तड, बर्दिया–रारा, लुम्बिनी–मुक्तिनाथ, सौराहा– गोसाईंकुण्ड, जनकपुरधाम–कालिन्चोक, कोसी टप्पु सगरमाथा र केचना–पाथीभरा पदयात्रा सञ्चालन गर्ने कुरा पनि बजेटमा परेको छ।
यसै गरी खप्तड, रामारोशन, बडिमालिका, बुढी नन्दा, रारा, स्वर्गद्वारी र मुक्तिनाथसम्मको पर्या पर्यटन पदमार्ग विकास गरिने विषय अर्थमन्त्री पौडेलले समेटेका छन्।
यस्तै हिमाल आरोही तथा पदयात्रीको सुरक्षा र आकस्मिक उद्धारको भरपर्दो व्यवस्था मिलाइने बजेट भाषणमा परेको छ। होटेल तथा रिसोर्टलाई उत्पादनमूलक उद्योगसरह आयकर तथा विद्युत् महसुल छुट दिने घोषण गरिएको छ।
‘सगरमाथा, पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम, मुक्तिनाथ, स्वर्गद्वारी, रारा, खप्तड लगायतका प्रमुख धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यहरूमा पूर्वाधार विकास गरिनेछ,’ बजेट भाषणमा उल्लेख छ।
यस्तै लुम्बिनी क्षेत्रको संरक्षण, विकास र प्रवर्द्धन गर्न बृहत् लुम्बिनी गुरुयोजना तयार गरी कार्यान्वयनमा लगिने, स्वयम्भूनाथ, हनुमान ढोका, पशुपतिनाथ र बौद्धनाथ क्षेत्रमा सन्ध्याकालीन सम्पदा मार्ग विकास गरिने विषय बजेटमा परेको छ।
यस्तै कर्णाली, भेरी, गण्डकी, त्रिशूली, कोसी लगायतका प्रमुख नदीहरूमा र्याफ्टिङलगायत पर्यटन प्रवर्द्धनका क्रियाकलाप सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहित गर्ने बुँदा पनि बजेटमा परेको छ।
यस्तै आगामी आर्थिक वर्षभित्र नेपाललाई हवाई उडान सुरक्षा सूचीबाट बाहिर ल्याउन आवश्यक कार्य गर्ने, आन्तरिक हवाई सेवालाई थप सुरक्षित र पहुँचयोग्य बनाउने बुँदा पनि बजेट भाषणमा समेटिएका छन्।
‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बढ्दो यात्रु चापलाई व्यवस्थापन गर्न क्षमता विस्तार गरी बुटिक विमानस्थलमा विकास गर्न ४ अर्ब १५ करोड विनियोजन गरेको छु,’ अर्थमन्त्री पौडेलले भने।
यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटकीय हबमा विकास गर्ने, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटक र श्रमिकको लागि किफायती हुने गरी सञ्चालनमा ल्याउन विमानस्थल परिसरमा आवश्यक सुविधा उपलब्ध गराउने विषय पनि बजेटमा परेको छ।
यस्तै वैकल्पिक विकास वित्तको उपयोग गरी निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाउने, झापाको भद्रपुर, दाङको टरिगाऊँ र ताप्लेजुङको सुकेटार विमानस्थलको क्षमता विस्तार गर्ने, सुर्खेतमा प्रादेशिक विमानस्थलको पूर्व तयारी सम्पन्न गरी निर्माण कार्य थालनी गर्ने, तेह्रथुमको चुहानडाँडा, डडेलधुराको अजयमेरु र उदयपुरको सगरमाथा विमानस्थलको विस्तृत आयोजना प्रतिवेदन तयार गर्ने विषय पनि बजेटमा समेटिएका छन्।
यस्तै उडान चाप कम भएका आन्तरिक विमानस्थलहरूको वैकल्पिक प्रयोग योजना बनाउने र त्यसमा निजी क्षेत्रसँगको साझेदारीमा हवाई उड्डयनसम्बन्धी तालिम तथा प्याराग्लाइडिङ, प्यारासुट, अल्ट्रा लाइट, स्काइडाइभिङ्ग जस्ता साहसिक पर्यटनमा प्रयोग गरिने विषय बजेट भाषणमा समेटिएका छन्।
प्रकाशित: १५ जेष्ठ २०८२ १८:०९ बिहीबार