देशभर फोहोर व्यवस्थापनको चुनौती बढिरहेको बेला दाङको राप्ती गाउँपालिकाले फोहोरबाट टायल उत्पादन सुरु गरेको छ। फोहोरलाई मोहर बनाउने नीतिअनुसार स्थानीय सरकार र निजी क्षेत्रको सहकार्यमा टायल उत्पादन सुरु भएको हो।
राप्ती गाउँपालिका–२ पुन्यपुरमा प्लास्टिकजन्य फोहोरबाट टायल, इन्टरलक र इँटा उत्पादन सुरु गरिएको छ। फोहोरलाई मोहर बनाउने नीतिअनुसार स्थानीय सरकार र निजी क्षेत्रको सहकार्यमा यस्ता सामग्री उत्पादन गर्न थालिएको हो।
राप्ती गाउँपालिका र इको फ्यामिली प्राइभेट लिमिटेड हेटौँडाको सहकार्यमा फोहोर व्यवस्थापन गरी नगल्ने फोहोरबाट टायल, इन्टरलक र अन्य सामग्री उत्पादन सुरु भएको इको फ्यामिली प्रालिका सुपरभाइजर लालबहादुर चौधरीले बताए।
सुपरभाइजर चौधरीका अनुसार, ‘फोहोरका रूपमा फालिने चाउचाउ, बिस्कुट, भोला, गुट्कालगायत प्लास्टिकबाट टायल, इन्टरलक, टाँक उत्पादन गर्ने योजना छ, तर पहिलो चरणमा टायल उत्पादन सुरु भएको छ।’
उत्पादित टायलको मूल्य ३५ रुपैयाँ तोकिएको छ। गाउँपालिकाभित्रका नागरिकलाई २० प्रतिशत छुट दिने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ।
लुम्बिनी प्रदेशको राजधानीसमेत रहेको राप्ती गाउँपालिकामा फोहोर व्यवस्थापनको चुनौती बढेपछि दीर्घकालीन योजना बनाइएको गाउँपालिका उपाध्यक्ष कमलापति चौधरीले बताए।
विक्रम संवत् २०७९ भदौमा भएको सम्झौताअनुसार गाउँपालिकाले फोहोर सङ्कलन गरेर स्रोत केन्द्रसम्म पुर्याउने र बाँकी फोहोर वर्गीकरणदेखि प्लास्टिक सामग्री र जैविक मल उत्पादनको काम उक्त कम्पनीले गरिरहेको छ। स्वच्छ र हरित पालिका निर्माण गर्ने अभियानअन्तर्गत फोहोरबाट प्लास्टिक सामग्री उत्पादनका लागि गाउँपालिकाले २ करोड २० लाख रुपैयाँभन्दा बढी लगानी गरेको उपाध्यक्ष चौधरीले बताए।
यो रकमबाट जग्गा तारबार र स्रोत केन्द्रका लागि दुईवटा घर निर्माण गरिएको छ। कम्पनीले प्रयोग नहुने फोहोरलाई कबाडमा बिक्री गर्छ र त्यसबाट गाउँपालिकाले निकासी कर लिन्छ। नौ वडा रहेको राप्ती गाउँपालिकाबाट दैनिक आठ ट्र्याक्टर फोहोर सङ्कलन हुन्छ। फोहोर सङ्कलनदेखि वर्गीकरणसम्म १८ जनाले रोजगारी पाएका छन्, जसमा ८ जना कम्पनी र १० जना गाउँपालिकाका तर्फबाट छन्। रासस
प्रकाशित: १३ जेष्ठ २०८२ १२:५६ मंगलबार