अर्थ

काँक्रा बेचेर ३० लाख कमाइ

देशमा रोजगार नभएर अधिकांश युवा विदेश पलायन भइरहेका बेला गुल्मीका एक युवाले भने गाउँमै कृषिमा महत्त्वपूर्ण उपलब्धि गरेका छन्। गुल्मीको छत्रकोट गाउँपालिका-५ खज्र्याङका ४० वर्षीय विष्णु भण्डारीले बाँझो जमिन सदुपयोग गर्दै कृषि पेसा सुरू गरेका हुन्। खज्र्याङको ४५ रोपनी जग्गामा उनले काँक्रा, लौका, तोराय, फर्सी, खुर्सानी लगायत तरकारी लगाएका छन्। खुकुरापालनसँगै मासु व्यवसाय समेत गरेका भण्डारीको मुख्य उत्पादन काँक्रा हो।

विसं २०७२ मा ‘घरेलु तथा साना उद्योग विकास कार्यालय’मा ‘पूर्णिमा कृषि तथा पशुपक्षी फर्म’ दर्ता गरेर व्यवसाय सुरू गरेका भण्डारीले गत साल मात्र सात लाख रूपैयाँको काँक्रा बेचे। सुरूआती चरणमा थोरैथोरै उत्पादन गरे पनि अहिले व्यवसाय फस्टाएको भण्डारी बताउँछन्।

 “गत वर्ष दुई हजार बोटमा फलेका काँक्राबाट सात लाख रूपैयाँ आम्दानी भयो,” उनले भने, “यो वर्ष १० हजार बिरूवा लगाएको छु, उत्पादन भएका सबै काँक्रा बिक्री हुँदा ३० लाख आम्दानी हुन्छ।”

दुई वर्ष अगाडिसम्म काँक्राको मूल्य प्रतिकेजी ४० रूपैँयासम्म थियो।

तर गत वर्ष मूल्य बढेर एक सय ४० रूपैयाँसम्म पुग्यो। जसले गर्दा उनको आम्दानी पनि बढेको छ। गत वर्ष भएको आम्दानीबाट प्रेरित भएर यो वर्ष बिरूवा थपेको भण्डारीले बताए। यो सिजनको लागि पनि काँक्रा तयार भइसकेका छन्।

गत मङ्सिर ३० गते रोपेका काँक्रा चैत १० बाट बिक्री सुरू भएका थिए। अहिलेको सिजनमा मात्रै उनले तीन सय क्विन्टल काँक्रा बेचेका छन्। अहिले फलेका काँक्रा सके अहिले नै सबै बिक्री गर्ने, नभए पाकेका पहेँला काँक्रा दसैँतिहारको समयमा अचारका लागि बिक्री गर्ने उनले बताए।

दसैँ–तिहारमा पनि बिक्री नभए बीउका लागि प्रयोग गर्ने भण्डारीको भनाइ छ। यो सिजनमा उनको एउटै बगैँचाबाट दैनिक १० क्विन्टलसम्म काँक्रा बिक्री भइरहेको छ। भण्डारीले काँक्रासँगै बेमौसमी मकै उत्पादन, कुखुरापालन र दुई पोखरीमा मत्स्यपालन पनि गरेका छन्। उनले सबै व्यवसायबाट खर्च कटाउँदा पनि मासिक न्यूनतम एक लाख रूपैँया बचत हुने बताए।

अहिलेको गर्मी मौसम भएकोले काँक्रो अत्याधिक बिक्री भइरहेको छ। आउँदाे असारसम्म काँक्रो बिक्री हुने सिजन छ। गर्मी सिजन सुरू भइसकेको हुँदा यस पटक बाहिरबाट जिल्लामा काँक्रो भित्रिसकेको छैन। जसले गर्दा बजारमा काँक्रोको माग अत्याधिक छ।

काँक्रो खानाको साथसाथै विवाह, महोत्सव तथा पाठपूजाको समयमा पनि प्रयोग हुन्छ। भण्डारीले यस पटक चार सय क्विन्टल काँक्रो उत्पादन गर्ने लक्ष्य लिएका छन्। उनले अहिले एक हजार बेमौसमी काँक्रोका थप बिरूवा लगाइसकेका छन्। उनको काँक्रा स्थानीय बजारका साथसाथै तम्घास, पाल्पा, बुटबल र काठमाडौंसम्म पुग्ने गरेको छ।

उनलाई घरपरिवारको पनि पूर्ण साथ मिलेको छ। घरपरिवारका चार जनाबाहेक थप चारजनालाई मासिक तलबमा काम दिएका छन्। पछिल्लो समयमा गाउँमा किसानलाई बाँदर, बदेँल, दुम्सी जस्ता वन्यजन्तुले बालीनालीमा हानीनोक्सानी गर्दै गएको अवस्था छ  तर भण्डारीले भने उक्त समस्या नभएको हुँदा कृषि उत्पादन गर्न सहज भएको बताउँछन्। भण्डारीको लोभलाग्दो कृषि कर्मले जिल्लामा युवा शक्तिबाट किसानलाई थप हौसला मिलेको छ। “गर्न सके गाउँमै थुप्रै सम्भावना छन्,” भण्डारीले भने।

राज्यले टनेल दिए हुन्थ्यो

काँक्रा बिक्री गरेर आम्दानी लिन जति सजिलो छ, उत्तिकै मेहनत उत्पादन गर्न पनि छ। वर्षा धेरै हुँदा र बिक्री नहुँदा उनले थुप्रै पटक घाटा पनि सहनुपर्‍याे। काँक्राको लागि टनेल आवश्यक पर्नेमा उनले भने खुला चौरमा उत्पादन गर्दै आएका छन्।

वडा कार्यालयमा थुप्रै पटक टनेलका लागि आवेदन दिए पनि सहयोग नपाएको भण्डारीले सुनाए। “थुप्रै पटक धाएँ, पाइन,” उनले भने, “मकै सतप्रतिसत, नभए ५० प्रतिसतसम्म अनुदानमा हाइटेक टनेल दिए उत्पादन अझ बढाउने थिएँ।”

टनेल नहुँदा वर्षाको कारणले गत मात्रै पाँच क्विन्टल काँक्रा नोक्सान नभएको उनले बताए। सात लाखको काँक्रा बिक्री गरिसकेपछि थप पाँच क्विन्टल नोक्सान हुँदा धेरै मर्का नपरेको उनी बताउँछन्। “अब निरन्तर काँक्रा खेती गर्ने हो, अरू पेसा सहायक हुन्,” भण्डारीले भने,“यसमा राज्यको तर्फबाट केही सहयोग भए आभारी हुने थिएँ।”

प्रकाशित: १२ जेष्ठ २०८२ १२:४३ सोमबार

#nagarik