अर्थ

रारा पुग्ने पर्यटकको संख्या बढ्यो : १० महिनामा १३ हजार पुगे, राम्रो सडक नहुँदा समस्या

नेपालको प्रमुख पर्यटकीय गन्तव्य रारामा १३ हजारभन्दा बढी पर्यटक पुगेका छन्। गत साउनदेखि वैशाख मसान्तसम्म उनीहरूले रारा क्षेत्रको भ्रमण गरेका हुन्।

रारा राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त संरक्षण अधिकृत महेश न्यौपानेका अनुसार गत वैशाखसम्म रारा घुम्न आएका पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा बढेको छ। यो अवधिमा १२ हजार ७६१ आन्तरिक पर्यटक, ४५ सार्क राष्ट्रका र २०८ अन्य देशका पर्यटकले रारा घुमेका छन्।

आर्थिक वर्ष २०८०/८१ मा १७ हजार २९७ पर्यटकले रारा भ्रमण गरेका थिए। यस वर्ष वैशाखमै १३ हजारभन्दा बढी पर्यटक पुगेकाले असार मसान्तसम्म यो संख्या अघिल्लो वर्षभन्दा बढ्ने अनुमान न्यौपानेले गरेका छन्।

यस्तै, विभिन्न शीर्षकमा ४४ लाख ९१ हजार रुपैयाँ राजस्व संकलन भएको छ। निकुञ्ज कार्यालयले जेठ ५ गतेसम्म यो रकम संकलन गरेको हो, जसमा पर्यटन शुल्कबाट ३१ लाख २७ हजार रुपैयाँ प्राप्त भएको छ। आन्तरिक पर्यटकका लागि प्रतिव्यक्ति एक हजार, सार्क राष्ट्रका लागि एक हजार पाँच सय र अन्य विदेशीका लागि तीन हजार रुपैयाँ शुल्क तोकिएको छ।  

सडक सुधार नहुँदा रारा पुग्न कठिनाइ  
रारा मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष विष्णुबहादुर रावलका अनुसार कर्णाली राजमार्ग र नाग्म–गमगढी सडक सुधार भए पर्यटक संख्या अझै बढ्नेछ।  

उनी भन्छन्, ‘सडकको अवस्था खराब छ, ठूला गाडी गुड्न सडक साँघुरो छ, पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुन्छ। रारा विमानस्थलमा नियमित उडान भए कर्णाली प्रदेशको आर्थिक अवस्थामा सुधार आउनेछ।’

रारामा पर्यटकमैत्री पूर्वाधारको कमी छ। त्यसैले पर्यटक संख्या बढाउन र बसाइ लम्ब्याउन सरकारले बृहत् रारा विकास प्राधिकरण गठन गरी विकासमा ध्यान दिनुपर्ने आवश्यकता छ। रासस

प्रकाशित: १२ जेष्ठ २०८२ १२:१७ सोमबार

#mugu #NagarikNews #Rara lake