अर्थ

पर्यटन बोर्डको बजेटः पोखराका व्यावसायीको प्राथमिकतामा पुरानै कार्यक्रम

भारत, चीन र बंगलादेशमा प्रवर्द्धन प्राथमिकता

पोखराका लागि आवश्यक बजेटबारे पर्यटन बोर्डलाई सुझाउँदै पर्यटन व्यावसायी। तस्बिरः नागरिक

आर्थिक वर्ष २०८२/८३ का लागि बजेट बनाउँदै गर्दा पोखराका पर्यटन व्यावसायीले पर्यटन बोर्डसँग आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनमा जोड दिनेगरि पोखरालाई बजेट विनियोजन गर्न आग्रह गरेका छन्। पोखरा पर्यटकीय राजधानी भएको र पर्यटनमै ठूलो लगानी र सम्भावना भएकोले पनि पाहुना भित्र्याउने गरि प्रवर्द्धन गर्न बजेट आवश्यक पर्ने व्यावसायीले बताए।  

बोर्डले पोखराका पर्यटन व्यावसायीका छाता संस्था र अगुवासँग बजेटबारे गरेको छलफलमा व्यावसायीले बेलैमा बजेट ल्याएर प्रवर्द्धन गर्न सक्ने हो भने बल्ल पर्यटक भित्र्याउन सकिने बताए। ढिलागरि आएको बजेटले तोकिएका कार्यक्रम गर्न नसकिने उनीहरुको भनाई छ। तोकिएको समयभित्रै बजेट ल्याएर पर्यटकीय गतिविधि चलायमान बनाउने गरि गतिविधि गर्न उनीहरुको सुझाव छ।  

बोर्डसँगको छलफलमा रेस्टुरेन्ट एण्ड बार एशोसिएस अफ नेपाल (रेबान) पोखराका अध्यक्ष विश्वराज पौडेलले आन्तरिक र बाह्य प्रवर्द्धन हुनेगरि बजेटमा पोखरालाई प्राथमिकता दिन बोर्डसँग आग्रह गरेको बताए।

‘रेवानले प्रवर्द्धनमा बजेट खोजेको हो। पर्यटन प्रवर्द्धनका लागि पर्याप्त खर्च गर्नुपर्छ। आन्तरिक र बाह्य प्रवर्द्धन गर्ने हो भने पोखरामा पर्यटक आउँछन,’ उनले भने, ‘पर्यटन प्रवर्द्धन नभएसम्म पाहुना हुँदैनन।’

 रेवानले अंग्रेजी नयाँवर्षको स्वागतार्थ गरिने सडक महोत्सवमा प्रवर्द्धनकै कारण पाहुना भित्र्याउन सकेको पनि उनले बताए।  गण्डकी प्रदेशभित्रका गतिला गन्तव्यको प्रवर्द्धनका लागि विभिन्न भिडियो सामाग्रीहरु बनाएर प्रशारण गर्नुपर्ने र त्यसका लागि बजेटमा ध्यान दिनुपर्ने पनि रेवानको सुझाव रहेको उनले बताए। त्यसबाहेक पोखराका होटल र रेस्टुरेन्टमा कार्यरत कामदारका लागि विभिन्न सीपमुलक तालिम दिनका लागि पनि बजेट चाहिएको उनको भनाई छ। जनशक्ति अभाव भईरहेको बेलामा तालिम दिएर दक्ष जनशक्ति उत्पादन गर्न सकियो भने उनीहरुबाट बढी भन्दा बढी काम लिन सकिने रेवान अध्यक्ष पौडेलको भनाई छ।  

पोखरा पर्यटन परिषद् (पिटिसी) का अध्यक्ष तारानाथ पहारी पर्यटन बोर्डले सकेसम्म छिटो बजेट पास गर्न सकेमात्र प्रवर्द्धनात्मक गतिविधि सम्भव हुने बताउँछन्। नेपालको पर्यटन क्षेत्रको राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धनको मुख्य जिम्मेवारी लिएको पर्यटन बोर्डले गत मंसिर ५ गते बल्ल आर्थिक वर्ष २०८१/८२ को बजेट पास गरेको थिया। असार अन्तिम साताभित्र पास भईसक्नुपर्ने बजेट ढिलागरि पास हुँदा प्रवर्द्धनात्मक गतिविधिमा असर परेको उनले बताए।

‘भईरहेका कार्यक्रम पनि बजेट नहुँदा गर्न नपाउने अवस्था छ। त्यसैले बोर्डले समयमै बजेट पास गर्नुपर्छ। त्यसो भएमा मात्र पर्यटन प्रवर्द्धनात्मक गतिविधिले निरन्तरता पाउँछन,’ उनले भने। उनका अनुसार परिषद्ले पोखरा ट्राभल मार्ट, नेपाल र तीब्बतको सीमा क्षेत्रको कोरला नाकाको बोर्डर क्षेत्रमा चलायमान बनाउनेगरि  पर्यटन प्रवर्द्धन गर्नका लागि बजेट विनियोजन गर्नुपर्ने सुझाव परिषद्ले दिएको छ।  

‘गण्डकी प्रदेशको प्रवर्द्धन गर्न जरुरी छ। प्रवर्द्धन गर्नका लागि बेलैमा बजेट ल्याउनुपर्छ। ढिलागरि बजेट पास हुने भएकोले आधा रकम पनि खर्च हुँदैन, त्यो अवस्था अब आउनु हुँदैन,’ पहारीले भने, ‘बजेट खर्च गर्नका लागि बेलैमा पास हुनुपर्छ।’ 

उनका अनुसार बोर्डलाई पोखराका करिब दर्जन संस्थाले बजेटबारे सुझाव दिएका थिए। ती सबैजसो संस्थाले पर्यटन प्रवर्द्धनकै लागि बजेट आवश्यक रहेको बताएका थिए। ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पर्यटन प्रवर्द्धन गर्नुपर्छ। पूर्वाधारमा बोर्डले रकम खर्चने होईन। पूर्वाधारका लागि भौतिक मन्त्रालय र स्थानीय तह छन। त्यसैले पर्यटन प्रवर्द्धनमै सिंगो बोर्डले ध्यान दिनुपर्छ,’ उनले भने।  

बोर्डसँगको सहकार्यमा पोखरामा पर्यटन व्यावसायीका विभिन्न संस्थाले प्रवर्द्धनात्मक गतिविधि गर्दै आएका छन। ती बाहेक आन्तरिक र अन्तर्राष्ट्रिय गन्तव्यमा पनि बोर्डले नै आर्थिक सहयोग गर्दे आएको छ। आगामि दिनमा बोर्डको सहयोगमा भईरहेका प्रवर्द्धनका कार्यक्रम निरन्तर हुनुपर्ने व्यावसायीले बताउँदै आएका छन। बरु बोर्डले पोखराका लागि छुट्याउने बजेटको आकार बढाउनुपर्ने व्यावसायीले बताउने गरेका छन।

बोर्डले आर्थिक वर्ष २०८१/८२ का लागि पर्यटन बोर्डको क्षेत्रीय कार्यालय पोखराका लागि १३ करोड ७७ लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो। त्यसभन्दा अघिल्लो आर्थिक वर्षका लागि पोखराको बजेट १२ करोड ६ लाख रुपैयाँ रहेको थियो। यो पटक १२ करोड २५ लाख रुपैयाँको सीमा तोकिदिएको छ।  

बोर्डका पूर्व सदस्य टिकाराम सापकोटाले पनि पोखराको बजेटको आकार कम्तिमा १५ करोड रुपैयाँ हुनुपर्ने बताउँछन्। ‘बोर्डले यो वर्ष १२ करोड २५ लाख रुपैयाँ पोखरा कार्यालयका लागि सिमा तोकिदिएको भएपनि त्यो आकार अलि बढि हुनुपर्छ। मेला महोत्सवदेखि प्रवर्द्धनका लागि व्यावसायिक संस्थाले बजेट माग गरेका छन। बजेटको आकार सानो हुँदा कन्जुस्याँइ गर्नुपरेले त्यो आकार बढाउनुपर्ने पनि सुझाव छ,’ सापकोटाले भने, ‘आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनमै बोर्डको बजेट आवश्यक पर्छ।’  

पोखरा र आसपासका ऐतिहासिक र सांस्कृतिक गन्तव्यको संरक्षणका लागि बजेट आवश्यक पर्ने उनले बताए। त्यस्तै दीगो पर्यटन प्रवर्द्धन, मेलामहोत्सवका लागि पनि बजेट चाहिन्छ। ‘भौतिक पूर्वाधारका लागि बोर्डको बजेट खर्च नगर्दा पनि हुन्छ। किनकी पूर्वाधार बनाउनका लागि अरु निकाय नै काफि छन। विकासे अड्डा रहेकोले बोर्डले विकासका काम भन्दा पनि गन्तव्य प्रवर्द्धनको काम गर्नुपर्छ,’ उनले भने। आन्तरिक बाहेक बाह्य पर्यटन प्रवर्द्धनका क्रममा छिमेकी मुलुकमा र अरु तेश्रो मुलुकमा पनि प्रवर्द्धन जरुरी रहेको उनले बताए।

‘पोखराको सम्भावना रहेको  क्षेत्र साहसिक, सांस्कृतिक र प्राकृतिक पर्यटन हो। विभिन्न सभासम्मेलनका लागि पाहुना बोलाउने गरि पर्यटन प्रवर्द्धन गर्न जरुरी छ,’ सापकोटाले भने।  

बोर्डको पोखरा कार्यालयका प्रमुख मणिराज लामिछानेका अनुसार व्यावसायीले नयाँ भन्दा पनि पुरानै कार्यक्रमका लागि बजेट माग गरेका छन। प्याराग्लाइडिङको अन्तर्राष्ट्रियस्तरको प्रतिश्पर्धा आयोजना गर्नेगरि मागिएको बजेट बाहेक अरु सबैजसो कार्यक्रम पुराना रहेको उनले बताए। ‘नयाँ भन्दा पुरानै कार्यक्रमका लागि बजेट मागिएको छ। सधैं भईरहेका र पुराना कार्यक्रम नै छन,’ उनले भने, ‘अन्तर्राष्ट्रिय प्रवर्द्धनमा व्यावसायीको चाँसो बढी छ।’ लामिछानेका अनुसार चीन, बंगलादेश र भारतमा प्रवर्द्धनका लागि व्यावासायीले बजेटमा समेट्न आग्रह गरेका छन।  

‘बंगलादेश, भारत र चीनमा गरिने प्रवद्र्धनका लागि बढी प्राथमिकता दिएका छन,’ लामिछानेले भने, ‘व्यावसायीले रोजेका तीनवटा मुलुक पोखरामा पाहुना भित्र्याउने महत्वपूर्ण बजार हुन। पर्यटन क्षेत्रमा अहिले भारत र चीनबाहेक बंगलादेशको योगदान महत्वपूर्ण रहेको छ। बंगलादेशका पाहुना बढिरहेका छन।’ पर्यटक आगमनको आकारमा हुने बजेट अनुसार पोखरा कार्यालयका लागि रकम बिनियोजन भएको उनले बताए। ढिलागरि बजेट पास हुँदा यो पटक अहिलेसम्म करिब २० प्रतिशत खर्च भएको छ। आर्थिक वर्ष सकिँदा बोर्डको चालु वर्षको बजेटको करिब ४० प्रतिशत हिस्सा खर्च हुने लामिछानेको अनुमान छ।  

नेपाल घुम्न आएर फर्किने क्रममा विदेशी पर्यटकले अन्तर्राष्ट्रिय विमानस्थलमा तिर्ने शुल्क बोर्डको प्रमुख बजेट हो। पर्यटक शुल्क भनेर प्रतिव्यक्ति एकहजार रुपैयाँ विदेशी पाहुनाले विमानस्थलमा शुल्क तिर्नुपर्छ। त्यसबाहेक पदयात्री सूचना व्यवस्थापन प्रणालि (टिम्स) बापत पनि पर्यटन बोर्डले रकम पाउँछ। टिम्स बापत विदेशीले तिर्ने शुल्कको ३० प्रतिशत बजेट बोर्डले पाउँछ। 

त्यसबाहेक बोर्डका सभाहलमा गरिने कार्यक्रमको भाडा पनि बोर्डको आम्दानी हो। अन्तर्राष्ट्रिय प्रवर्द्धनमा सहभागि हुनेले तिर्ने शुल्कको केही रकम पनि बोर्डको आम्दानीमा समेटिन्छ। बोर्डले यो रकम नियमित रुपमा कार्यलयमा हुने खर्च बाहेक राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि बजारीकरणमा मुख्य रुपमा खर्चदै आएको छ।  

प्रकाशित: ११ जेष्ठ २०८२ १६:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App