अर्थ

देशभरका महिला उद्यमीलाई एउटै छातामा समेट्दैछौँः अध्यक्ष ज्ञवाली

मनाङमा महिला उद्यमी महासंघको ७४ औँ शाखा विस्तार

महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवालीले देशभरका महिला उद्यमीलाई एउटै छाताभित्र समेट्ने अभियानमा महासंघ अघि बढेको बताएकी छन्। बुधबार मनाङमा महिला उद्यमी संघको शाखा विस्तार गर्दै अध्यक्ष ज्ञवालीले यस्तो बताएकी हुन्। 

‘नेपालभरिका सम्पूर्ण महिला उद्यमीहरूलाई एउटै सञ्जालमार्फत एउटै छाता संगठनमा एकताबद्ध गर्दै हरेक सवालमा सम्बन्धित निकायसँग पैरवी गर्ने, क्षमता अभिवृद्धिका काम महासंघले गरिरहेको छ,’ अध्यक्ष ज्ञवालीले भनिन्, ‘यसका लागि विभिन्न क्षमतामूलक तालिम तथा महिला उद्यमीहरूको सामाजिक तथा आर्थिक सशक्तीकरणका काम गर्दै उद्यमशीलतालाई दिगोपनामा काम गरिरहेका छौँ।’ यही नै मूल उद्देश्यसहित महिला उद्यमी महासंघ नेपालको  २०६० साल असार २७ गते स्थापना भएको उनले बताइन्। 

मनाङका उद्यमीसँग अध्यक्ष शोभा ज्ञवाली।

‘महासंघले आफ्नो स्थापनाकालदेखि नै महिला उद्यमीहरूका हरेक सवाललाई महत्वका साथ लिँदै महिला उद्यमीहरूको हकहितका लागि काम गर्दै आइरहेको छ,’ अध्यक्ष ज्ञवालीले अगाडि भनिन्। 

मनाङका महिला उद्यमीलाई एकताको साङ्लोमा समावेश गरी महासंघको राष्ट्र निर्माणमा हातेमालो गर्न पाउँदा खुसी लागेको पनि उनले बताइन्।  

अध्यक्ष ज्ञवालीले महासंघले आफ्नो जिल्ला संघ ७७ वटै जिल्लामा विस्तार गर्ने योजनालाई अघि बढाइरहेको पनि बताइन्। सोही क्रममा मनाङमा ७४ औँ शाखा विस्तार भएको उनले जानकारी दिइन्। ज्ञवालीका अनुसार मनाङ शाखा चिनियाँ दूतावासको सहयोगमा स्थापना भएको हो ।  

कार्यक्रममा चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घले, उपाध्यक्ष मिङमार डोमा लामा, महासंघकै तृतीय उपाध्यक्ष बसन्ती प्रधान, कार्यक्रम संयोजक मनोज तिमिल्सिनालगायत उपस्थित थिए। 

सोही कार्यक्रमपछि माया गुरुङको अध्यक्षतामा ११ सदस्यीय जिल्ला संघ गठन भएको छ। 

प्रकाशित: ७ जेष्ठ २०८२ २०:०२ बुधबार

#WomanEnterprenure