पोखराको आकाशमा पर्यटकलाई सयर गराउने प्याराग्लाइडिङ पाइलटले मादकपदार्थ र लागु पदार्थ सेवन गर्ने गरेको गुनासो आएपछि कास्की प्रहरीले प्याराग्लाइडिङको ‘टेकअफ प्वाइन्ट’मै पुगेर परीक्षण गरेको छ। पाइलटले लागुपदार्थ र मापदक पदार्थ सेवन गरे वा नगरेको थाहा पाउनका लागि कास्की प्रहरीको टोली नै प्याराग्लाइडिङको टेकअफ प्वाइन्ट पोखरा–१८ मान्द्रेढुंगा पुगेको थियो।
मादक पदार्थ सेवन (मापसे) र लागुपदार्थ सेवन (लापसे) परीक्षणको क्रममा प्रहरीले एकजना पाइलटले मादकपदार्थ र लागुपदार्थ सेवन गरेको फेला पारेको थियो। सबैगरि ३९ जना पाईलटको मापसे र सोही मध्येका १५ जना पाईलटको लापसे चेकजाँच गर्दा एकजना पाईलटले मापसे र लापसे दुवै सेवन गरेको पाइएकोले निजलाई नियन्त्रणमा लिई कानूनी प्रकृया अगाडी बढाईएको कास्की प्रहरीले बताएको छ।
कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले प्याराग्लाइडिङका पाइलटले मापसे र लापसे सेवन गर्ने गरेको भनेर उजुरी आएपछि छड्के परीक्षण गरेको बताए। ‘पर्यटकलाई आकाशमा उडाउने पाइलटले नै लागुपदार्थ र मादक पदार्थ सेवन गर्ने गरेको भनेर प्रहरीमा जानकारी आएपछि परीक्षण गरिएको हो,’ उनले भने, ‘३९ जना पाइलटको परीक्षण गर्दा एकजनाले लागुपदार्थ र मादक पदार्थ सेवन गरेको पुष्टि भएको छ।’
आकाशमा उडान गर्ने प्याराग्लाइडिङ सुरक्षित हुनुपर्ने उनले बताए। ‘यहाँ पर्यटकको सुरक्षाको मात्र कुरा रहन्न, पाइलट पनि सुरक्षित हुनुपर्छ। लागु पदार्थ र मादक पदार्थ सेवन गरेर उडान गर्न मिल्दैन,’ उनले भने, ‘व्यावसाय सुरक्षित भएपछि मात्र टिकाउ हुन्छ।’ प्याराग्लाइडिङ उडान आफैमा साहसिक गतिविधि भएकोले अझ बढी सुरक्षित हुनपर्ने उनले बताए।
उनका अनुसार मल्टि ड्रग टेष्ट किटबाट परीक्षण गर्दा लागुपदार्थ र मापदक पदार्थ सेवन गरे नगरेको भनेर पाँचमिनेटमै थाहा हुन्छ। लागुपदार्थको परीक्षणका क्रममा भने पिसाब परीक्षण गरिने उनले बताए। ‘प्याराग्लाइडिङ उडान सुरक्षित होस भन्ने हाम्रो चाहना हो। यो पोखराको महत्वपूर्ण पर्यटकीय प्रडक्ट हो। यसलाई सुरक्षित बनाउँदा पर्यटक र पाइलट सबै सुरक्षित हुन्छन,’ ओलियाले भने, ‘अधिक पर्यटकले रुचाएको साहसिक पर्यटकीय प्रडक्ट कुनै कारणबाट पनि असुरक्षित हुनु हुँदैन।’
प्याराग्लाइडिङ व्यावसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष अनिल केसीले पनि उडान गर्ने पाइलट र पर्यटक दुवैको सुरक्षाका लागि पाइलटले लागुपदार्थ र मादक पदार्थ सेवन गरेर उडान गर्न नपाइने बताए। उनका अनुसार केहीवर्ष अघिसम्म लागुपदार्थ र मादक पदार्थ सेवन गरेर प्याराग्लाइडिङ उडान हुने गरेको भनेर गुनासो पर्याप्त आउने गरेपनि परीक्षण भएको थिएन। तर, योपटक परीक्षण गरेर पाइलटलाई सचेत बनाएको उनले बताए।
‘पहिलोपटक टेकअफ प्वाइन्टमै पुगेर लागुपदार्थ र मादकपदार्थ सेवन गरे नगरेको भनेर परीक्षण गरिएको हो। हामी आफै (ना) ले लाइसेन्स लिनुअघि पनि पूर्ण रुपम स्वास्थ्य परीक्षण गर्ने गरेको छ,’ उनले भने, ‘त्यसबाहेक लाइसेन्स नवीकरण गर्ने बेलामा पनि स्वास्थ्य परीक्षण गरिन्छ। तरपनि बीचमा पाइलटले सेवन गर्न सक्छन।’ पाइलटले हरेक वर्ष प्याराग्लाइडिङ उडानको लाइसेन्स नवीकरण गर्नुपर्छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले दिएको म्यानुअल अनुसार ना ले पाइलटका लागि लाइसेन्स दिलाउँछ।
‘हामीले पनि बेलाबेला नियमन त गर्छाै। तर, हाम्रो मात्र प्रयासले सबै नपुग्ने रहेछ,’ उनले भने। उनका अनुसार प्याराग्लाइडिङ उडानलाई सुरक्षित बनाउनका लागि पाइलटले लापसे र मापसे गरे नगरेको भनेर परीक्षण गरिएको हो। ‘पहिला पहिला जसले जे गरेपनि छुट थियो। तर, अब जसले जे गरेपनि छुट छैन। कुनैपनि घटनाले समग्र पर्यटन क्षेत्रमा असर पार्छ,’ उनले भने। उनका अनुसार अहिले पोखरामा ५७ वटा कम्पनिले प्याराग्लाइडिङ उडानका लागि अनुमति लिएका छन। ती कम्पनिमा २ सय ६० जना पाइलट कार्यरत छन। तर, अहिले पाहुना अभावमा दिनमा बढीमा एकसय ४० हाराहारीमा उडान भएका छन।
प्रकाशित: ६ जेष्ठ २०८२ १३:३० मंगलबार