अर्थ

कर्णाली राजमार्गको कालीकोट खण्ड स्तरोन्नति हुँदै

कर्णाली राजमार्गको कालीकोट खण्डमा स्तरोन्नति भइरहेको छ। डबल लेन निर्माण, कालोपत्रे, ग्राभेललगायत राजमार्ग स्तर वृद्धिका काम धमाधम भइरहेका छन्।

कर्णाली राजमार्गको दहीखोला–खुलालुखण्ड डबल कटिङ र पिली, त्रेस्रोबजार, सेरीघाट खण्ड कालोपत्रको काम सुरु भएको छ। निकै साँघुरो मानिने दहीखोला–खुलालु खण्ड फराकिलो बनाउने र पिली, त्रेस्रोबजार, सेरीघाट खण्डको पाँच ठाउँमा सडक कालोपत्रका लागि काम सुरु भएको हो।

दहीखोला खण्डमा तीन किलोमिटरको डबल कटिङको लक्ष्य लिएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र चौधरीले बताए। उनले भने, ‘कालीकोट खण्डको पिली, त्रेस्रोबजार, सेरीघाटमा स्तर वृद्धिका लागि कालोपत्रको काम थालिएको छ।’ कार्यालयका अनुसार कर्णाली राजमार्ग नाग्म–जुम्ला खण्डमा समेत मर्मत भइरहेको छ।  

सुर्खेतको बांगेसिमलदेखि जुम्लासम्मको २ सय ३२ किमि लामो कर्णाली राजमार्गको दैलेख खण्डमा भने अपेक्षित सुधार हुन सकेको छैन।

दैलेख खण्डभन्दा कालीकोट–जुम्ला खण्डमा सडक स्तरवृद्धि द्रुत गतिमा भए पनि निर्माण व्यवसायीको ढिलासुस्तीले उल्लेख्य काम हुन सकेको छैन। तर पनि डबल लेन निर्माण, कालोपत्रे, ग्राभेल, नाला निर्माणलगायत सडक स्तर वृद्धिका काम भने भइरहेको छ।

कर्णाली राजमार्ग अन्तर्गत नाग्म–गमगढी राजमार्गमा पर्याप्त बजेट नहुँदा जहिले पनि समस्या भइरहेको छ। सडक डिभिजन कार्यालय जुम्लाले बजेट माग गरेको छ तर समयमा बजेट नआएका कारण काम प्रभावित भएको छ।

बजेट अभावले नाग्म–गमगढी राजमार्ग कालोपत्र पूरा हुन सकेको छैन। कालोपत्रका लागि कार्यालयले ३५ करोड बजेटको अनुमान गरेको छ। सो राजमार्ग अन्तर्गत करिब साढे छ किलोमिटर कालोपत्र भए पनि अन्य सडक बजेट अभावले यो वर्ष पनि कालोपत्र हुन नसक्ने कार्यालयले जनाएको छ।

प्रकाशित: २ जेष्ठ २०८२ ०९:३७ शुक्रबार