अर्थ

कोशी प्रदेश लगानी सम्मेलन : ४६ वटा परियोजनामा डेढ खर्ब लगानी प्रतिबद्धता

कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनमा प्रदेश सरकारले शोकेसमा राखेका ७१ वटा परियोजना मध्ये ४६ वटा परियोजनामा एमओयू गरिएको छ।

शुक्रबार लगानी सम्मेलनको समापन कार्यक्रममा लगानीकर्ता र कोशी प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक डा. सरोज कोइरालाबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो। प्रदेश सरकारले शोकेसमा राखेका १ खर्ब ७३ करोडका परियोजनामध्ये १ खर्ब ५२ अर्ब १६ करोडका परियोजनामा एमओयू भएको छ। 

प्रदेश लगानी प्राधिकरणका अनुसार कृषिका आठ परियोजनामा ३ अर्ब, ऊर्जाका तीन परियोजनामा आठ अर्ब ६२ करोड, उद्योगका १२ परियोजनामा ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजनामा ३८ अर्ब ४१ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, पर्यटनको १० परियोजनामा ३४ अर्ब १९ करोड र फोहोर मैला व्यवस्थापनका २ वटा परियोजनामा ६० करोडको एमओयू भएको छ। निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना एमओयू भएका छन्।  

कोशी प्रदेशमा एमओयू भएको सबैभन्दा ठूलो परियोजना उदयपुरको क्लिङ्कर म्यानुफ्याक्चर प्लान्ट रहेको छ। यसको अनुमानित लागत ३२ अर्ब रहेको छ। यस्तै एक अर्बभन्दा बढी लागतका परियोजनाहरूमा सुनसरी र उदयपुरको ग्रीन युरिया परियोजना २६ अर्ब, ताप्लेजुङको माउन्टेन पडवेको लागत २५ अर्ब रहेको छ। यस्तै सुनसरीको पशुपति इनर्जी परियोजना १ अर्ब ६० करोड, उदयपुरको एग्रो मेल्टिक सोलार परियोजना ५ अर्ब ६० करोड रुपैयाँ लागतको रहेको छ। 

यस्तै १ अर्ब ४२ करोड लागतको पाँचखपन हाइड्रोपावर, १ अर्ब १६ करोडको हर्बल प्रोसेसिङ प्लान्ट, १ अर्ब लगानीको कियान एग्रिकल्चर, ४ अर्ब लगानीको धनकुटा र उदयपुरको बायो इथानल परियोजना रहेका छन्। यस्तै २ अर्ब ४८ करोडको आरआर अस्पताल, २ अर्ब ३० करोडको एक्सिस होटल, १ अर्ब ७५ करोडको ५ स्टार होटल, १६ अर्बको बराहक्षेत्र केबलकार, ५ अर्ब लागतको कोशी पडवे परियोजना, १० अर्ब लागतको हलेसी केबलकार, २ अर्ब ३३ करोड लागतको रोयलटन होटल, ४ अर्ब २८ करोड लागतको बर्जुताल प्रोजेक्ट रहेका छन्।  

समापन कार्यक्रममा एनआरएन र विदेशी लगानीकर्ताहरूले कम्पनी स्थापना गर्दा प्रक्रियागत झन्झट हटाएर सहज बनाउन सुझाव दिएका छन्। उनीहरूले एनआरएनको लगानी आकर्षित गरे उनीहरूसँगै विदेशी लगानीकर्ताहरू पनि नेपालमा लगानी गर्न आउने बताए। कार्यक्रममा अमेरिकाबाट आएका लगानीकर्ता गालभ ढुंगानाले प्रदेश लगानी सम्मेलनमा प्रस्ताव गरेको परियोजना कार्यान्वयन सहज भए ग्रीन हाइड्रोजनको उत्पादनका लागि नेपालमा ५ खर्बभन्दा बढी लगानी गर्न तयार हुने बताए। उनले नेपालमा हिउँद याममा देखिएको विद्युतको समस्या समाधान हुने र एलपी ग्यास आयात गर्नुपर्ने लगायत ऊर्जाको समस्या समाधान हुने धारणा राखे। उनले भने, ‘विदेशी सोझै नेपालमा लगानी गर्न नआउने भएकाले विदेशमा भएका नेपालीमूलका मानिसहरूलाई लगानी सहजीकरण गरे उनीहरूसँगै विदेशीहरूको लगानी पनि आउने छ।’ 

ढुंगानाले लगानीका लागि कानुनी प्रक्रिया सरलीकृत गर्नुपर्ने सुझाव दिए। एनआरएनए बेलायतकी उपाध्यक्ष रोजिना राई प्रधानले कोशी प्रदेशको पर्यटन पूर्वाधारमा विदेशी लगानी भित्राउने अभियानमा आफू लागेको बताइन्। उनले भनिन्, ‘विदेशमा भएका नेपालीमूलका उद्योग व्यवसायीहरू लगानी गर्न चाहने भए पनि नीतिगत र कानुनी झन्झटले समस्या भएको छ।’ 

चिनियाँ लगानीकर्ता लियान जुङले सोलार प्लान्टमा लगानी गर्न नेपाल आएको बताए। उनले नेपालमा सोलार मात्रै नभई धेरै क्षेत्रमा लगानीको राम्रो सम्भावना रहेको बताए। विदेशी लगानी भित्राउन प्रक्रियागत झन्झट हटाएर छिटो–छरितो प्रक्रियाबाट उद्योग दर्तालगायतका कामहरू हुने व्यवस्था गर्न सुझाव दिए। काम गर्ने वातावरण भए आफूहरू नेपालमा लगानी गर्न तयार रहेको जुङले बताए।

प्रकाशित: १९ वैशाख २०८२ २१:२३ शुक्रबार