आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा वैदेशिक सहायता प्रतिबद्धता उल्लेखनीय रूपमा वृद्धि भएको छ।
साउनदेखि फागुन मसान्तसम्मको अवधिमा नेपालले कुल दुई खर्ब २१ अर्ब ९९ करोड ८७ लाख रूपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको अर्थ मन्त्रालयले जनाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा दोब्बरभन्दा बढी हो। गत वर्षको सोही अवधिमा नेपालले एक खर्ब एक अर्ब १९ करोड ६१ लाख रूपैयाँ बराबरको सहायता प्रतिबद्धता प्राप्त गरेको थियो।
यस अवधिमा प्राप्त कुल प्रतिबद्धतामध्ये २५.७ प्रतिशत अनुदान र ७४.३ प्रतिशत ऋणको रूपमा रहेको मन्त्रालयले जनाएको छ। सहायता प्रतिबद्धताको ठूलो हिस्सा ऊर्जा क्षेत्रमा केन्द्रित भएको छ। ऊर्जा क्षेत्रमा मात्र २५.४ प्रतिशत प्रतिबद्धता आएको छ भने दोस्रो स्थानमा रहेको वातावरण तथा जलवायु क्षेत्रमा २१.७ प्रतिशत सहयोग प्रतिबद्धता देखिएको छ।
त्यस्तै सिँचाइ क्षेत्रमा १२.८ प्रतिशत, पानी क्षेत्रमा ११.५ प्रतिशत, विपद् व्यवस्थापनमा ९.१ प्रतिशत, यातायात क्षेत्रमा ६ प्रतिशत, कृषि र सामाजिक क्षेत्रमा समान रूपमा ४.३ प्रतिशत प्रतिबद्धता रहेको छ।
सुशासन क्षेत्रमा भने सबैभन्दा कम ०.२ प्रतिशत मात्र प्रतिबद्धता देखिएको छ। यस विवरणले वैदेशिक सहयोग ऊर्जा, जलवायु तथा पूर्वाधारका क्षेत्रमा केन्द्रित भइरहेको संकेत गरेको छ। अर्थ मन्त्रालयले सहयोग प्राप्त क्षेत्रहरूको उपयोगिता र प्रभावकारितालाई सुनिश्चित गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याएको छ।
प्रकाशित: १७ वैशाख २०८२ १०:१४ बुधबार