अर्थ

ओरालो लाग्यो नेप्से, घट्यो कारोबार रकम

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार पुनः घट्दै २६३१.९८ विन्दुमा झरेको छ।

अघिल्लो दिन सोमबारको गिरावटलाई निरन्तरता दिँदै नेप्से यस दिन १५.०८ अंकले ओरालो लागेको हो। यही क्रममा, सेन्सेटिभ इण्डेक्स १.९३ अंकले, फ्लोट इण्डेक्स ०.७८ अंकले र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१९ अंकले घटेका छन्।

कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा कम भएको देखिएको छ। सोमबार ८ अर्ब ९१ करोड रुपैयाँबराबरको सेयर कारोबार भएकोमा मंगलबार ७ अर्ब ५७ करोड ५२ लाख रुपैयाँको मात्रै कारोबार भएको हो। सो दिन ३११ वटा स्टकका १ करोड ८४ लाख ९१ हजार कित्ता सेयर ६६ हजार २६५ पटक खरिदबिक्री भएका थिए।

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मंगलबार पनि सकारात्मक सर्किट लेभलमै कारोबार भएको छ।

क्रेष्टको सेयरमूल्य ९४ रुपैयाँ ८० पैसाले बढ्दै १ हजार ४२ रुपैयाँ ८० पैसामा पुग्दा, नेपाल माइक्रोको मूल्य ११४ रुपैयाँ ६० पैसाले बढेर १ हजार २६१ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको हो।

त्यस्तै, भुगाेल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयरमूल्य ९ प्रतिशत र राधी विद्युत कम्पनीको मूल्य ७ प्रतिशतले बढेको छ। तर, मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयरमूल्य भने ९.८८ प्रतिशतले घटेर सबैभन्दा धेरै ओरालो लागेको हो।

कारोबार रकमको हिसाबले सानिमा माइ हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ८२ करोड ४३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

दोस्रो स्थानमा ङादी ग्रुप पावर छ, जसको ६२ करोडभन्दा बढीको कारोबार भएको छ। राधी विद्युत कम्पनीको पनि करिब ४६ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ।

नेप्सेले वर्गीकरण गरेका १३ उपसमूहमध्ये म्युचुअल फण्ड बाहेक बाँकी १२ उपसमूहको परिसूचक घटेको छ। म्युचुअल फण्डको सूचक सामान्य रूपमा बढेको हो।

घटेको उपसमूहमध्ये वित्त उपसमूह सबैभन्दा बढी १.२२ प्रतिशतले घटेको छ भने अन्य उपसमूहको गिरावटदर १ प्रतिशतभन्दा कम देखिएको छ।

अरू उपसमूहहरूमा पनि करेक्सन जारी रहेको देखिएको छ।

प्रकाशित: १६ वैशाख २०८२ १५:३६ मंगलबार