अर्थ

शेयर बिक्री व्यवस्था सच्चाउन निर्जीवन बिमा व्यवसायीको माग

नेपाल निर्जीवन बिमा व्यवसायी संघले पदबाट अवकाश पाएको एक वर्षसम्म सम्बन्धित कम्पनीको सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक भएको भन्दै सच्चाउन माग गरेका छन्।  

संघका अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको पदाधिकारी टोलीले शुक्रबार बिमा प्राधिकरणका अध्यक्ष शरद ओझासंगको भेटमा यस्तो आग्रह गरेका हुन्।  प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझालाई भेटेर बधाई दिँदै संघले निर्जीवन बिमा व्यवसायमा देखिएको नीतिगत कठिनाइबारे ध्यानाकर्षण गराएको छ।  

कुनै व्यक्ति संचालकको पदमा बहाल रहुन्जेल र सो पदबाट हटेको एक वर्ष सम्म सोही संस्थाको कुनै पनि प्रकारको सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्थालाई संशोधन गरी संचालक पदमा बहाल रहेकै बखत सेयर स्वामित्वको ५० प्रतिशत सम्म बिक्री गर्न पाउने व्यवस्थाका लागि संघले आग्रह गरेको छ।  सेयर बिक्री सम्बन्धी पछिल्लो व्यवस्थाले लगानीको वातावरणमा समस्या सिर्जना गर्नुका साथै वैदेशिक लगानी समेत प्रभावित हुने अध्यक्ष मल्लको भनाई छ।  

धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को नियम ३८ (१ क) मा भएको व्यवस्था अव्यवहारिक भएको संघले जनाएको छ।  कम्पनीमा कायम रहेका सबै सेयरधनी जस्तै सञ्चालकहरू पनि लगानीकर्ता नै रहेको र सेयरधनीहरूको साधारणसभाबाट निर्वाचित भई उनीहरूको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गरेकै आधारमा शेयर बिक्री गर्न नपाउने व्यवस्था न्यायोचित नभएको संघले जनाएको छ।  

संघका अध्यक्ष मल्ल सहितको पदाधिकारी  टोलीले बिमा प्राधिकरणका अध्यक्ष ओझालाई सो प्रावधान सच्याउनका लागि आग्रह समेत गरेको छ। लगानीको दृष्टिकोणबाट कम्पनीका अन्य सेयरधनीको वित्तीय स्वार्थ र संचालकहरूको वित्तीय स्वार्थमा कुनै फरक नरहेको संघका अध्यक्ष मल्लले बताए।  संचालकहरूले अन्य सेयरधनी सरह नै कम्पनीमा लगानी गरेपछि त्यसको उपयोग गर्नबाट संचालकहरूलाई बञ्चित गर्ने कार्य  न्यायोचित नभएको संघले जनाएको छ।  

नेपाली पुनर्बिमा कम्पनीहरूलाई दिई आएको प्रत्यक्ष हिस्साबारे पनि संघले प्राधिकरणको ध्यानाकर्षण गराएको छ।  प्राधिकरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बिमा ऐन २०७९ को दफा दुईमा पुनर्बिमा भन्नाले कुनै एक बीमकले आफूले धारणा गर्ने जोखिम भन्दा बढि अंशको जोखिम पुनर्बीमकले वा अर्को बीमकले बेहोर्नेगरी त्यस्तो बीमकसंग गरिएको करार सम्झनुपर्छ भन्ने उल्लेख गरिएको छ।  त्यसैगरी ऐनको दफा ८० मा समेत सोही व्यवस्था गरिएको छ।  बिमा प्राधिकरणका अध्यक्ष ओझासंगको भेटमा अध्यक्ष मल्लसहित पदाधिकारीहरू आजाद श्रेष्ठ,  रमेश निरौला, बालकृष्ण श्रेष्ठ र कुनाल कयल सहभागी थिए। 

प्रकाशित: २९ चैत्र २०८१ १७:२० शुक्रबार