अर्थ

पाथीभरा केबलकारमा राजनीतिकरण भयो, गलत प्रचार गरियो: अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकारले अहिले प्रचार भएजस्तो धार्मिक आस्था खलबल्याउने भन्ने कुरामा सत्यता नभएको बताएका छन्। शनिवार पाथीभरा देवी दर्शन केबलकार प्रालिका तर्फबाट काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष ढकालले अहिलेको चर्चाको खण्डन गरेका हुन्

‘जुन हिसाबले पाथीभरा केबलकारले संरचनाहरू फरक हिसाबले बनायो, धार्मिक आस्थामा नबनाउनुपर्ने चिजहरू बनायो भन्ने जुन भ्रम फैल्याइएको छ,’ अध्यक्ष ढकालले भने,‘त्यसमा भ्रम छ। हामीले बनाउने संरचना र पूर्वाधार वातावरण र प्रकृतिमैत्री हुन्छ । सामान्य स्तरको पूर्वाधार हुन्छ। यसले कुनै धार्मिक आस्था खलबल्याउन्न।’ 

माथि माथि ‘फाइभ स्टार होटेल हुन्छ रे’, ‘कता डेटिङ बस्ने ठाउँ हुन्छ रे’ भन्ने हिसाबको गलत कुराको हल्ला फैल्याइएको पनि ढकालले बताए। ‘गलत प्रचार गरिएको छ । त्यहाँको भेटी सबै पाथीभरा केबलकारले उठाउँछ भन्ने जस्ता गलत कुरा गरिएको छ । मन्दिरको भेटी केबलकारसँग कुनै सरोकार छैन । केबलकारले कुनै पनि हिसाबमा धार्मिक आस्था खलबल्याउने काम गर्दैन,’ ढकालले भने। 

अहिले देखाइएको जस्तो विरोध पहिला नआएको पनि अध्यक्ष ढकालले दाबी गरे । उनले भने, ‘म आफैँ पनि स्थानीयहरूसँग छलफल गर्न गएँ । सार्वजनिक सुनुवाइमा करिब तीन सय जना स्थानीय हुनुहुन्थ्यो । त्यसमा २५ जना स्थानीयले बोल्नुभएको थियो । जसमा २ जनाले बन्न हुँदैन भन्नुभयो । एक जनाले बन्नुपर्छ तर भन्नुभएको थियो ।’ 

ताप्लेजुङवासीको अधिकांशको मत केबलकार बनाउनु पर्छ भन्ने नै रहेको उनले दाबी गरे। ‘यहाँको इकोनोमीक एक्टिभिटी बढ्छ, रोजगारी सिर्जना हुन्छ, त्यसले ताप्लेजुङमा केबलकार बन्नुपर्छ भन्ने छ । ताप्लेजुङ भन्दा बाहिरका साथीहरू, नेपाल भन्दा बाहिर बस्ने साथीहरूले उहाँले विकसित मुलुकको इन्जोय गरिरहनुभएको छ, त्यहाँको सुविधा लिनुभएको छ,’ उनले भने।  

अहिले ताप्लेजुङवासीलाई गलत हिसाबले भ्रम फैल्याएर राजनीतिकरण गरेको अध्यक्ष ढकालको आरोप छ। ‘यसै इस्युमा कता कता पोल्टिकल पार्टीहरूले भूमिका खेल्नुभएको छ । ताप्लेजुङवासीलाई त्यहीँ रोजगारी दिने उद्देश्यका साथ बनाउन खोजेको हो । त्यो लगानीलाई ताप्लेजुङ बाहिरका व्यक्तिबाट इस्यु निकालिएको छ । त्यो ताप्लेजुङको लागि दुःख लाग्दो कुरा हो’, अध्यक्ष दाहालले भने। 

प्रकाशित: २६ माघ २०८१ १७:०३ शनिबार

#Chandra Dhakal #Pathibhara cable car