अर्थ

'इँटामा नेपाल आत्मनिर्भर'

वर्षैपिच्छे मुलक परनिर्भतातर्फ धकेलिरहका बेला इँटामा भने आत्मनिर्भर रहेको बताइएको छ । इँटा उद्योगीहरुले नेपाललाई चाहिने इँटा नेपालमै पुग्ने गरी उत्पादन हुने र भारतसहितका तेस्रो देशबाट आयात गर्नुपर्ने अवस्था अन्त्य भएको बताएका हुन् ।  

भक्तपुर इँटा उद्योग व्यवसायी संघको शुक्रबार भक्तपुरमा भएको २९औं वार्षिक साधारणसभा तथा १६औं जिल्ला अधिवेशनमा उद्योगीहरुले यो विषयमा सरकार गम्भीर भएर लाग्नुपर्ने आवश्यकता औंल्याए । कृषिप्रधान देशमा कृषिजन्य सवैवस्तु नै भारत वा अन्य देशहरुबाट ल्याउनुपर्ने अवस्थामा निर्माण सामग्रीको मेरुदण्डको रुपमा रहेको इँटा स्वदेशमै पुग्ने गरी उत्पादन हुनु वा विदेशबाट ल्याउन नपर्नु ठुलो विषय भएको उद्योगीहरुले बताए । यही कारण इँटा उद्योगको विकास तथा विस्तारमा सरकारले विषेश ध्यान दिनुपर्ने उनीहरुले बताए ।

नेपाल इँटा उद्योग व्यवसायी महासंघका कार्यवाहक केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अवालले देशैभरी एक हजार एक सयदेखि एक हजार दुई सय वटा इँटाभट्टा रहेको बताउँदै ती उद्योगहरुले एक सिजनमा सालाखाला ५० देखि ६० लाख पाकेको इँटा उत्पादन गर्ने जानकारी दिए । उत्पादित ती इँटा मागअनुसार नेपालका लागि पर्याप्त रहेको उनको भनाइ थियो ।  

महासंघका महासचिव केदार गोसाईले नेपालमा उत्पादन हुने इँटा नविकेकै कारण कति इँटाभट्टाहरु वन्द गर्नुपर्ने अवस्था रहेको बताउँदै पहिलाकै इँटाहरु नविकेका कारण नयाँं सिजनमा उद्योग चल्ने अवस्था नहेको गुनासो गरे । 

सल्लाहकार विश्वराम कवांका अनुसार झण्डै ४० प्रतिशत इँटा उद्योगहरु यो वर्ष पनि वन्द छन् । कुल इँटाभट्टाको ६० प्रतिशत मात्रै उद्योगहरु सञ्चालनमा रहँदा पनि मागअनुसार आपूर्ति गर्न सकिने बताउँदै उनले आवश्यकता अनुसार शतप्रतिशत इँटा उद्योगहरु सञ्चालनमा ल्याउन तयार रहेको बताए ।  

नातिभाइ ह्योम्वा निर्वाचित

भक्तपुर इँटा उद्योग व्यवसायी संघको अध्यक्षमा पुनः नातिभाइ ह्योम्वा निर्वाचित भएका छन् । संघको शुक्रबार भक्तपुरमा भएको अधिवेशनबाट ह्योम्वाको नेतृत्वमा दश सदस्यीय नयाँं कार्यसमिति निर्वाचित गरेको हो ।

संघको उपाध्यक्षमा आशाकाजी त्वानाबासु, सचिवमा आसाराम वैद्य, कोषाध्यक्षमा लक्ष्मीप्रसाद त्वानाबासु र सहसचिवमा रत्नलाल साँंढ चुनिए । साथै सदस्यहरुमा विष्णुसुन्दर प्रजापति, बालगोविन्द तचामो, केशव कवां, पूर्णप्रसाद गाइजू र राजेश त्वानाबासू चुनिए ।

प्रकाशित: १९ पुस २०८१ १८:५७ शुक्रबार

# Brick industry # इँटा उद्योग