अर्थ

काठमाडाैंमा अटोमोबाइल उद्योगलाई प्रोत्साहन गर्न ‘नाडा अटो शो २०२४’ हुने

नेपालको अटोमोबाइल उद्योगलाई पुनर्जीवित गर्ने उद्देश्यले नाडा अटोमोबाइल्स एसोसिएसन (नाडा) ले यस वर्षको ‘नाडा अटो शो २०२४’ आयोजना गर्ने तयारी गरेको छ।

आगामी अगस्ट २७ देखि सेप्टेम्बर १ सम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा हुने यस भव्य मेलाले अटोमोबाइल क्षेत्रको नवीनतम प्रविधि र प्रवृत्तिहरूको व्यापक प्रदर्शन गर्नेछ।

यस वर्षको प्रदर्शनीको प्रमुख प्रायोजकको रूपमा टाटा.ईभी रहेका छ भने सह-प्रायोजकको रूपमा सर्भो लुब्रिकेन्ट्स र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले साथ दिनेछन्।

आयोजकहरूले यस प्रदर्शनीले नेपालको अर्थतन्त्रलाई टेवा पुर्‍याउने र अटोमोबाइल क्षेत्रलाई थप उचाइमा पुर्‍याउने विश्वास गरेका छन्।

प्रदर्शनी संयोजक अनुप कुमार बरालका अनुसार यस वर्षको शोमा २४ चार–पांग्रे, १९ दुई–पांग्रे, र १२ व्यावसायिक सवारी साधन ब्रान्डहरूको सहभागिता रहनेछ।

साथै, ३३ कम्पनीहरूले लुब्रिकेन्ट्स, टायर, ब्याट्री र अन्य अटो कम्पोनेन्टहरूको प्रदर्शनी गर्नेछन्। वित्तीय क्षेत्रमा समेत ७ वटा प्रमुख संस्थाहरूले आफ्ना सेवा र वित्तीय समाधानहरू प्रस्तुत गर्नेछन्।

आयोजकहरूले हालको आर्थिक मन्दीको समयमा यस शोले अटोमोबाइल उद्योगलाई पुनर्जीवित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। प्रदर्शनीले आर्थिक गतिविधि बढाउने मात्र नभइ, उद्योगभित्रको आशावाद र लचीलापनलाई पनि प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ। 

प्रदर्शनीलाई आगन्तुकहरूको सुविधाका लागि विभिन्न खण्डमा विभाजन गरिएको छ। टिकट अग्रिम रूपमा खल्ती एपमार्फत किन्न सकिनेछ, जहाँ २०% क्यासब्याकको सुविधा पनि उपलब्ध गराइएकाे छ। मिडिया कवरेजलाई सहज बनाउन विशेष मिडिया डेस्कको व्यवस्था गरिएको छ भने ट्राफिक व्यवस्थापनका लागि ट्राफिक सूचना डेस्क पनि रहनेछ।

यस शोमा ७५ हजार भन्दा बढीले सहभागिता जनाउने अपेक्षा गरिएको छ। आगन्तुकहरूले नयाँ मोडेल, प्रविधि र वित्तीय विकल्पहरूको अनुभव गर्ने मौका पाउनेछन्। साथै, भाग्यशाली सहभागीले सिजी मोटर्सद्वारा प्रायोजित हिरो जुम स्कूटर जित्ने अवसर पनि पाउनेछन्। 

प्रकाशित: ३० श्रावण २०८१ १८:५३ बुधबार