अर्थ

खोटाङ र सिन्धुलीमा पौवा होटल विस्तार

हस्पिटालिटी क्षेत्रमा सेवा दिँदै आएको होटल पौवा प्रालिले खोटाङको हलेसीमा पौवा रिसोर्ट र सिन्धुलीको सुनकोसी किनार मूलकोटमा पौवा होटल सुरु गरेको छ।

पौवाको १४ औं शाखा सिन्धुलीमा विस्तार भएको छ। सिन्धुलीको मूलकोटस्थित सुनकोसी किनारमा ४५ रोपनी क्षेत्रफलमा ५० करोडको लगानीमा पौवा बिच रिसोर्ट सञ्चालन गरेको हो।

त्यसैगरी, खोटाङको हलेसीमा ४५ रोपनी क्षेत्रफलमा ४० करोड रूपैयाँ भन्दा बढीको लगानीमा पौवा रिसोर्ट सञ्चालनमा ल्याइएको होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए।

लुम्बिनीबाट होटल पौवाको पहिलो यात्रा सुरु भएको थियो। पौवाले रूपन्देहीकै भैरहवा र बुटवल, कपिलवस्तुको गोरुसिङ्गे, दाङको भालुवाङ, लमही र घोराही, कर्णाली प्रदेशको जुम्ला, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा, सुदूरपश्चिमको धनगढी, पर्यटकीय राजधानी पोखरा, काठमाडौको गौशाला हुँदै पूर्वी नेपालमा प्रवेश गरेको हो।

पौवाको ड्रिम प्रोजेक्टको रूपमा कैलाश मानसरोवर यात्राको मुख्य प्रवेशद्वार नेपालगन्जमा पाँच तारे होटल ‘पौवा वेस्टर्न’को निर्माण भइरहेको छ। पौवाले अहिलेसम्म तीन वटा मोडेलमा आफ्नो सेवा विस्तार गर्दै आएको छ। एक दशकमा १०० शाखा विस्तारको लक्ष्यसहित ‘मिसन १००’ योजना बनाएको होटल पौवा देशभर नेपाली आतिथ्यता प्रदान गर्ने चेन होटलको रूपमा फैलिँदै गएको छ।

प्रकाशित: १० श्रावण २०८१ ०८:२८ बिहीबार

#Hospitality sector #Hotel Pauwa Pvt