अर्थ

निगुरोको माग बढेसँगै स्थानीयहरू व्यस्त

तरकारीका रूपमा प्रयोग हुने निगुरोको माग बढेसँगै मोरङका सामुदायिक तथा साझेदारी वनमा यहाँका स्थानीय निगुरो टिप्न व्यस्त छन्। बर्खायाम सुरु भएसँगै यहाँका स्थानीय निगुरो टिपेर व्यापार गर्न व्यस्त रहेको जनसेवा सामुदायिक वनका अध्यक्ष मीनकुमार राईले बताए।

उनी काठमाडौँलगायत सहरी क्षेत्रबाट माग बढेपछि यहाँका वन क्षेत्रबाट ठूलो परिमाणमा निगुरो बिक्री हुने गरेको बताउँछन्। ‘स्वादिलो र स्वस्थकर मानिएको तरकारीका रूपमा प्रयोग हुने निगुरोको माग हुन थालेपछि अहिले पथरी, कानेपोखरी, लेटाङ, भाउन्नेलगायतका वनबाट निगुरो टिप्न भ्याइनभ्याइ छ।

जंगलमा बिहानैदेखि साँझसम्म स्थानीयको भीड लाग्ने गरेको छ। हाम्रो सामुदायिक वनबाट मात्रै वार्षिक तीन करोडभन्दा बढीको निगुरो बाहिरिने गरेको छ’, उनले भने, ‘बर्खामा मात्रै दैनिक १० गाडीभन्दा धेरै निगुरो संकलन हुन्छ, प्रत्येक गाडीमा पाँचदेखि ६ हजार मुठा निगुरो निर्यात हुने गरेको छ।’ उनले धेरैजसो निगुरो काडमाडौँ जाने गरेको उनले बताए।

विगत १० वर्षदेखि बेलबारी १० भाउन्नेमा निगुरोको व्यापार गर्दै आएकी स्थानीय भद्रमाया भट्ट्राईले पहिले स्थानीयस्तरमा मात्र बिक्री हुने गरेकोमा पछिल्लो समय काठमाडौंलगायत सहरबाट पनि माग आउन थालेको बताए।

‘निगुरो केही वर्ष पहिले अहिलेजस्तो काठमाडौं निर्यात हुँदैनथ्यो र बजारको खोजीमा इटहरी, दमक, बिर्तामोडसम्म पु¥याउनुपर्ने बाध्यता थियो, तर अहिले भने काठमाडौंको माग धान्नै सकिएको छैन। त्यसैले स्थानीय स्तरमा रहेका अन्य व्यक्तिबाट संकलन गरेर हामीले काठमाडौँका व्यापारीलाई निगुरो बिक्री गर्ने गरेका छौँ’, भट्टराईले भने।

६९ वर्षीया भद्रमायाले यसै व्यवसायबाट दश जनाको परिवारको गर्जो टारिरहेको बताए। भाउन्नेकी गीता दर्जी र मनमाया दर्जीलाई पनि हरेक बर्खामा निगुरो टिप्ने भ्याइनभ्याइ हुन्छ। यसपटक पनि हरेक बिहान ७ बजे नै जंगल पसेर निगुरो टिप्नु उनीहरूको दिनचर्या नै भएको छ।

‘यसपटक पनि दैनिकजसो बिहान ७ बजेदेखि ११ बजेसम्म निगुरो टिप्छौँ, संकलन गरिएको करिब ४० मुठा १५ रुपैयाँका दरले संकलन केन्द्रमा बिक्री गरिरहेकी छु’, गीताले भनिन्। गीता र मनमायाजस्तै यहाँका धेरै स्थानीयले बर्खाभरि निगुरो टिपेर संकलन केन्द्रलाई बिक्री गरिरहेका छन्। केन्द्रले प्रतिमुठा दुई रुपैयाँ नाफा राखेर १७ का दरले अन्य व्यापारीलाई बिक्री गर्दै आएको छ।

कृषि विज्ञ डा. राजेन्द्र उप्रेतीका अनुसार निगुरो एक उन्यू प्रजातिको वनस्पति भएकाले चिस्यान क्षेत्रमा बढी उम्रिने गरेको र निकै स्वस्थकर तरकारी मानिने भएकाले अहिले माग बढ्दै गएको बताए। ‘निगुरोमा प्रोटिन, भिटामिन ‘ए’, क्याल्सियमलगायतका पोषक तत्व पाइन्छ, जसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ।

त्यस्तै यसबाट पाइने भिटामिन ‘सि’ पनि पर्याप्त मात्रामा पाउने भएकाले आँखा र आइरनले रातो रक्तकोषिका वृद्धिमा पनि सहायता पुग्ने गरेको छ। पछिल्लो समय यो महत्व बुझ्न थालिएकाले सहरी क्षेत्रमा निगुरोको माग बढ्दै छ’, डा. उप्रेतीले बताए।

पूर्व–पश्चिम राजमार्गको उर्लाबारीदेखि बेलबारीसम्मका सडक किनारमा जंगलबाट टिपेर ल्याएको निगुरो बिक्रीका लागि राखिएका भेटिन्छन्। यसबाट यहाँका सयौं परिवारको गुजारा चलेको बताउँछन् मोरङका डिभिजन वन अधिकृत विष्णुलाल घिमिरे। उनले निगुरो टिप्न आउनेको संख्यात्मक वृद्धि र माग बढेसँगै अब सामुदायिक वन उपभोक्ता समूहले त्यसललाई व्यवस्थित गर्नुपर्ने आजवश्यकता औँल्याए।

‘जंगली निगुरो टिपेर धेरैको गुजारा चलिरहेको छ, यो स्थानीको आम्दानीको स्रोत बन्नु राम्रो कुरा हो तर निगुरो टिप्दा जडीबुटीलगायत अन्य प्रजातिका बिरुवा नष्ट हुन सक्नेतर्फ सचेत रहँदै व्यवस्थापन र निगरानी बढाउनुपर्ने जरूरी छ’, उनले भने, ‘त्यसका लागि जंगल प्रवेश गर्ने व्यक्तिलाई स्थानीय सामुदायिक तथा साझेदारी वन उपभोक्ता समूहले परिचयपत्रको व्यवस्था गरेर मात्र प्रवेशाज्ञा दिनुपर्ने आवश्यकता छ।’

मोरङमा एक सय ३६ सामुदायिक वन र चारवटा साझेदारी वन रहेका छन्। हाल साझेदारी वनको नवीकरण गर्दा वन कार्ययोजनामा निगुरोसम्बन्धी कार्यक्रम समावेश गर्न थालिएको वन अधिकृत घिमिरेले बताए।

बेलबारी चिसाङ साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष दिनेश गिरीले दैनिक ४० किलोमिटर टाढाबाट समेत दर्जनौंको संख्यामा निगुरो टिप्न साझेदारी वन क्षेत्रमा आउने गरेको बताए।

उनले अब कार्ययोजनामै समावेश गरेर निगुरो टिप्न जानेलाई अनिवार्य परिचयपत्रको व्यवस्था गरिने बताए। उक्त वन क्षेत्रबाट हाल दैनिक दुईदेखि तीन लाखको निगुरो निर्यात हुने गरेको जनाइएको छ। –रासस

प्रकाशित: २१ जेष्ठ २०८१ १२:३६ सोमबार

Morang Community and Partnership Forests of Niguro