अर्थ

जौ भित्र्याउने चटारोले बिहानै खेतबारीमा पुग्छन् किसान

खेतमा जौ काट्दै किसान। तस्बिर : नागरिक

गुठिचौर गाउँपालिका, चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकाका किसानलाई जौ भित्र्याउन भ्याइनभ्याइ छ। जौ काटेर कालीमार्सी धान रोप्नुपर्ने भएकाले किसानहरूलाई जौ भित्र्याउने चटारो परेको हो।

जुम्लाको गुठीचौर गाउँपालिका– ५ देपालगाउँकी गीता सार्कीले खेतबारीमा जौ पाकेपछि दैनिकजसो व्यस्त हुन थालेको बताइन् । बिहानैदेखि खेतबारीमा व्यस्त हुने गरेको उनको भनाइ छ ।

फाँटहरूमा किसानहरूले जौ काट्दै गरेको दृश्य देख्न पाइन्छ। दिउँसोको समयमा विद्यालय जाने बालबालिका पनि बिदाका दिन जौ भित्र्याउन व्यस्त देखिने गुठिचौर गाउँपालिका ५ का कृष्णबहादुर महतले बताए। ‘दिउँसो पढ्न विद्यालय जान्छु, बिहान–बेलुकाको समय र बिदाका दिन घरमा बुबाआमालाई सघाउँछ।’ महतले भने।

जौ भित्र्याएपछि कालिमार्सी धान रोपाइँ सुरू हुने भएकाले किसान धमाधम जौ काट्न हतारोमा छन्। तर धेरै ठाउँमा रोपाइँ जेठ महिनाको दोस्रो हप्ताबाट सुरू हुन्छ। जुम्लाका ८ वटै स्थानीय तहमा जौ खेती गरिन्छ।

अन्य बालीभन्दा जौ खेती केही कम मात्रामा हुन्छ, तर समग्रमा गरिने जौ खेतीमा कमी नआएको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटा बताउँछन्। उनी भन्छन्, ‘जौ निकै महत्वपुर्ण मानिन्छ। जौलाई एकदमै पौष्टिक आहारका रूपमा लिइन्छ।’

सबै गाउँबस्तीमा झन्डै ९५ प्रतिशत किसानले जौ भित्र्याइसकेको चन्दननाथ  नगरपालिका ४ की पञ्चकली सुनाले बताइन्। उनले भनिन्, ‘जौ भित्र्याएपछि किसान धान रोप्न व्यस्त छन्।

यता जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लामा तीन हजार ८ सय ७० हेक्टर जमिनमा जौ उत्पादन हुने गरेको छ । वार्षिक ७ हजार मेट्रिकटन जौ बाली उत्पादन हुने गरेको कार्यालयले जनाएको छ।

किसानका अनुसार अहिले ग्रामीण क्षेत्रमा समेत ३० रूपैयाँ मानाका दरले जौ बिक्री हुने गरेको छ। कार्यालयका अनुसार जिल्लामा उत्पादन हुने जौ ६ देखि ८ महिनासम्म मात्र खाना पुग्ने किसान बताउँछन्।

प्रकाशित: १० जेष्ठ २०८१ १२:५९ बिहीबार

Barley mills farms small farmers