अर्थ

कामीरिता ३०औँ पटक सगरमाथाको शिखरमा

कामीरिता शेर्पाले ३० औँ पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन्। सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार उहाँ आज बिहान ७ बजेर ४९ मिनेटमा चुचुरोमा पुगेका हुन्।

‘कामीरिता शेर्पाले सगरमाथा शिखमा ३० औँ पटक पाइला टेकेर नयाँ कीतिर्मान कायम गर्नुभएको छ’, सगरमाथा आधारशिविरबाट कार्यालय गौतमले भने। वसन्त ऋतुको जारी आरोहणमा उनले यसअघि धेरैपटक सगरमाथाको सफल आरोहण गरेर आफ्नै नाममा रहेको कीर्तिमान तोडेको छन्।

फिल्ड कार्यालय प्रमुख गौतमका अनुसार आजसम्म आरोही र शेर्पा सहयोगी गरी चार सय ६० भन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन्।

सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५४ वर्षीय कामिरिता कुशल पर्वतारोही पथप्रदर्शक छन्। सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगे कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ। 

सगरमाथा आरोहणका ७१ वर्षे इतिहासमा सर्वाधि आरोहण गर्ने एक मात्र कीर्तिमानी आरोही कामीरिता शेर्पा हुन्। अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेकी थिइन्। 

गत वैशाख २८ गतेदेखि यो वर्षको आरोहण सुरु भएको हो। आरोहणका लागि ४१ आरोही समूहका ७५ महिला र तीनसय ३९ पुरुषसहित चार सय १४ जनाले अनुमति लिएका छन्। अनुमति लिएकामध्ये ७५ प्रतिशतले सफल आरोहण गरेका जनाइएको छ। -रासस

प्रकाशित: ९ जेष्ठ २०८१ १०:०४ बुधबार

#Kamirita Sherpa #Everest base camp #Climbing Mount Everest for the 30th time