अर्थ

बजारभरि अखाद्य वस्तुको ‘आतंक’

बजारमा मानव स्वास्थ्यलाई प्रतिकुल हुने खाद्यवस्तु बिक्री हुने गरेको पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारबाट नमूना संकलन गरी प्रयोगशालामा परीक्षण गर्दा यस्तो पाइएको हो।

बजारमा बिक्री भएका विभिन्न खाद्यवस्तुको नमूना परीक्षणमा करिब पाँच प्रतिशत नमूनाहरूको परीक्षण प्रतिवेदन प्रतिकुल पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ।

विभागले खाद्यान्न, तेल, ध्यु, फलफूल, सागपात, दाना, मसला, नुन, चिया, कफी, दुग्धजन्य पदार्थ, प्रशोधित पिउने पानी, कन्फेक्सनरी, दलहनलगायतका खाद्य वस्तुको परीक्षण गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मतिना जोशी वैद्यले बताइन्।

‘४.९ प्रतिशत नमूनाहरूको परीक्षण प्रतिवेदन प्रतिकूल भेटिएको छ’, महानिर्देशक वैद्यले भनिन्, ‘अखाद्य वस्तु उत्पादन तथा बिक्री गर्ने उद्योग विरुद्ध मुद्दा चलाएका छौं।’

विभागले अनुगमन गर्दा गुणस्तरहीन खाद्यवस्तु बिक्री गरेको पाइए कारबाही गर्ने गरेको छ। कतिपय उद्योग विरुद्ध मुद्दा पनि दायर गरेको छ। विभागले ६ महिनाको अवधिमा ८९ वटा मुद्दा दायर गरेको छ। तीमध्ये धेरै मुद्दा पिउने पानीसम्बन्धी रहेका छन्।

अखाद्य वस्तु बिक्री गर्ने विरुद्ध विभागले खाद्य ऐन २०२३ बमोजिम दूषित तथा न्यून गुणस्तरका मुद्दा सम्बन्धित जिल्ला अदालतमा र अन्य मुद्दा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा दायर गर्दै आएको छ।

मतिना जोशी वैद्य, महानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग

उद्योगले बजारमा बिक्री भइरहेका खाद्यवस्तु गुणस्तरीय छन् वा छैनन् भनेर बजारबाट ११ सय ६७ नमुना संकलन गरेर परीक्षण गरेको थियो। त्यसमध्ये नौ सय चार वटा नमुनाको विश्लेषण परीक्षण गरिएको थियो। विभागको विवरणअनुसार खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमन र गुणस्तर नियमन अनुसार नमूना संकलन गरेर परीक्षण गरिएका हो।

परीक्षणमा गुणस्तरहीन पानी बिक्री भएको पाइएको छ। जार तथा मिनरल वाटर उत्पादन गर्ने उद्योगले दूषित, न्यून गुणस्तर, लेबल नभएको पाइएपछि ३८ वटा पानी उद्योगविरुद्ध मुद्दा दायर गरेको विभागले जनाएको छ। धेरै पानी उद्योग उपत्यकामा रहेका छन्। ती पानी उद्योगले बदमासी गरेका हुन्।

पानीको पीएच भ्यालु ६ देखि आठको बीचमा हुनुपर्ने व्यवस्था छ। बजारमा बिक्री भएको पानीमा ब्याक्टेरिया पाइएको हो। पानी मात्र नभएर दूधमा पनि समस्या देखिएको छ। दूध तथा दुग्ध पदार्थका १० वटा मुद्दा विभागले दायर गरेको छ।

विभागले बजारमा बिक्री भएको दूधको नमूना संकलन गरेर परीक्षण गर्दा दूधमा फ्याटको समस्या, दहीमा कोलिफर्म र घिउमा कम गुणस्तर पाइएको हो।

विभागले खाद्यान्न/दलहनजन्य ३१० वटा, तेल तथा घ्युजन्य १२१ वटा, फल तथा सागपातजन्य पदार्थका १०६ वटा, दानाजन्य ४९ वटा, मसलाका ७८ वटा, नुनका १३ वटा, गुलियो पदार्थका ३१ वटा, चिया कफीका ४८ वटा, दुध तथा दुग्धजन्य पदार्थका ३७ वटा, प्रशोधित पिउने पानीका ३४ वटा, कन्फेक्सनरिका २३ वटा, मासुजन्य दुई वटा र अन्य खाद्य पदार्थका ५२ वटा सहित ९०४ वटा नमुनाहरूको विश्लेषण परीक्षण गरेको थियो।

 ती नमुनामा खाद्यान्न/दलहनजन्यका सात वटा, चिया कफीका दुई वटा, दुध तथा दुग्धजन्य पदार्थका दुई वटा, तेल घ्युका १० वटा, फल तथा सागपात जन्य पदार्थका आठ वटा, प्रशोधित पिउने पानीका पाँच वटा, गुलियो पदार्थका दुई वटा, दानाजन्य सात वटा र अन्य दुई वटा गरी ४५ वटा नमूनाहरूको परीक्षण प्रतिवेदन प्रतिकूल पाइएको विभागले जनाएको छ।

विभागले प्रशोधित पिउने पानीका ३८ वटा, दुध तथा दुग्ध पदार्थका १० वटा, तेल घ्यूका ६ वटा, मसलाजन्य पदार्थका चार वटा, मिठाइका चार वटा, खाद्यान्न दलहनका चार वटा, महका तीन वटा, दानाका तीन वटा, चाउचाउका दुई वटा र अन्य खाद्य पदार्थका १५ वटा गरी ८९ वटा उद्योग विरुद्ध मुद्दा दायर गरेको छ।

आम उपभोक्ताको स्वास्थ्य र सुविधा कायम राख्न खाद्य ऐन, २०२३ तथा खाद्य नियमावली, २०२७ को प्रभावकारी कार्यान्वयन गर्दै खाद्य प्रविधिको विकास तथा खाद्यमा आधारित पोषणको सुधारका लागि विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम विभागले सञ्चालन गर्दै आएको छ।

खाद्य पदार्थको विश्लेषण परीक्षणका लागि विश्वसनीय प्रयोगशाला सेवा प्रदान गर्ने र स्वच्छ व्यापार तथा व्यवसायमा सहजीकरण गरिरहेको विभागले जनाएको छ। विभागले खाद्य पदार्थ आयात निर्यात निरीक्षण तथा गुण प्रमाणीकरण प्रणाली सम्बन्धी निर्देशिकाले व्यवस्था गरे अनुरूप आयात गर्नु पूर्व अनिवार्यरूपमा अनुमति लिनुपर्ने व्यवस्थामा पनि कडाइ गरेको छ।

विभाग र मातहतका कार्यालयले बजार, उद्योग, होटल रेष्टुरेन्ट/ मिठाइ पसल, फलफूल बजार, हाटबजार आदिमा अनुगमन गरी म्याद गुज्रिएका, लेबल नभएका तथा ऐननियमबमोजिम नपाइएका करिब ३४ लाख मूल्य बराबरको विभिन्न किसिमका खाद्य तथा पेय पदार्थ जफत गरी नष्ट गरेको छ।

प्रकाशित: २२ माघ २०८० ०९:३२ सोमबार

बजारभरि अखाद्य वस्तुको ‘आतंक’ मानव स्वास्थ्यलाई प्रतिकुल