अर्थ

१६ सय ६३ जना प्रशिक्षार्थी कामदार उत्पादन गर्ने गरी त्रिपक्षीय सम्झौता

कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम (एप्रेन्टिसिप) सञ्चालनका लागि त्रिपक्षीय सम्झौता भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल समेतको उपस्थितिमा आइतबार उक्त मन्त्रालय अन्तर्गतको लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, नेपाल उद्योग परिसंघ र छ वटा उद्योगहरूका बिचमा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, सचिव र नेपाल उद्योग परिसंघका अध्यक्ष लगायतका पदाधिकारी, उद्योगी र कर्मचारीहरूको उपस्थितिमा हस्ताक्षर भएको छ।

सम्झौतामा केन्द्रका तर्फबाट कार्यकारी अधिकृत दीपक घिमिरे, नेपाल उद्योग परिसंघका तर्फबाट महानिर्देशक दीपकराज जोशी र उद्योगहरूका तर्फबाट सम्बन्धित उद्योगी र प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।

उक्त सम्झौतापछि पश्चात् १६ सय ६३ जना प्रशिक्षार्थी कामदार छनौट गरी प्रशिक्षण दिइने छ। त्यसपछि उनीहरूलाई रोजगारी पनि दिइने छ। 

प्रशिक्षार्थी कामदारको अधिकतम तीन महिनाको पारिश्रमिक नेपाल सरकारका तर्फबाट केन्द्रले बेहोर्नेछ भने उद्योगले तत्पश्चात् कम्तीमा १८ महिनाको रोजगारीको सुनिश्चितता गर्नुपर्ने सम्झौतामा उल्लेख छ।

समझदारीमा हस्ताक्षरपछि मन्त्री रिजालले उक्त कार्यक्रमको सञ्चालनबाट उद्योगको उत्पादकत्व वृद्धिमा योगदान पुग्ने जनाएका छन्।

स्वदेशमै रोजगारीका थप अवसरहरू सिर्जना हुने अपेक्षा गरिएको जनाउँदै मन्त्री रिजालले कार्यक्रममा साझेदारी गर्ने सम्बद्ध पक्षलाई धन्यवाद दिए। र, कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न क्रियाशील रहन सरोकार सबै पक्षलाई आग्रह गरे।

प्रकाशित: १४ माघ २०८० १३:०३ आइतबार