अर्थ

डा. मास्केको ‘फ्युज मेसिन’ अमेरिकी स्टक एक्सचेन्ज ‘नास्डाक’ मा सूचीकृत

आर्टिफिसियल इन्टलिजेन्स अर्थात् कृत्रिम बौद्धिकताको क्षेत्रमा काम गर्ने नेपाली मूलका उद्यमी डा. समीर मास्केको कम्पनी फ्युज मेसिन अमेरिकाको स्टक एक्सचेन्ज नास्डाकमा सूचीकृत हुने भएको छ।

सन् २०१३ मा डा. मास्केले सुरु गरेको यो कम्पनी विश्वकै प्रतिष्ठित स्टक एक्सचेन्ज नास्डाकमा सूचीकृत हुने पहिलो नेपाली मूलको कम्पनी हुने भएको हो।

अमेरिकामा मुख्यालय रहेको फ्युज मेसिनले नेपाल, डोमिनिक रिपब्लिकलगायतका देशमा कार्यालय स्थापना गरी आफ्नो काम गर्दै आएको छ। नास्डाकमा सूचीकृत हुने लक्ष्यसहित फ्यूज मेसिन र सीएसएलएम एक्विजिसन कम्पनीबीच मर्जर सम्झौता भएको हो।

सम्झौतापछि फ्युज मेसिनले चालु पुँजी प्रयोजनका लागि सीएसएलएमबाट झण्डै २ करोड अमेरिकी डलर लगानी प्राप्त गर्ने बताइएको छ।

फ्यूज मेसिनका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत मास्केले सो रकमले नयाँ प्रोडक्ट विकास गर्न सहयोग पुग्ने बताए। डा. मास्केले यस विषयमा आफ्नो सामाजिक सञ्जालमा पनि जानकारी दिएका छन्।

फ्यूज मेसिनको कुल मूल्याङ्कन २ सय मिलियन अमेरिकी डलर अर्थात् २५ अर्ब रुपैयाँ हुने गरी नयाँ कम्पनी मर्जरको सम्झौता भएको डा. मास्केले जानकारी दिए।

सन् २०२४ को दोस्रो त्रैमासको अन्त्यसम्ममा नास्डाकमा सूचीकृत हुने गरी मर्जर सम्झौतालाई अगाडि बढाइएको दुवै कम्पनीले जनाएका छन्।

प्रकाशित: १० माघ २०८० ०३:१७ बुधबार

आर्टिफिसियल इन्टलिजेन्स कृत्रिम बौद्धिकता नेपाली डा. समीर मास्के फ्युज मेसिन अमेरिका स्टक एक्सचेन्ज नास्डाक